दुःख नभोगी कसले राख्नसक्छ कीर्तिमान ? « Jana Aastha News Online
Logo
१४ आश्विन २०७९, शुक्रबार
|  Fri Sep 30 2022
Logo
१४ आश्विन २०७९, शुक्रबार
|  Fri Sep 30 2022

दुःख नभोगी कसले राख्नसक्छ कीर्तिमान ?

प्रकाशित मिति :  १२ फाल्गुन २०७३, बिहीबार ०९:१२


  • राजेन्द्र स्थापित

विन्स्टन चर्चिल सबैभन्दा चर्चित बेलायती प्रधानमन्त्री हुन् । दोस्रो विश्वयुद्धताका सन् १९४० देखि १९४५ सम्म र सन् १९५१ देखि १९५५ सम्म मन्त्रिमण्डलको नेतृत्व गरे, सेनाको अधिकृत, गैरप्राज्ञिक इतिहासकार, लेखक र कलाकारसमेत रहे । बाबु रान्डोल्फ चामत्कारिक राजनीतिज्ञ । आमा जेन्नी जेरोमी प्रतिष्ठित अमेरिकी सामाजिक व्यक्तित्व ।

सन् १८९३ मा हार्रो स्कुल छोड्दा चर्चिल १९ वर्षको भइसकेका थिए । शाही सैन्य कलेज भर्ना हुन फारम बुझाए । तीनपटक प्रवेश परीक्षामा अनुत्तीर्ण भए । पछि घोडचढी सेनामा भर्ना हुन चाहे । पैदल सेनामा यसकारण भर्ना हुन चाहेनन् किनकि स्कुले शिक्षा निकै कम प्रतिशतमा उत्तीर्ण गरेका थिए, त्यसमाथि गणित पढ्न चाहन्नथे । सन् १८९४ मा बल्लबल्ल ग्रेजुएट बने । अब भने स्थलसेनामा जान पाउने भए । सेनामा लाग्न बाबु रान्डोल्फले दबाब दिएको दियै गर्थे । यसरी बल्ल सन् १८९५ मा सेकेण्ड लेफ्टिनेन्ट बने । लण्डनबाट प्रकाशन हुने केही पत्रिकाका लागि युद्ध संवाददाताको काम पनि गर्दै थिए । पत्रिकामा छापिएका समाचार र लेख धेरैले मन पराउन थाले । क्युबामा स्वतन्त्रता संग्राम चल्दै थियो । त्यहाँका छापामारहरुलाई स्पेनको सेनाले कसरी दबाउँदैछ भन्ने रिपोर्टिङ गर्न रेजिनाल्ड बर्नाससँग क्युबातर्फ लागे । त्यहाँ देखेको छापामार युद्ध र अनुभव ‘डेली ग्राफिक’ लाई पठाउँदै गरे । त्यहाँको हभाना सिगार संसारभरि प्रशिद्ध थियो । चर्चिल पनि त्यसैको अम्मली बने, जुन जीवनभरि छाड्नै सकेनन् ।

