मनुज चौधरीको भूत ब्युँतिएपछि

मनुज चौधरीको भूत ब्युँतिएपछि

– पुष्पलाल पाण्डे

करिब–करिब सोह्र सय वर्ष पुरानो राजतन्त्रको अन्त्य पछिल्लो नेपाली राजनीतिको सबैभन्दा महत्वपूर्ण र सुनौलो उपलब्धि हो । यस्तो सर्वाधिक जनपक्षीय प्राप्तिको भोक्ता र योद्धा बन्ने अवसर पाएकोमा हाम्रो पुस्ताले गर्व गर्नै पर्छ । तर राजतन्त्रको अन्त्य र गणतन्त्रको प्राप्ति मात्रै यो पुस्ताको गन्तव्य होइन । यात्रा धेरै लामो छ । थुप्रो कुइनेटा र गल्छेडी तय गर्न बाँकी नै छ ।

गणतन्त्रलाई साँच्चिकै ‘गण’ हरूको तन्त्र बनाउने दायित्व पनि पछिल्लो पटक यही पुस्ताको काँधमा आएको छ । दुनियाँका एक सय सत्तरी देशले अपनाएको यो व्यवस्था सर्वाधिक जनपक्षीय व्यवस्था पनि हो । गणतन्त्रको नाममा शासन गर्ने र शाषित हुनेहरूको सामन्तवादी सोच शैली र तौर तरिकाका कारण व्यवस्था र व्यवहारमा कता कता असमान्जस्यता देखिँदै आएको छ । यही असमान्जस्यताको धमिलो पोखरीमा माछा मार्ने दुस्साहस गर्ने पात्र हुन् रवीन्द्र मिश्र उर्फ मनुज चौधरी ।

राजतन्त्रको प्रतिनिधित्व गर्ने सामन्ती र दलाल उत्पादन सम्बन्धलाई समूल अन्त्य नगर्दासम्म यस्ता पात्र र प्रवृत्ति देखिँदै आउनु अस्वाभाविक होइन । पछिल्लोपटक बिबिसीका पूर्व पत्रकारसमेत रहेका मिश्रको सल्लाहपूर्ण प्रस्ताव यस्तै सामन्ती उत्पादन सम्बन्धको उत्तेजनात्मक अभिव्यक्ति भन्दा बढी केही होइन । यसलाई एक कोणबाट हेर्दा गणतन्त्रवादीका क्रियाकलापबाट सिर्जित निराशालाई क्यास गर्ने मनशाय हो भन्न सकिन्छ भने अर्को पाटो हामीले अवलम्बन गरेको उदार प्रजातन्त्रले दिएको वैचारिक तथा वाक स्वतन्त्रताको उपयोग ठान्न सकिन्छ । रवीन्द्र मिश्र उर्फ मनुज चौधरी स्वयंले वकालत गरेको राजतन्त्रले निषेध गरेको वाक स्वतन्त्रता प्रजातन्त्रले आफ्नो विकल्प खोज्न लागिपरेकालाई पनि दिन्छ । प्रजातन्त्रको सुन्दरता नै यही हो । यो पाटोबाट हेर्दा मिश्र उर्फ चौधरीको वाक स्वतन्त्रता र विचारको बहसलाई निषेध गरिनु अप्रजातान्त्रिक ठहर्छ । यसकारण उनले गर्न पाउने वैचारिक बहसको सम्मान गराैँ । किनकि यो प्रजातन्त्र हो न कि मिश्रले खोजेजस्तो राजतन्त्र ।

मिश्रलाई गाली गर्नुभन्दा हामीले हाम्रो गणतन्त्रमा सिर्जना गरेका कमजोरीको आत्मसमीक्षा आजको ज्वलन्त आवश्यकता हो । अहिले पनि दुनियाँका एक सय ७० देशमा गणतान्त्रिक व्यस्त छ । तर, ती सबै देशमा सबै तहका जनताले वास्तविक मुक्ति पाएका छैनन् । हामीले गरेको राजतन्त्रको अन्त्य र स्थापना गरेको गणतन्त्रलाई जनजनसँग जोडिनेगरी सामाजिक, साँस्कृतिक र आर्थिक रूपान्तरण गर्नु आवश्यक छ । यसो गर्न नसक्दा गणतन्त्रको धिपधिपे बत्ती निभाउने असफल प्रयास मिश्र र उक्त प्रवृत्तिले गरिरहन्छ । यसकारण हामीले प्राप्त गरेको गणतन्त्रलाई कम्तीमा पनि सामन्तवादको समूल अन्त्यको तहसम्म विस्तार गर्नु आवश्यक छ । यसो नगरेर उल्टो बाटो हिँड्ने प्रयास गर्दा त हो मिश्र प्रवृत्तिले फँडा उठाउने ।

