​आगो नबालौं– आफ्ना कुरा राखौं

आखिर जे नहुनुपथ्र्यो त्यही भयो । त्यसमा दोष कसको छ र अनाहकमा तीनजनाले किन ज्यान गुमाउनुप¥यो भन्ने कुराको लेखाजोखा भविष्यमा होला नै । तर, किन यस्ता घटनाक्रमको पुनरावृत्ति हुन्छ र नेपालको शान्ति, स्थिरता र समृद्धिको बाटोमा सधैं तगारो लागिरहन्छ भन्ने कुराचाहिँ बुझ्नु जरुरी छ ।

एमाले अहिले राष्ट्रवादी छवि बनाइरहेको छ तर त्यसको मतलब यो पक्कै पनि होइन कि अरुलाई राष्ट्रघाती प्रमाणित गर्दैछ । यस्तोमा कुनै एउटा दलले गर्न लागेको शान्तिपूर्ण सभालाई बिथोल्न जुन हथकण्डा अपनाइयो, त्यो भने निकै संवेदनशील विषय हो । मधेसी मोर्चाले काठमाडौंमा आयोजना गर्ने कुनै सभा बिथोल्न वा धर्ना कार्यक्रममा ब्यानर च्यात्न एमालेले कार्यकर्ता पठाएन । किन यसो भएन भने काठमाडौंको सडक र सभास्थल एमालेको बिर्ता होइन न त मधेसमा रहेको राजविराज नामक शहर नै मधेसी मोर्चाको पेवा हो । मधेसमा सबैले आफ्ना विचार राख्न पाउनुपर्छ अनि मधेसले पनि पहाडमा आफ्ना कुरा राख्न पाउनुपर्छ अनि मधेसले पनि पहाडमा आफ्ना कुरा सुनाउनुपर्छ । राजधानीले सबैलाई उचित स्थान दिनुपर्छ । तब पो हुन्छ लोकतन्त्रको सही अभ्यास ! तर त्यस्तो देखिएन । विडम्बना मधेसले फेरि आफ्ना चार सपुत गुमायो अनि कुनै कसुरबेगर एमालेको टाउकोमा त्यसको दोष थोपर्ने प्रयास भइरहेको छ ।

घटनालाई तोडमोड नगरी व्याख्या गर्ने हो भने सोमबार साँझ प्रहरीको गोली लागेर मान्छे मर्नुपर्ने स्थिति नै देखिँदैन । त्यसो भए किन चल्यो त गोली ? जबकि समाचारमा आएको कुरालाई विश्वास गर्ने हो भने प्रधानमन्त्रीले गोली चलाउने कुरालाई पूर्णरूपमा प्रतिबन्ध नै लगाएका थिए । कि त्यसो भए पुलिसले आफ्नै तजबिजमा फायरिङ खोलेको हो ? त्यस्तो हो भने यसको सम्पूर्ण जिम्मा प्रहरी प्रशासनले लिनुपर्छ । होइन, राजनीतिक नेतृत्व वा भनौं गृह मन्त्रालयले गोली ठोक्ने आदेश दिएको हो भने गृहमन्त्रीले यसको जिम्मा लिनुपर्छ र तत्काल राजीनामा दिँदा राम्रो हुन्छ । चुनावको पूर्वसन्ध्या हो यो । यस्तो बेला हिंसा भड्काउने वातावरण स्वयं राज्यपक्षले गर्नै हुँदैन । तर, गरियो किन ? सटिक निष्कर्ष के निकाल्न सकिन्छ भने सरकार वैशाख ३१ गते स्थानीय तहको चुनाव गराउने सोचमा छैन र जसरी हुन्छ त्यसलाई प्रतिकूल हुनेखालको वातावरण निर्माण गर्न उद्यत छ । 

त्यसो त एमालेले आफ्नो योजनामा थोरै परिवर्तन गरेर राजमार्गलाई मात्र केन्द्रित गर्दै अभियान अघि बढाएको भए राम्रो हुन्थ्यो भन्नेहरु पनि छन् । सरसर्ती हेर्दा त्यो कुरा सही पनि हो । तर तर्क नै खोज्ने हो भने के एमालेले आफ्ना विचार गाउँगाउँसम्म पु¥याउन नपाउने ? यसबीच आफूलाई लागेका आरोपहरुको स्पष्टीकरण दिन जनताको घरदैलोसम्म जानै नहुने ? यसरी पक्ष र विपक्षमा उभिएर वादविवाद शुरु गर्ने हो भने त्यो अन्त्यहीन हुन्छ । यो बेला समयले सबैसँग धैर्यताको माग गरेको छ । सहनशीलता, विवेकपूर्ण राजनीतिक अभ्यास र जिम्मेवार भूमिकाको खाँचो नेपाललाई छ । त्यसैले कसैले पनि ‘अति’ को बाटो रोज्नु कुनै हालतमा सही सावित हुन सक्दैन भन्ने कुरालाई स्वीकार गर्नुपर्छ । अब भविष्यमा यसरी मुठभेडको अवस्था सिर्जना हुने खालका गतिविधि कुनै पनि राजनीतिक दलले गर्नु हुँदैन । सोमबारको घटनामा को दोषी छ, त्यसको पहिचान गरी राज्यले अविलम्ब कारबाही अघि बढाउनुपर्छ । नत्र यस्तै कुनै एक घटनाले मुलुकलाई दशकौंसम्म अन्त्यहीन युद्धतर्फ धकेल्न सक्छ । साम्प्रदायिकता भड्किन सक्छ ।

टिप्पणीहरू