चारतारामा पहिलोचोटि चिराचिरा

नेपाली कांग्रेस यसपटक स्ववियु निर्वाचन र पत्रकार महासंघ जिल्ला शाखा लमजुङको निर्वाचनमा पराजय भोग्न बाध्य भएको छ । पत्रकार अध्यक्षमा परमेश्वर अधिकारीका लागि कांग्रेस जिल्ला कोषाध्यक्ष तथा लमजुङ विद्युत् उपभोक्ता संघका अध्यक्ष श्रीकान्त घिमिरे र भोटेओडारमा फ्युचर स्टार बोर्डिङ स्कुल सञ्चालन गरेका बाबुराम पौडेलले खर्च गरेका थिए । प्रेस चौतारी, प्रेस सेन्टर र नयाँशक्ति समर्थित पत्रकारको संयुक्त प्यानल भनिए पनि चौतारीकै केहीले युनियनका परमेश्वरलाई मतदान गरे, बाबुराम पक्षधर दुई मतदाताको पनि मत विभाजन भयो । युनियनका सन्देश पौडलले सचिव बाजी मारे भने अन्य पदमा चौतारीसमर्थित आस गुरुङको टिमले जित्न सफल भयो ।

जिल्लाका पाँचवटा आंगिक क्याम्पसमध्ये एक  मात्र मस्र्याङ्दी बहुमुखी क्याम्पसमा कांग्रेसले आजसम्म एकलौटी स्ववियुमा कब्जा जमाए पनि यसपटक एमालेसमर्थित अखिलले सभापतिसहित सम्पूर्ण पदाधिकारी आफ्नो पोल्टामा पार्न सफल भएको छ । लमजुङमा पनि कांग्रेस–एमाओवादीकै गठबन्धन थियो । क्याम्पस प्रशासनले पार्टी कार्यकर्तालगायत रेडक्रसका कर्मचारी श्रीकान्त घिमिरे, इञ्जिनियर दीपेन्द्र रावललगायत कैयौंलाई फर्जी भर्ना गरेर स्ववियु हात पार्न खोजे पनि दाल गलेन । अन्नपूर्ण पोस्ट् दैनिकका जिल्ला संवाददाता दीपक अधिकारीले बिबिएस दोस्रो वर्षकी सविता श्रेष्ठको हातबाट मतपत्र खोसेर नेविसंघका सभापति उम्मेदवार सञ्जय गुरुङको टिममा टिक लगाइएपछि रुँदै मतपत्र च्यातेर फालिदिएकी थिइन् भने अखिलले यही विषयलाई लिएर लफडा मच्चाएपछि सविताको मत अखिल प्यानलमा गणना भएको थियो ।

अखिलका देवेन्द्र गुरुङले ५३ मतान्तरमा नेविसंघका सञ्जय गुरुङलाई पराजित गरेका हुन् । घरपरिवार कांग्रेस भए पनि पहिलेदेखि अखिलमा आबद्ध मीरा थापा आफन्तको चर्काे दबाबलाई बेवास्ता गर्दै अखिल प्यानलबाट सचिवमा निर्वाचित भइन् भने कोषाध्यक्षमा कुमार अर्याललगायत नवीन विक, पूर्ण विक, बबिता घले, यमन गुरुङ, जीवन घले पदाधिकारी निर्वाचित भएका छन् । सिंगो पार्टी लाग्दा पनि निर्वाचन जित्न नसकेको भन्दै एक कांग्रेसी कार्यकर्ताले क्षेत्र नं. २ का सभापति बिर्खबहादुर गुरुङलाई मुक्का प्रहार गरेका थिए ।

शनिबार सम्पन्न नेपाली कांग्रेस समर्थित शिक्षकको जिल्ला अधिवेशनले रामचन्द्र पौडेल पक्षधर शिक्षक शिव अधिकारीले देउवा पक्षधर रही अख्तियारमा भ्रष्टाचारको समेत मुद्दा खेप्दै गरेका विष्णु बास्तोलालाई ९१ मतन्तारले पराजित गरेका छन् । यता, शनिबार नै सम्पन्न अनेमसंघको पाँचांै जिल्ला अधिवेशनले यशोदा रिमालको अध्यक्षमा ६ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षमा विष्णुमाया राना र सर्वदा पौडेल दवाडी, सचिवमा अमृता पोखरेल, कोषाध्यक्षमा आशा तामाङ र कार्यालय सचिवमा शान्ता सापकोटा छन् भने बाँकी सदस्य पछि मनोनयन गर्ने अखिल नेपाल महिला संघकी निर्वतमान अध्यक्ष लक्ष्मी अधिकारीले बताइन् । 
अञ्जनकुमार 

टिप्पणीहरू