कांग्रेसमा क्रियाशील विवाद चर्किएको चर्कियै

कांग्रेसमा क्रियाशील विवाद चर्किएको चर्कियै

महाधिवेशनको मुखैमा पुगिसक्दा पनि नेपाली काँग्रेसमा क्रियाशील सदस्यता विवाद अझै साम्य भएको छैन । सदस्यता छानबिनमा धाँधली भएको भन्दै केन्द्रीय कार्यालय सानेपामा लामो समयदेखिको विरोध कार्यक्रम जारी छ ।

सदस्यता छानबिनको विषयलाई लिएर सानेपामा रौतहटको प्रतिनिधि सभा क्षेत्र नं १ -का कार्यकर्ता लामो समयदेखि रिले अनशनमा छन् । पार्टीको विधान,नियमावली र केन्द्रीय परिपत्र विपरित नयाँ सदस्यता वितरण,नवीकरण तथा लोकतान्त्रिक फोरमबाट समायोजनमा आएकाको संख्याभन्दा बढी सदस्यता वितरण गरेको भन्दै शुरु भएको रिले अनसन आज १४ औं दिन पनि जारी छ ।

अनशनमा काँग्रेस रौतहट क्षेत्र नं १ का महासमिति सदस्य श्यामचन्द्र झा,रामप्रसाद यादव,वीरेन्द्रराम यादव,नमोनाथप्रसाद यादव, योगेन्द्र झा लगायतको उपस्थिति रहेको छ । क्रियाशील सदस्यता छानविनमा अनियमितता भएको भन्दै यसअघि प्रदेश २ का बारा,धनुषा, सिराहा र सुदूरपश्चिम प्रदेशको कैलालीका नेता-कार्यकर्ता पनि सानेपामा धर्ना र अनसन बसेका थिए ।

कांग्रेसले अनसन तोडाउन नुवाकोटका महतबन्धु डा. रामशरण महत र डा. प्रकाशशरण महतलाई जिम्मा दिएको थियो ।

टिप्पणीहरू