अर्को विकल्प नै के छ र ?

  • कौशल चेम्जोङ

सिके राउतहरुले खुल्ला रुपमा देश विखण्डनको वकालत गर्दा निषेधको राजनीति नगर्ने मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरुले नेकपा एमालेको मेची महाकाली जागरण अभियानमा किन अवरोध खडा गरे ? उत्तर खोज्ने हो भने राजविराज घटनाका रहस्यहरु छताछुल्ल हुन पुग्छन ।

एमालेको मेची महाकाली जागरण अभियानले मधेसी जनतामा छरिएका भ्रमहरु चिरिने डरले कथित मधेसी नेताहरु डराए, पोल खुल्ने शंकाले छटपटाए । धेरै कोशिसको वावजुद पनि जव एमालेको जागरण सभा गजेन्द्र नारायण औद्योगिक क्षेत्रमा सफलतापूर्वक सम्पन्न भयो । तव मधेसलाई बिर्ता ठान्ने कथित मधेसी नेताहरुलाई भतभति पोल्यो अनि सुरु गरे वितण्डा मच्चाउन, सुरक्षाकर्मीसँग भिडन्त गर्न । बाटाघाटामा बम राख्दा, यातायात ठप्प पार्दा पनि एमालेको जनसभामा मधेसी जनताको उल्लेखनीय उपस्थितिले मधेसका निम्ति राजनीति कम जमिन्दारी प्रथा बढी कायम राख्ने नव जमिन्दारहरुको मनमा घर ग¥यो, यस्तै पारा हो भने एमालेले अब मधेसी जनताको मन जित्ने छ । त्यसैले पटक पटक सत्ता आरोहण गरेका कथित मधेसका नेताहरुले कार्यकर्ता उकासेर रगतको होली खेले । परिणाम सामु छ, चार जनाले मृत्युवरण गरे । जुन दुःखद छ । 

के श्यामानन्दले रमाकान्तले बोल्न पाउनु हुँदैन् उ बक्क लाटो हुनु पर्छ भनेर आन्दोलन गर्दैमा रमाकान्तले आफ्नो विचार अभिव्यक्त गर्ने स्वतन्त्रताको उपभोग गर्न बाट कसैले रोक्न सक्छ र ? मलाई फलानो मन पर्यो उसले मसँग विवाह गरिन भने म उसैको अगाडी आत्मदाह गर्छु भनेर कसैले भन्दैमा उसैसँग विहे गर्नु पर्छ भनेर मत राख्नेहरुले कसरी न्याय गर्न सक्छन ? मधेसी जनतालाई एमाले मन परेको नपरेको कुरा त निर्वाचनमा धोबी पछाड गरेर देखाए भई हाल्यो नि । अहिले नैं मेरो गाउँका एक जना मापाका बुढाले जस्तो अत्तो थाप्नु पर्छ र ? उनी बाटोमा रक्सी खाएर लमतन्न सुत्थे अनि बटुवाले पन्छाउन खोजे, बाटो काटेर जान खोजे, नाघेर जान खोजे पनि निहुँ खोजेर भकुर्न तम्सिहाल्थे । पन्छाएर वा बाटो तर्केर हिड्दा पनि यत्रो बाटो छाडेर अर्कोको बाली विमाख पार्दै हिडने भन्थे, नाघेर जाँदा पनि मलाई नाघ्ने त को भनेर जाइलागि हाल्थे । यसो गर्दा पनि नहुने उसो गर्दा पनि नहुने ती गाम्बुढा र मधेसी मोर्चाका नेताहरु एउटै जस्ता देखिन्छन् ।

हो, अहिले तिनै मापाको बुढा जस्तो भएर मधेसी मोर्चा अगाडी आएको छ, मधेसी मोर्चाका नेताले चाहेका सबै कुरा भए ठीक नभए बेठीक । अनेकौं अत्तो थाप्ने तर मधेसी जनताको मन जित्न नसक्ने र प्रयत्न पनि नगर्ने अनि दोष एमालेमाथि थोपर्ने ? यस्तो बेला एमाले उत्तेजित बन्नु हुँदैन बरु शालिनतापूर्वक बाटोमा तेर्सिएर सुतेको मधेसी मोर्चालाई नाघेर जानु पर्छ । जीउमा हात लगाएर पन्छाउनु हुँदैन्, बाटो काटेर पनि जानु हुँदैन् । किन नाघेर गइस भनेर सोधे अघि नाघेर गल्ती गरेछु । त्यो गल्ती सच्याउन पाउँ, अघि गरेको गल्ती फिर्ता पाउँ भन्दै अघि बढेको अवस्थाबाट पुनः फर्केर फेरी नाघ्नु पर्छ । यो भन्दा एमालेसँग अरु विकल्प पनि छैन ।  किनकी सुतेकोलाई जगाउन सकिन्छ तर सुतेको जस्तो गर्नेलाई जगाउन सकिन्न ।

त्यसैले एमालेले मधेसी जनताको मन जित्ने काम गरिरहनु पर्छ र यो प्रयत्नलाई निरन्तर रुपमा जारी राख्नु पर्छ । किनकी एमालेविरुद्धको गठबन्धनमा सबैखाले देशीविदेशीहरु जो अस्थिरता चाहान्छन, मुलुकलाई द्धन्द्धमा घचेट्न चाहान्छन, संघीय गणतान्त्रिक संविधानको विपक्षमा छन् अनि विकास विरोधीहरु छन्, एकजुट भएर लागेको छन् । त्यसैले कार्यक्रमको घोषणा भएकै दिनदेखि नानाभाँती खोकी रहेका छन र राजविराज काण्ड घटाउन प्रत्यक्ष भूमिका खेलिरहेका छन् । हुन त गृहमन्त्री विमलेन्द्र निधि, महन्थ ठाकुर जस्ता नेताहरु संकेत गरेकै हुन उनीहरु मधेसलाई बिर्ता ठान्छन् कसैले आफ्नो बिर्तामाथि धावा बोल्यो भने जमिन्दारहरुलाई पीर पर्ने नैं भो । तर एमाले जमिन्दारहरुबाट मधेसी जनतालाई उन्मुक्ति दिलाउन चाहान्छन भन्ने कुराको आभाष पूर्व ओली सरकारको कामहरुले प्रस्टाएका छन् । निधिहरुले मधेसलाई के ठान्छन भन्ने कुरा भन्दा पनि एमालेले मधेसी जनताको मुक्तिको लागि के गर्छ भन्ने कुराले बढी महत्व राख्छ । त्यसैले एमालेले आफ्नो अभियानलाई जारी राख्नु पर्छ । कन्याइले मजा आए पनि लुतो हराउँदैन त्यो झन झन फैलिन्छ । त्यसैले मधेसी जनताको लुतो फाल्ने अभियानको रुपमा रहेको मेची महाकाली जागरण अभियानलाई उचाँइमा पु¥याउनु पर्छ ।

टिप्पणीहरू