देउवालाई पत्र दिन सानेपामा युवाहरुको लर्को

 देउवालाई पत्र दिन सानेपामा युवाहरुको लर्को

सत्तारुढ नेपाली काँग्रेसको भातृ संगठन नेविसंघले निर्धारित मितिमा महाधिवेशन गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएको छ । महाधिवेशनको सुनिश्चितता खोज्दै नेविसंघले आज केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत केन्द्रीय कार्यसमितिको ध्यानाकर्षण गराएको हो ।

संघका पूर्वसभापति रन्जित कर्णको नेतृत्वमा गएको विद्यार्थी टोलीले बिभिन्न जिल्लाका महासमिति सदस्य तथा भातृ संगठनका सदस्यहरुको उपस्थितिमा पत्र बुझाएको हो । महाधिवेशन अनिश्चित बन्दा पार्टीको गरिमामा क्षति पुगेको भन्दै विद्यार्थी नेताहरुले सबल काङ्ग्रेस निर्माणका लागि ‘युवा अभियान’ शुरु गर्ने निर्णय स्मरण पनि गराएका छन् ।

महाधिवेशनको समयसीमा अन्तिम क्षणमा पुगिसक्दा पनि क्रियाशील सदस्यता विवाद टुंगो नलागेको भन्दै युवा अभियानले नेतृत्वको महाधिवेशनप्रतिको प्रतिवद्धता र नियतमाथि प्रश्न उठाएको हो ।

“विभिन्न राजनीतिक दलबाट कांग्रेसमा प्रवेश गरेका कार्यकर्ताको नाममा पहिलेदेखि नै कांग्रेसमा रहेकाहरुलाई कागजी रुपमा नवप्रवेशी बनाई सदस्यता वितरण गरिएका प्रमाणहरु भेटिएको दाबी छ । “

‘महाधिवेशनको समयसीमाको अन्तिम क्षण पुगिसक्दा पनि क्रियाशील सदस्यताको छानबिन गरी अन्तिम रूप दिन नसक्नुले नेतृत्वको महाधिवेशनप्रतिको प्रतिबद्धता र नियतमाथि समेत प्रश्न उठ्न थालेको छ’ पत्रमा भनिएको छ ।

विधान र नियमावलीअनुरूप न्यायपूर्ण ढंगले कृयाशील सदस्यताको विवाद समाधान गरी धर्ना र अनसनलगायतका गुनासाहरुको सम्बोधन गर्न पनि ध्यानाकर्षण पत्रमा माग गरिएको छ । त्यसैगरी, तत्काल महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न पनि पत्रमार्फत अनुरोध गरिएको छ ।

युवा अभियानले क्रियाशील सदस्यता समायोजनका नाममा देशभर किर्ते गरिएको भन्दै चर्को असन्तुष्टि पोखेको छ । विभिन्न राजनीतिक दलबाट कांग्रेसमा प्रवेश गरेका कार्यकर्ताको नाममा पहिलेदेखि नै कांग्रेसमा रहेकाहरुलाई कागजी रुपमा नवप्रवेशी बनाई सदस्यता वितरण गरिएका प्रमाणहरु भेटिएको दाबी गरेको छ । त्यस्ता सदस्यताको छानबिन गरी वडा तहबाट नै सिफारिसको आधारमा क्रियाशील सदस्यता वितरण गर्ने व्यवस्था कार्यान्वययन गर्न पनि माग गरिएको छ ।

प्रधानमन्त्री देउवालाई सम्बोधन गर्दै लेखिएको पत्रमा माग पूरा नभएको अवस्थामा पार्टीको केन्द्रीय कार्यालय र ७७ वटै जिल्ला कार्यालयहरुमा धर्ना,अनसन र आमरण अनसन लगायतका थप कार्यक्रमहरु गर्न बाध्य हुने युवा अभियानले चेतावनी दिएको छ ।

टिप्पणीहरू