हज्जारौं,लाखौं आमाहरुका हण्डर « Jana Aastha News Online
Logo
१२ माघ २०७८, बुधबार
|  Wed Jan 26 2022
Logo
१२ माघ २०७८, बुधबार
|  Wed Jan 26 2022

हज्जारौं,लाखौं आमाहरुका हण्डर

प्रकाशित मिति :  २२ श्रावण २०७८, शुक्रबार १३:००


धादिङबेसीस्थित पुछारबजारको भीडभाडमा सडक पेटीमै बसेर बच्चालाई स्तनपान गराउँदै नीलकण्ठ–९,की महिला । तस्बिर : शंकर श्रेष्ठ

–शंकर श्रेष्ठ

हिजो बिहीबार बिहान करिब ११ बजे । एकजना महिला बच्चा च्यापेर छट्पटाइरहेकी थिइन् । भोकले नै हुनुपर्छ बच्चा रोयो,उनी असिनपसिन भइन् । अलि पर महिला फलफूल पसलेको छेउमै पुगिन् । नजिकै सडक पेटीमै बसेर पछ्यौराले छोप्दै बच्चालाई स्तनपान गराइन् । यो उनको रहर थिएन,बाध्यता हो ।

किनकि धादिङबेसीस्थित पुछारबजारको भीडभाडमा नीलकण्ठ–९,पाल्पाकी ती महिलाले बच्चालाई दूध खुवाउने सुरक्षित स्थान नै पाइनन् । धादिङमा कहिँ कतै पनि सार्वजनिक स्थलमा स्तनपान गराउने छुट्टै ठाउँ छैन । कार्यालयहरुमा स्तनपान कक्ष नहुँदा कामकाजी महिला झनै समस्यामा देखिन्छन् ।

‘अहिले त झनै कोरोना सङ्क्रमणको डर छ, त्यसैले घरमै छोडेर आउँछु, घरमा बसेकाहरुले जाउलो, भैंसीको दूध खुवाएर राख्नुहुन्छ,’

कतिपय आमा स्तनपान गराउने ठाउँ नभेट्टाउँदा समस्यामा पर्ने गरेको नीलकण्ठ–८,की हेममाया तामाङसँग नरमाइलो अनुभव छ । ‘सार्वजनिक स्थलमा शिशु भोकाएमा आमाहरुलाई छटपटी हुन्छ’ उनी भन्छिन्,‘आमाहरु कहिले होटलतिर छिरेर स्तनपान गराउँछन्,त कसैले सलले वा कपडाले छोपेर स्तनपान गराउँछन् ।’

स्तनपानको समस्या न्यूनीकरण गर्न सरकारले स्तनपान कक्ष निर्माण गर्ने अभियान नै सञ्चालन गर्दै आएको छ । तर,धादिङका कुनै पनि सेवाप्रदायक कार्यालयमा स्तनपान गराउने छुट्टै कक्ष स्थापना छैन । धेरै मानिस आवतजावत गर्ने स्थानमा स्तनपान गराउने ठाउँ छैन नै अस्पतालमा समेत स्तनपान गराउने व्यवस्थित कक्ष छैन । २ वर्षअघि धादिङ अस्पतालले स्थापना गरेको स्तनपान कक्ष पनि अहिले स्टोर रुम जस्तो बनेको छ ।

अन्य कार्यालयको अनुगमन गर्नुपर्ने स्वास्थ्य कार्यालयले समेत अहिलेसम्म स्तनपान गराउने कक्ष स्थापना गरेको छैन । कार्यालयमा स्तनपान गराउने कर्मचारी नभएकाले स्थापना नगरिएको कार्यालयका कर्मचारीहरु तर्क गर्छन् । स्वास्थ्य कार्यालयकै तथ्याङ्कमा पनि जिल्लाभित्रका सेवाप्रदायक सरकारी होस् या निजी कुनै पनि कार्यालयमा यस्ता कक्ष स्थापना गरिएका छैनन् ।

परिवार कल्याण महाशाखाको सन् २०१६ को तथ्याङ्कअनुसार नेपालमा ५५ प्रतिशत शिशुलाई जन्मेको एक घण्टाभित्रै स्तनपान गराइन्छ । सन २०१९ को सर्वेक्षणअनुसार नेपालमा ४२ प्रतिशत शिशुलाई मात्रै उक्त अवसर प्राप्त छ । धादिङको तथ्याङ्क हेर्ने हो भने झन् कहालीलाग्दो नै छ । स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार धादिङमा बच्चा जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको संख्या मुश्किलले ५ प्रतिशत मात्रै देखिन्छ ।

कामकाजी आमालाई झनै समस्या

धादिङबेसीस्थित बैंकमा कार्यरत सम्झना बस्नेतको ६ महिनाकी छोरी छन् । सुत्केरी बिदा सकेर नियमित कार्यालय जान्छिन् । कार्यालय जान थालेदेखि बच्चालाई नियमित स्तनपान गराउन पाएकी छैनन् ।

