केपी ओलीले किन भन्नुभयो- ‘च्याप्टर क्लोज्ड’ ?

केपी ओलीले किन भन्नुभयो- ‘च्याप्टर क्लोज्ड’ ?

एमालेभित्रको अन्तरविरोध मिलाउन अग्रसर दोस्रो पुस्ताका नेताहरुसमक्ष अध्यक्ष केपी शर्मा ओलीले ‘च्याप्टर क्लोज्ड’ भन्नुभएको छ । पछिल्लो समय विवाद समाधानको निम्ति निकालिएको भनिएको दुई जना अध्यक्षको प्रस्तावको सन्दर्भमा उहाँले ‘यसो वा त्यसो केही होइन, अब च्याप्टर क्लोज्ड’ भनेपछि दुई जना अध्यक्षको प्रस्ताव अघि सारेका बालकोट निकटस्थ र वरिष्ठ नेता माधव नेपाल निकटस्थ वार्ता टोलीका नेताहरु अप्ठेरोमा पर्नुभएको हो ।

पार्टीभित्रको विवाद लामो समयदेखि कचल्टिँदै आएपछि गत जेठ महिनाको शुरुतिर बूढानीलकण्ठ जाने बाटोको हात्तिगौंडा नजिकै क्याप्टेन रामेश्वर थापाको घरमा भएको अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको भेट वार्तामा उक्त दुई जना अध्यक्षको प्रस्ताव पहिलो पटक अघि सारिएको बताइन्छ । त्यसअघि दुई वटा अध्यक्षको विषय वार्ता टोलीमा कहिल्यै पनि उठेको थिएन ।

त्यसरी एकाएक जेठमा त्यस्तो प्रस्ताव गैरराजनीतिक वृत्तबाट आउनुमा तत्कालीन बालुवाटारले जेठ ६ गतेको राष्ट्रियसभाको बागमती प्रदेशस्तरीय उपनिर्वाचनलाई मध्यनजर गरेको स्पष्ट भएको थियो । त्यसो गर्दा ओली प्रधानमन्त्रीमा निरन्तर रहने र नेता नेपालले समर्थन गर्नेबित्तिक्कै बालुवाटारको रामबहादुर थापा बादलले राष्ट्रिय सभामा जित्ने पक्का अवस्था थियो । आफ्नो मान्छेले सांसद जित्ने र प्रधानमन्त्रीको कुर्सी पनि जोगिने भएपछि प्रधानमन्त्रीको अन्तरमनको कुरो बुझेर ‘राजनीतिक खेलाडीहरू’ ले त्यस्तो प्रस्ताव गरेको बालकोट निकट कार्यदलका एक जना सदस्यले बताएका छन् ।

उनले भने, ‘एमाले नेतृत्वको सरकारलाई निरन्तरता दिएर बिचौलियाले आफ्नो स्वार्थ पूरा गर्न ल्याएको प्रस्ताव थियो त्यो । उनीहरूको प्रस्तावलाई अध्यक्ष ओलीले पनि हुन्छ भनेपछि दुई जना अध्यक्षको प्रस्तावको कुरो अघि बढेको हो । त्यो विषय रामेश्वरको घर र मेरियट होटलमा मात्र भएको थियो । त्यसपछि कहिल्यै वार्ता समितिमा उठेको छैन ।’

तर,त्यहि अपुष्ट विषयलाई उता अध्यक्ष ओलीले मान्नुभएको भन्दै यता नेपाल निकटस्थ नेताहरुले नेपाललाई दबाब दिनुभएको थियो । तर स्वयम् रावलसँगको भेटमा ओलीले उक्त प्रस्तावको बिरोध गर्नुभएको खबर बाहिर आइसकेको छ ।

यसबीच अध्यक्ष ओलीले कसरी त्यो प्रस्तावमा समर्थन गर्नुभयो भन्नेबारे धेरै जना अनभिज्ञ देखिएका छन् । बालकोट निकट केही कमरेडले माधव नेपाललाई हुल्नको लागि भए पनि एक पटक हुन्छ भन्न ओलीलाई मनाएको गाईंगुईं छ । उनीहरुको निश्कर्ष छ, ‘त्यसपछि देखा जाएगा ।’

बालकोट निकटस्थहरुबाटै त्यो योजना चुहिएपछि नेता नेपालले कन्फ्युजनमा नपर्ने भन्दै, ‘त्यसोभए पावर सेयरिङको विस्तृत विवरण के हो ?’ भनेर वार्ता समितिका सुवास नेम्वाङ र भीम रावलहरूसँगको भेटमा सोध्नुभएको थियो । त्यसपछि पावर सेयरिङको विस्तृत विवरण उहाँहरुले नेपाललाई उपलब्ध गराउनुभएको छैन ।

वार्ता समितिका अधिकांश सदस्यले अध्यक्ष ओलीसँग नियमित भेटघाट गर्नुभएको छ । हिजो साँझ वार्ता समितिका १० जना नेताबीच गोप्य भेटवार्ता भएको भनिएको छ । स्थान र समय केही पनि नखुलाइएको उक्त भेटबारे स्रोतले ‘हो’ भनेको छ ।

यसवीच अध्यक्ष ओलीले, ‘दुई वटा अध्यक्ष कदापी हुँदैन,आउने भए माधव नेपाल खुरुक्क आउने,अरु कुरो थाहा छैन, च्याप्टर क्लोज्ड’ भनेपछि सबैले मुखामुख गरेको बताइन्छ ।

टिप्पणीहरू