‘अनुमति विना अरुका सामग्री चोरेर छाप्नु गैरकानुनी’ : प्रेस काउन्सिल

‘अनुमति विना अरुका सामग्री चोरेर छाप्नु गैरकानुनी’ : प्रेस काउन्सिल

प्रेस काउन्सिल नेपालले अन्य सञ्चारमाध्यममा प्रकाशित तथा प्रशारित सामग्री विना अनुमति साभार गरी सम्प्रेषण गर्ने कार्य पत्रकार आचारसंहिता,२०७३ को दफा ८ विपरित भएको बताएको छ । काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको बैठकले त्यसो नगर्न सबै सञ्चारमाध्यमलाई सचेत गराएको छ ।

उपसमितिको आजैको बैठकले कुनै सञ्चारमाध्यममा प्रकाशित वा प्रसारित सामाग्री साभार गरी सम्प्रेषण गर्दा अनिवार्यरुपमा मूल स्रोतको अनुमति लिएर मात्र सम्प्रेषण गर्न गराउन आह्वान गर्ने निर्णय गरेको हो । उसले भनेको छ, ‘काउन्सिल कुनै सञ्चारमाध्यममा प्रकाशित वा प्रसारित सामग्री साभार गरी आफ्नो सञ्चारमाध्यममा सम्प्रेषण गर्दा अनिवार्य रुपमा मूल स्रोतको अनुमति लिएरमात्र सम्प्रेषण गर्न गराउन सबैलाई सजग गराउँछ ।’

काउन्सिलले आचारसंहिताको दफा ६ बमोजिम कुनै पनि सञ्चारमाध्यमले आधारहीन, तथ्यहीन र भ्रामक समाचार प्रकाशित वा प्रशारण गरेमा पनि चित्त नबुझाउनेहरुले ३५ दिनभित्र काउन्सिलमा उजुरी दिनसक्ने व्यवस्थाको स्मरण गराएको छ । तर,पछिल्लो दिनमा सम्बन्धित व्यक्तिले उजुरी नदिई आफू मातहतका निकाय वा अन्य व्यक्तिमार्फत् उजुरी दर्ता गराउने प्रचलन बढेकाले त्यस्ता समाचारको सम्बन्धमा व्यक्ति वा संस्था स्वयमले आफ्नो सचिवालयमार्फत् काउन्सिलमा लिखित वा अनलाइनबाट उजुरी दिन आह्वान गरेको छ ।

टिप्पणीहरू