नम्बर तीन

नेपाल प्रहरीको महानिरीक्षक पदमा अर्कैलाई नियुक्त गरेपछि पूरा फोर्समै असन्तुष्टि फैलिएको छ । वरियता क्रममा जो एक नम्बर छ उसलाई नियुक्त गर्नुपर्ने । तर, सरकारले तीन नम्बरलाई गरिदियो । एकलाई छाडेर दुईलाई मात्रै नियुक्त गरेको भए पनि यति विवाद हुने थिएन । तर, एकदमै तल झरेर तीनमा लगेकाले ठूलै विवाद उत्पन्न भइदियो ।

सुनिन्छ, सरकारले यस्तो निर्णय गर्नुको पछाडि एक जना खास नेताजीको हात छ । नेताजीकै कारण यस्तो गलत निर्णय गर्न सरकार बाध्य भएको हो । जे होस्, सरकारलाई आफ्नो कुर्सी बचाउनु छ । निर्णय सही हो कि गलत, त्यो उसलाई चाहिने विषय होइन । त्यो हेर्न त सर्वोच्च अदालत गठन भएकै छ नि † सही–गलत निर्णय गर्ने त अदालतको काम हो । अदालतको काम सरकारले गर्नु हुँदैन ।

नियुक्ति चित्त नबुझ्ने भएकाले नेपाल प्रहरीका एक बथान अधिकृत उनै नेताजीलाई भेट्न गएछन् । नेताजी घाम ताप्दै पत्रिका हेरिरहनुभएको थियो । नमस्कार–समस्कारको काम सकिएलगत्तै एक जना अधिकृतले फुर्तीसाथ भनिहाले, ‘नेताज्यू, तपाईंले हाम्रो प्रहरी संगठनको चेन अफ कमाण्ड नै बिगारिदिनुभयो । यो हामीलाई चित्त बुझेको छैन ।’

नेताजीले आफ्नो नजरलाई अखबारबाट घुमाएर सीधा उही अधिकृतकोमा केन्द्रित गर्नुभयो । ‘चित्त बुझेन ? किन ?’ नेताजी एक्कासि बोल्नुभयो ।

अर्का प्रहरी अधिकृतले थपे, ‘होइन नेताजी, फोर्समा एक नम्बरको अधिकृत हुँदाहुँदै किन तीन नम्बरलाई प्रमुख बनाउनुभएको ? एक नम्बर हुँदाहुँदै तीन नम्बरलाई बनाउनु त सरासरै अनियमित काम भयो ।’

अर्को अधिकृतको आँखै ताकेर नेताजीले भन्नुभयो, ‘हेर्नुस् भाइ, एक नम्बर हुँदाहुँदै तीन नम्बरलाई प्रमुख बनाएर कुनै अनियमित काम भएको छैन । अहिले हेर्नुस्, देशमा सरकारै त तीन नम्बर नेताले चलाइरहेको छ भने पुलिस फोर्स तीन नम्बरले चलाएर के बिग्रियो ?’

प्रहरी अधिकृत एकआपसमा मुखामुख गर्न थाले । पुनः नेताजीले स्पष्ट पार्नुभयो, ‘अहिले संसद्मा एक नम्बरको पार्टी कुन हो ? कांग्रेस । दुई नम्बर एमाले । तीन नम्बर माओवादी । अहिले त्यही तीन नम्बरवालाको अध्यक्षले सरकार चलाइरहेको छ, हो कि होइन ?’

पुनः नेताजी बोल्नुभयो, ‘तीन नम्बरवालाले देश त चलाउन सक्छ भने पुलिस फोर्स चलाउन सक्दैन ? चलाउनलाई पहिले मौका त दिनुप¥यो नि ! मौका पाएपछि मजाले चलाउँछ । अहिले हामीले त्यही मौका दिएका हौँ । ख्वै कुरा बुझ्या ?’

नेताजीको कुरा सुनेर प्रहरी अधिकृत फेरि अर्काको मुख हेर्न थाले ।

टिप्पणीहरू