साँचो मनले गरे नहुने केछ यहाँ

चार वर्षअगाडि लीलामणि पौडेल नेपाल सरकारको मुख्यसचिव भएका बेला एउटा कामको थालनी गरे, ‘बाग्मती सफाइ ।’ उनले शुरु गरेको त्यो रचनात्मक कामले यही शनिबार २००औं सप्ताह मनाउँदै छ र यसबीच, बाग्मतीको पानी धेरै सङ्लिएको छ । अभियान शुरु गरेको दोस्रो वर्षमै गौरीघाटमा विशिष्ट व्यक्तिले बाग्मतीको पानीमा नुहाउन मिल्नेसम्मको अवस्था बनेको थियो ।

सायद कसैले सोचेको थिएन कि बाग्मती यसरी सफा हुन्छ र अहिले धेरैले यही भन्छन्, नेपालको राजनीति सफा हुने सम्भावना छैन । तर, यहाँ भन्न खोजिएको के हो भने यदि एउटा मात्र मान्छे दृढसंकल्पसाथ लाग्यो भने नहुने केही छैन । चाहे त्यो ढल बग्ने बाग्मती होस् या फोहोरी खेलको दलदलमा फसेको राजनीति, कुनै एउटा मात्र मान्छेले सफा मन राखेर निःस्वार्थ काम गर्न थाल्यो भने सफा हुन्छ । र, त्यो सम्भव छ । गरे हुन्छ तर मन सफा चाहिन्छ भन्ने कुराको उदाहरण हामीसँग कुलमान घिसिङ पनि छन् । उनले जुन योजना, दृढता र चुनौतीबीच काठमाडौं उपत्यका र पूर्वाञ्चललाई लोडसेडिङमुक्त पारे त्यसको कसैले अपेक्षासमेत गरेका थिएनन् । तर, अहिले एउटा व्यक्तिको त्यो योगदानबाट करिब १ करोड नेपाली लाभान्वित भइरहेका छन् ।

समुच्च नेपालीले अब लोडसेडिङमुक्त नेपाल धेरै टाढा छैन भनेर विश्वास गरेका छन् । एउटा केपी ओलीले जे गर्छौ गर तर नेपालको स्वाभिमानमा सम्झौता गर्दिनँ भन्दा दक्षिणको ठुल्दाजु ६ महिनामा लुसुक्क आफैं पछि हट्न बाध्य भयो । सारा मुलुकले अकल्पनीय दुःख, कष्ट र अभाव झेल्यो । सक्ने, नसक्ने सम्झौता ग¥यो । तर, नेपाली झण्डा झुक्नुहुँदैन भन्ने राष्ट्र प्रमुखको अठोटलाई साथ दिइरह्यो । स्पष्ट थियो, प्रधानमन्त्रीका रूपमा केपी ओलीले जनताको साथ मागे र पाए । नेपाल सधँँै हेपिएर बस्दैन भन्ने आम नेपालीको साझा बोली बोले । बरु प्रधानमन्त्रीको कुर्सी हाँसी–हाँसी छाडे तर शिर झुकाएनन् । अनुहारमा तनाव झल्कन दिएनन् ।

औपचारिक तवरबाट कति काम होला, नहोला सरकारी सेवामा बसेका, राजनीतिको गुलियो चाखिसकेकाहरूले यस्ता कामको थालनी गर्लान्, नगर्लान् तर अब अनौपचारिक क्षेत्रबाट पनि स–साना नै सही सुधारात्मक कामको थालनी गर्नु जरुरी छ । कुनै एउटा अमुक व्यक्तिले पनि थाले हुन्छ त्यसमा साथ दिन हजारौं हात उपस्थित अवश्य हुनेछ । आउनुहोस्, अब राजनीतिलाई गाली गर्न छाडेर सामाजिक सुधारमा लागौं, आफ्नो गाउँ, टोल, समाज र परिवेशलाई सबैखाले प्रदूषणबाट मुक्त पार्ने अभियानको थालनी गरौं । त्यसपछि कुनै पनि दूषित पद्धति, संस्कार, राजनीति र व्यवहार आफैं हटेर जानेछ । टोल–टोलमा नयाँ अभियान थालनी गर्ने धेरै लीलामणि र कुलमानहरू देखा पर्नेछन् ।
 

टिप्पणीहरू