‘तीन महिना घरमै बस्न पाएकाले नियमित स्तनपान गराउँथेँ,अब जागिरमा खट्नुपर्यो,आजभोलि नियमित दूध खुवाउन पाउँदिन,’ उनले भनिन् । कार्यालयमै बच्चा लैजाने वातावरण समेत छैन । स्तनपान कक्ष पनि छैन । ‘अहिले त झनै कोरोना सङ्क्रमणको डर छ, त्यसैले घरमै छोडेर आउँछु, घरमा बसेकाहरुले जाउलो, भैंसीको दूध खुवाएर राख्नुहुन्छ,’ उनले आफ्नो कुरा खुलस्त सुनाइन् ।

स्तनपान कक्ष नहुँदा कर्मचारी तथा सेवाग्राही सबैलाई असहज महसुस हुने गरेको छ । कार्यालय नजिक घर भएकाहरु हस्याङफस्याङ गर्दै एकछिन घरमै पुगेर बच्चालाई स्तनपान गराउँछन् । टाढा घर भएकाले दिनभरि नै बच्चालाई दूध खुवाउन पाँउदैनन् । ‘कार्यालयहरुमा स्तनपान कक्ष तथा शिशु स्याहार कक्ष नहुँदा शिशुहरूले आमाको दूधबाट वञ्चित हुनुपरेको छ,’ ज्वालामुखी–५, की कर्मचारी फूलमाया आले अनुभव सुनाउँछिन् ।

स्तनपानको महत्व बुझाउन साउन १७ गतेदेखि जिल्लाभित्र विभिन्न कार्यक्रम पनि भइरहेका छन् । शिशुलाई सुरक्षित तरिकाले स्तनपान गराउन आमालाई प्रेरित गर्न स्थानीय सरकारले पनि जनचेतनामूलक कार्यक्रम गरेका छन् । तर,यस्ता गतिविधि बजेट र कार्यक्रममा मात्रै सिमित बनेको छ ।

केही स्थानीय तहले स्तनपान कक्ष र परामर्शकक्षको लागि यो वर्ष नीति तथा कार्यक्रममा समेटेका छन् । थाक्रे गाउँपालिका उपाध्यक्ष अम्बिका रुपाखेती भन्छिन्, ‘तत्काल गरिहाल्नुपर्ने अरु धेरै कामले गर्दा यो काम पछि परेको छ, यो वर्षको नीति तथा कार्यक्रममा नै समेटेर लगेका छौं ।’

स्तनपानको महत्व के ?

सुत्केरी हुनेबित्तिकै आउने आमाको पहेँलो बिगौती दूध निकै पोषिलो र स्वस्थकर मानिन्छ । स्तनपान आमा र बच्चा दुवैका लागि अतिआवश्यक हुन्छ । स्तनपानले बच्चा र आमा दुवैको स्वास्थ्यमा सुधार गर्छ । चिकित्सकका अनुसार बच्चालाई नियमित स्तनपान गराउँदा बच्चा स्वस्थ हुनाका साथै विभिन्न रोगबाट लड्ने क्षमता प्राप्त हुन्छ ।

आमाको पहिलो दूधले बच्चालाई रोगसँग लड्न प्रतिरोधात्मक क्षमता प्रदान गर्ने र बच्चा जन्मिनेबित्तिकै दूध खुवाउन शुरु गरेमा यसले पछिसम्म स्तनबाट धेरै दूध निकाल्न मद्दत गर्ने भएकाले पनि स्तनपान आमा र बच्चा दुबैको लागि महत्वपूर्ण रहेको स्वास्थ्य कार्यालय धादिङका प्रजनन स्वास्थ्य कार्यक्रमका फोकल पर्सन अम्बिका पाण्डे बताउँछिन् । ‘पहिलो ६ महिनासम्म बच्चालाई आमाको दूधबाहेक पानी र अरु खानेकुरा आवश्यक पर्दैन’ पाण्डेले भनिन्,‘अरु कुनै झोल कुराहरु खुवाउनाले बच्चाले दूध चुस्न कम गर्छ र स्तनबाट पनि दूध कम निस्कन्छ,६ महिनाभित्रका बच्चालाई अन्य खनेकुरा खुवाउँदा झाडा पखाला लाग्ने र बिरामी हुने सम्भावना हुन्छ ।’

स्तनपान कक्ष स्थापना ऐनमै सिमित

स्तनपानलाई बच्चा र आमा दुबैको अधिकार मानेर ऐन,नीति र रणनीतिहरू पनि बनेका छन् । जसमध्ये आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ तथा नियमावली, २०५१ बनेको छ ।

सार्वजनिक सेवा प्रदायक कार्यालयमा स्तनपान कक्षको व्यवस्था गर्नुपर्ने ऐनमा उल्लेख छ । जिल्लाभित्रका एक दुई वटा स्वास्थ्य सस्थाले जसोतसो व्यवस्थापन गरेका बाहेक स्थानीय तहकै कार्यालयले पनि स्तनपान तथा शिशु स्याहार कक्षको व्यवस्थापनतर्फ ध्यान दिएका छैनन् । स्तनपान नवजात शिशुको अधिकार र आमाको कर्तव्य भए पनि व्यवस्थित कक्ष निर्माण नहुँदा महिलाहरूले खुल्लास्थानमा असहज रूपमा स्तनपान गराउनु पर्ने बाध्यता उत्पन्न भएको

तस्बिर : शंकर श्रेष्ठ


प्रतिक्रिया दिनुहोस !