साथी प्रहरी

३३ किलो सुन काण्डको दोस्रो पार्ट पनि सार्वजनिक भएको छ । सुन ल्याउने काममा जति पनि मानिसको संलग्नता थियो, ती सबैको नाम सार्वजनिक भयो । अब सुन कसले ल्यायो, किन ल्यायो भन्ने प्रश्नै रहेन । सबै खुलस्त भयो ।

सबैभन्दा अनौठो त के भयो भने उक्त काण्डमा संलग्न धेरै मानिसमध्ये केहीचाहिँ प्रहरी पनि रहेछन् । एकजना त उच्च पदका एसएसपी पनि । यति ठूलो सुन काण्ड छ, प्रहरी पनि ठूलै पदको चाहियो नि † होइन भने कसले पत्याउँछ ? 

यस्तो किलोका किलो सुन ल्याउने काममा प्रहरीको समेत सहयोग रहेको देखेर मानिस चकित भएका छन् । अरू मानिसको के कुरा गर्नु । म आफंै पनि चकित छु । सुन ल्याउने काममा हात भएका एक जना प्रहरीलार्ई अस्ति खोरमै भेटेको थिएँ । सोधें, ‘प्रहरी भएर पनि यस्तो सुन तस्करीमा लाग्ने हो ? अलिकति लाज लाग्नुपर्ने हो नि !’

‘किन लाज लाग्नु ?,’ थुनामा रहेका प्रहरीले उल्टै प्रश्न गरे, ‘यो त प्रहरीको नीतिअनुसारै भएको हो । हाम्रो नीति नै यही हो ।’
‘कस्तो नीति ?,’ म छक्क परें, ‘तस्करलार्ई सहयोग गर्ने पनि नीति हुन्छ ?’

प्रहरीले भने, ‘हेर्नोस्, अहिले हामी प्रहरी मेरो साथी भन्ने नीति लिएर काम गरिरहेका छौँ । सडकको ठाउँ–ठाउँमा प्रहरी मेरो साथी भनेर लेखिएको देख्नुभएन तपाईंले ?’

‘त्यो त देखेको छु,’ मैले थपँे । 

‘होऽऽ कुरा त्यही हो,’ उनले भने, ‘प्रहरीले सबैको साथी बनेर काम गर्नुपर्छ । सुन तस्करको पनि साथी बनेरै काम गरिदिएको हुँ । प्रहरीले सबैलार्ई साथी बनाउनुपर्छ आफैं भन्ने, अनि साथी बनाउन जाँदाचाहिँ कारबाही गर्ने ? म यो बुझिरहेको छैन ।’ उनी एकाएक दिक्क देखिए ।

टिप्पणीहरू