म्यानपावर राजदूत

सरकारले चुनावको घोषणा र राजदूतको घोषणा एकै दिन गरेछ । अब चुनाव भन्या त उही हो । भयो भने भोट हाल्ने हो, भएन भने नहाल्ने हो । तर, राजदूत घोषणाचाहिँ अचम्मै भएछ । हामी मात्र होइन, राजदूत नियुक्त भएका मानिसको अनुहार देख्दा प्रधानमन्त्री प्रचण्ड आफैं पनि अचम्म पर्नुभयो होला । तर, अचम्म मानेर के गर्नु । राजदूतका लागि भुक्तानी आइसकेपछि त जसले ख्वाए पनि खानु परिहाल्यो ।

राजदूत हुनेहरूको नाम सार्वजनिक हुनेबित्तिकै आलोचना पनि शुरु भएको छ । आलोचना हुनु स्वाभाविकै हो । राजदूत हुन नपाएपछि मान्छेले गर्ने आलोचनै त हो नि † हुँदा–हुँदा अब म्यानपावरवालालाई राजदूत बनायो भनेरसमेत आलोचना गरे । अर्थशास्त्रीलाई राजदूत बनाउँदा विरोध नहुने, सांसदलाई राजदूत बनाउँदा विरोध नहुने, म्यानपावरवालालाई राजदूत बनाउँदाचाहिँ विरोध गर्नुपर्ने ? साँच्चै भन्ने हो भने यो सूचीमा राजदूत बन्नलायक भनेकै यही म्यानपावरवाली मात्रै हो । हेर्नोस्, म्यानपावरको काम भनेकै मान्छे विदेश पठाउने हो ।

उसले पठाएको मान्छे अलपत्र प¥यो भने उसैले राम्रोसँग हेर्छ नि ! मान्छे अलपत्र पनि पर्दैन । नेपाली कामदारलाई अलपत्र पर्नबाट बचाउने हो भने खाडीमुलुक सबैतिर म्यानपावरवालालाई नै आलोपालो राजदूत बनाउनुपर्छ । जे होस्, अहिले शुरुवात भयो । यही राम्रो !

टिप्पणीहरू