एनआरएन अमेरिकामा अर्को भाँडभैलो,एकार्कालाई ‘ब्वाँसो’ को दर्जा

एनआरएन अमेरिकामा अर्को भाँडभैलो,एकार्कालाई ‘ब्वाँसो’ को दर्जा

एनआरएन अमेरिकामा पुनः भाँडभैलो मच्चिएको छ । एक महिनाअगाडि अधिवेशन र निर्वाचन क्रममा झण्डै मुठभेडको अवस्थाबाट गुज्रिएको एनआरएन अमेरिकामा अहिले डेलिगेट छान्ने विषय थप जटिल बनेको हो ।

गत बिहीबार एनआरएन आईसीसीका सदस्यहरुबीचको छलफलमा क्षेत्रीय संयोजक राजन त्रिपाठीलाई आईसीसीका एक पदाधिकारीले ‘तपाईंलाई यो पद बोकाको मुखमा कुभिण्डो भएको’ भनेपछि नयाँ रडाको शुरु भएको बताइन्छ । त्रिपाठीले डेलिगेट छनोटमा उत्पन्न विवाद समाधानको लागि भन्दै आफूलाई केन्द्रबिन्दुमा राखेर उक्त दिनको छलफल आयोजना गरेको उनलाई आफ्नो नठान्नेहरुले भन्दै आएका छन् ।

तर,उनले भित्री तवरले गौरी जोशीको गुटको लागि काम गर्दै आएको आरोप छ । यसअघि भएको भर्चुअल छलफलमा त्रिपाठीले आईसिसीको महिला उपाध्यक्षलाई अपशब्द बोलेपछि बिरोधीहरु आगो भएका थिए । एनआरएनका एक पदाधिकारीले भने,‘क्षेत्रीय संयोजक भने पनि त्रिपाठीको उद्दण्ड क्रियाकलापका कारण च्याप्टरका सदस्यको जिम्मेवारी पनि बढी हुन्छ ।’

एनआरएन अमेरिकाका एकजना पदाधिकारीका अनुसार राजन हिरो बन्न खोज्छन्,तर आलोकाँचो स्वभाव र व्यवहारको कारण हरेक पटक विवादमा आउने गरेका छन् । एनआरएन अमेरिकामा गौरी जोशी र डा. केशव पौडेलबीच पनि वाकयुद्ध जारी छ । डा.पौडेलले नाटकीय शैलीमा एनआरएन एनसीसीमा अध्यक्ष बुध्दि सुवेदीलाई जिताएपछि नेपालीवीच ध्रुवीकरण अझ बढेको हो ।

आईसीसीको चुनावमा डा. पौडेल र गौरी जोशी दुवै जनाले एउटै पदमा लड्ने तयारी गरेका छन् । पौडेल जुन पदमा उठे पनि आफूसमेत त्यसैमा उठ्ने भन्दै जोशीले आफ्ना निकटस्थहरुलाई जानकारी गराइसकेकी छन् । जोशी र पौडेलबीच सन् २०१५ को निर्वाचनदेखि नै दुश्मनी कायम भएको बताइन्छ । अध्यक्षको प्रत्यासी रहेका जोशीलाई त्यो बेला धम्क्याएर पौडेलले अध्यक्ष पदबाटै उम्मेदवारी फिर्ता गराउन सफल भएका थिए ।

यसैगरी एनआरएन अमेरिकामा तोया दाहाललाई प्रवक्ता नियुक्त गरेको भन्दै काँग्रेस निकट पत्रकारहरुले आपत्ति जनाएका छन् । लामो समय बिरामी परेपछि तङ्ग्रिँदै गरेका दाहालकै अनलाइनमा साझेदार र नेपालमा हुँदा एउटै टेलिभिजनमा समेत काम गरेका विष्णुहरि घिमिरेले दाहाललाई ‘ब्वाँसो’ भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना गरेका छन् ।

प्रवक्ताले हालै पठाएको विज्ञप्तिलाई अमेरिकाबाटै सञ्चालित कतिपय नेपाली न्यूज पोर्टलले स्थान नदिएपछि एनआरएन अमेरिकामा नयाँ ढंगको विवाद शुरु भएको ठानिएको छ ।

– न्यूयोर्कबाट पी लम्साल

टिप्पणीहरू