​मास्कमण्डप !

काठमाडौं शहर अहिले पूरै धूलोले ढाकिएको छ । जता हे¥यो त्यतै धुलो । मेलम्चीको पाइपले पानी मात्रै ल्याउँछ भनेको त धुलो पनि ल्याउने रहेछ । पानी कहिले निस्किने हो अझै थाहा छैन । तैपनि धूलो निस्किएपछि एक न एक दिन पानी पनि पक्कै निस्कन्छ भन्ने विश्वास छ । 

धुलोले गर्दा काठमाडौंमा मास्क नलगाई हिँड्न मुस्किल छ । बच्चादेखि बूढासम्म जम्मै मास्क लगाएर हिँडिरहेको देखिन्छ । काठमाडौंको पुरानो नाउँ त ‘काष्ठमण्डप’ हो । तर, जताततै मास्क लगाउने मान्छे मात्रै देखिने हुनाले यो ठाउँलार्ई काष्ठमण्डप होइन अब ‘मास्कमण्डप’ भन्नुपर्ने अवस्था छ । काठै काठले बनाएको कारणले मरुसत्तललार्ई ‘काष्ठमण्डप’ भनियो । त्यो काष्ठमण्डप त भूकम्पले गइहाल्यो ।

अब नयाँ बन्ने जो मण्डप छ त्यो काठै काठले होइन मास्कै मास्कले बनाउनुपर्लाजस्तो छ । मास्कै मास्कले बनेको मण्डपलार्ई ‘मास्कमण्डप’ नै भन्नुप¥यो । अनि मास्कमण्डप भएको शहरको नाताले यो शहरको नाम पनि ‘मास्कमण्डप’ नै राख्नुप¥यो । होइन र ?

टिप्पणीहरू