विमला वलीले भनिन्,जवर्जस्ती बुटवल पुर्याएर बन्धक बनाइयो

विमला वलीले भनिन्,जवर्जस्ती बुटवल पुर्याएर बन्धक बनाइयो

सत्ता परिवर्तनको निर्णायक घडीमा गुट बदलेर चर्चामा आइरहेकी लुम्बिनी प्रदेशसभाकी सांसद विमला वली माओवादीमै फर्किएकी छन् । आज माओवादी केन्द्रको लुम्बिनी प्रदेशसभा संसदीय दल कार्यालयमा सार्वजनिक भएकी वलीले एमाले नेताहरुले आफूलाई बन्धक बनाएर अनैतिक दबाब दिएको आरोपसमेत लगाइन् ।

उनले एमाले संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकाल र नेता मानबहादुर रावलले ‘अपहरण’ गरेको पनि दाबी गरेकी छन् । आज उनले सार्वजनिक गरेको विज्ञप्तिमा मुख्यमन्त्री शंकर पोखरेलको निर्देशनमा उनीहरुले घरमै आएर एमालेमा फर्किन दबाब दिएको र गाडीमा हालेर बुटवल पुर्याइएको दाबी गरिएको छ । मन्त्रीको प्रलोभन देखाएर एमाले नेताहरुले मुख्यमन्त्री कार्यालयमा तीन दिनसम्म बन्धक बनाएर राखेको उनको आरोप छ ।

‘म नेकपा (माओवादी केन्द्र)को लुम्बिनी प्रदेशसभा संसदीय दलको सदस्य भैसकेपछि एमाले नेताहरुबाट एमाले पार्टीमा आउनुपर्यो भनेर बारम्बार दबाब आउन थाल्यो । यो दबाब निरन्तर जारी रह्यो । मैले त्यसलाई निरन्तर इन्कार गरिरहें’, उनले भनेकी छन् ।

वलीले साउन १५ गते मुख्यमन्त्री पोखरेलको निर्देशनमा आफूलाई झुक्याएर बुटवल पुर्याइएको र मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर एमालेमा प्रवेश गर्न दबाब दिइएको दाबी गरेकी छन् । साउन १६, १७ र १८ गतेसम्म मुख्यमन्त्री निवासमा लगातार दबाब दिइएको उनले बताइन् ।

बिरामी भएर उपचार गर्न नेपालगन्ज जान्छु भन्दा पनि जवर्जस्ती गाडीमा हालेर बुटवल पुर्याइएको उनको भनाइ छ । मुख्यमन्त्री पोखरेलले पनि एमालेमा आउन दबाब दिएको बताउँदै उनले भनेकी छन्, ‘पहिले हाम्रो गल्ति भयो,अब त्यस्तो हुँदैन ,पार्टीमा आउनुस्,मन्त्री बन्नुस् भनेर प्रलोभनमा पारियो । मैले निरन्तर ईन्कार गरिरहें ।’

साउन १८ गते आफूलाई थाहै नदिई हस्ताक्षर गराएर एमालेमा फर्किएको विज्ञप्ति सार्वजनिक गरिएको भन्दै उनले आपत्ति पनि जनाएकी छन् । त्यसपछि साउन १९ गते पनि मुख्यमन्त्री कार्यालयमा थुनेरै राखिएको उनको भनाइ छ ।

सबै आराम गरिरहेको मौका पारेर हिजो मुख्यमन्त्री निवासबाट उम्किन सकेको वलीले भनेकी छन् । ‘मुख्यमन्त्री निवासबाट निस्कने क्रममा पहिले तल आएँ,कसैलाई देखिँन,ममा कसरी बाहिर निस्कने भन्ने मात्र ध्यान थियो । स्याण्डिल लगाएर हिँड्दा आवाज आउने भएपछि त्यो स्याण्डिल त्यहीँ छाडेँ । त्यहाँबाट सोझै आएँ, बाटोमा एउटा अटो भेटेँ,त्यहि चढेर आएँ’, माओवादी संसदीय दलको कार्यालयमा उनले पत्रकारहरुको प्रश्नको जवाफ दिँदै भनिन् ।

राजनीतिक र सरकारको खेलमा यस्तो घटना आफूले जीवनमा पहिलोपटक व्यहोर्नु परेको भन्दै उनले एमालेले यस्तो अराजनैतिक र अनैतिक काम गर्ला भन्ने सोच्न समेत नसक्ने बताएकी छन् । उनले एमालेका कारण अहिले पनि आफूलाई तनाव भैरहेको पनि बताइन् ।

घटनाले आफूलाई थप परिपक्व बनाएको भन्दै उनले अब एमालेमा जाने सम्भावना नरहेको प्रष्ट पारेकी छन् । फेरि एमालेमा जाने कुरा छ नि भन्ने प्रश्नमा उनले भनिन्, ‘म उता (एमाले) मा जाने भए यता किन आउँथे ? ती सबै कुरा गलत हो । म माओवादी हुँ, माओवादी नै हुन्छु ।’

मुख्यमन्त्री निवासमा बन्धक बनाउँदा केही नेताले फोन सम्पर्क गरेको पनि उनले बताएकी छन् ।

टिप्पणीहरू