गणतन्त्र नेपालको यो डेढ दशके यात्रामा गणतन्त्रवादीहरू चुकेको यहीँनिर हो । व्यवस्था र व्यवहारको तालमेल हुन नसक्दा हिजो सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द र डाक्टर मोहम्मद मोहसिनहरू बोकेर प्रजातन्त्रको नैया पार लगाउन खोज्दा व्यवस्था नै डुबेको तीतो हामीले देखे÷भोगेकै हो । अहिले पनि राज्यलक्ष्मी गोल्छा, ल्हारक्याल लामा, दिपक मनाङे हुँदै उमेश श्रेष्ठसम्मको गणतान्त्रिक यात्राकै कारण हो मनुज चौधरी र प्रवृत्ति जन्मिने ।

गणतन्त्रवादीले नेपालले भोगेका तमाम समस्याको वास्तविक श्रोत र कारक राजतन्त्र हो त भने तर राजा महाराजाहरूको भन्दा फरक व्यवहार र शैली प्रदर्शन गर्न सकेनन् । हिजोसम्म दल र नेताहरूका तमाम कमजोरी छोपिदिने रक्षाकवच राजतन्त्र थियो । आफ्नो अयोग्यताको भारी दरबारतिर पठाउन सक्दा आफू पानीमाथिको ओभानो बन्न सकिन्थ्यो । समयले अहिले यी आधार भत्काएको छ । अबको समय नाटकमा रमाउने होइन, मिश्रहरूको हल्लामा प्रतिक्रिया पोख्ने पनि होइन । गणतन्त्रलाई जनजनसँग जोड्न सके मात्रै यस्ता प्रवृत्ति आफैँ किनारा लाग्नेछन् । बिरालोलाई जस्तै महँगो काम्लोले छोपे पनि म्याउँ त गरिहाल्छ । यसकारण बिरालोको म्याउँसँग होइन गणतन्त्रवादीले आफ्नो ‘ह्याउ’सँग साक्षात्कार गर्नुपर्छ ।

अहिले म्याउँ गर्ने बिरालोले विगतमा पनि लामो समय मनुज चौधरीको काम्लो ओडेर म्याउँ गरेकै हो । छद्म युद्धको उक्त लडाइँ असफल भएपछि वैकल्पिक शक्तिको सफेद खास्टो पनि ओढिएकै हो । वैकल्पिक शक्तिको खास्टो पनि पद लोलुपता र वैचारिक दिशाहीनताको आगोले डढाएपछि खरानी भइसकेको छ । पछिल्लो पटक शान्त तलाउमा ढुंगा हानेर तरंग श्रृजना गर्ने अभिप्राय भित्र त्यही खरानीको थुप्रोबाट उठ्ने प्रयास देखिन्छ । मिश्रलाई लागेको होला पौराणिक फोनिक्स चरो खरानीबाटै बौरिने त हो । हो, पश्चिमा पुराणमा फोनिक्स खरानीबाटै बौरिएर उठ्थ्यो । तर, आधुनिक फिनिक्सहरू इच्छा मृत्यु मरेका होइनन् । यी त जनचाहनाले चितामा पु¥याइएका हुन् । यसकारण यिनीहरू बौरिने सम्भावना छैन ।

यति, भनिरहँदा के गणतन्त्रवादी आठमुठे गाईकै दूधले नुहाइएकै हुन् त भन्ने लाग्ला । यो पनि होइन सबै गणतन्त्रवादी एकदमै सफेद र चोखा छन् । यसोचाहिँ भन्न सकिन्छ सोह्र सय वर्षको राजतन्त्र र गणतन्त्रलाई कसी लगाउने हो भने सत्य आफैँ देखिन्छ । गणतन्त्रवादीहरू जे होउन् गणतन्त्र राजतन्त्रको तुलनामा चोखो, पवित्र र सफेद छ । यसकारण गणतन्त्रलाई राजतन्त्रको भूत जगाएर तर्साउन नखोजेकै राम्रो । यो भूत जगाउने खेल मनुज चौधरीलाई यो व्यवस्थाले अधिकारको रूपमा दिएको वाक स्वतन्त्रताको उपयोग मात्रै हो भन्ने बुझाैँ । अनि आफूलाई गणतन्त्रवादी भन्नेहरूले आफ्नो व्यवहार गणतान्त्रिक बनाउँदै लगे न त फिनिक्स हराउनेछन्, न त गहुँका गेडा गन्ने झमेला नै आइलाग्नेछ ।

टिप्पणीहरू