सन् १८९६ को अक्टोबरमा भारतको मुम्बई सरुवा भए । युवा सैन्य अधिकृतको रुपमा बैंगलोर पुगे । बेलायतअन्तर्गतको भारतमा सैनिक जवानको रुपमा काम गरे । पत्रिकामा रिपोर्टिङ पनि भ्याए । पाँच÷छ महिनामै ग्रिक र टर्कीबीच लडाइँको समाचार संकलनार्थ टर्की जानुपर्ने भयो तर त्यहाँ पुग्दानपुग्दै युद्ध अन्त्य भयो । उनी पुनः भारत पुग्न चाहन्थे तर इजिप्टतर्फ सरुवा भयो । त्यहाँबाट अफ्रिकी राष्ट्र सुडान । यसबीच बेलायतमा भएको संसदीय उपनिर्वाचनमा खडा भए तर सफलता हात लागेन । अनि दक्षिणी अफ्रिकामा बोअरहरुले ब्रिटेनविरुद्ध दोस्रोपटक युद्ध छेडेको खबर पाएपछि सन् १८९९ को अक्टोबर १२ मा उतै लागे । बेलायतबाटै प्रकाशन हुने ‘दि मर्निङ पोष्ट’ को युद्ध संवाददाताको रुपमा । मासिक २ सय ५० पाउण्ड पारिश्रमिक । चर्चिल आफूलाई चतुर ठान्थे । चुप लागेर बस्नुभन्दा कुनै न कुनै झगडामा फसिरहन मन पराउँथे । त्यसबेला बेलायतले दक्षिण अफ्रिकाको लागि नयाँ कमाण्डर नियुक्त ग¥यो– सर रेडभर्स बुलरलाई । चर्चिल उनी चढेकै जहाजबाट रवाना भए । केही हप्ताको सफरपछि दक्षिण अफ्रिका पुगे । समुद्री तटनजिकको क्षेत्रमा घुमघाम गरेपछि हतियार बोकेर प्रिटोरियातर्फ गइरहेको रेल चढे, नोभेम्बर १५ को दिन । ब्रिटिश सेना चढेको रेललाई दुर्घटनामा पार्ने उद्देश्यले बोअरहरुले लिकमा ठूलो ढुंगा राखेका रहेछन् । ढुंगा देखेपछि रेल रोकियो । लगत्तै वरिपरि लुक िबसेका छापामारहरुले चारैतिरबाट गोली चलाए । जवाफमा ब्रिटिश सैनिकले पनि गोली हान्न थाले । करिब ७० मिनेटपछि छापामारहरुले उक्त पहाडी इलाका कब्जामा लिए । केही ब्रिटिश सेनालाई बन्दी बनाए, केही भाग्न सफल भए ।

चर्चिल घाइतेजनलाई उठाउनतर्फ लाग्दालाग्दै आफू एक्लै परेको थाहै पाएनन् । जब ४० गज टाढाबाट एकजना अफ्रिकी राइफल तेस्र्याएर आफूतिर आउँदै गरेको देखे, हत्तपत्त कम्मरमा भिरेको पेस्तोल छामे । दौडधुपमा पेस्तोल खसिसकेको रहेछ । सहज तरिकाले आत्मसमर्पण गरे । राइफल तेस्र्याउँदै अघि बढ्ने अरु कोही नभई बोअरहरुका कमाण्डर लुइस बोथा रहेछन्, जो पछि त्यहाँको प्रधानमन्त्री बने । पक्राउ परेपछि चर्चिलले आफू पत्रकार भएको बताए तर बोथाले नसुनेझैँ गरे । प्रिटोरिया जाने रेलमा चढाए । ७ हजार ८० फुट उचाइमा रहेको माजुबा पहाडतर्फ लान चाहन्थे तर रेलमार्ग बिग्रिएकाले मध्य प्रिटोरियास्थित एउटा स्कुलमा पु¥याए । छापामारहरुले बन्धक ब्रिटिश सैन्य अधिकृतहरुलाई राख्न उक्त स्कुल प्रयोग गर्ने गरेका थिए । स्कुलमा ठूलो पुस्तकालय थियो । त्यसको प्रमुख एउटी महिला थिइन् । चर्चिलले आफ्नो परिचय दिएपछि प्रभावित भइन् । उनीबारे पुस्तक लेख्छु भनिन् । उनैको सहयोगमा चर्चिलले त्यो स्कुल, वरिपरिको अवस्थाबारे धेरै सूचना प्राप्त गरे । बन्दी बनेका ब्रिटिश अधिकृतहरुले बनाएको ठूलो (१ सय वर्गफुट) नक्सा पनि देखाइन् । नक्सामा बेलायती सेनाको उपस्थिति भएको स्थानमा रातो र बोअरहरुलाई नीलो रंगमा देखाइएको थियो ।

दुई–चार दिनमै चर्चिललाई दिन काट्न गाह्रो भयो । भाग्न सफल भए एउटा इतिहास बन्ने लोभ पलायो । तर, भाग्न सजिलो थिएन । पहरा सख्त थियो । शुरुमा बन्दीहरुलाई विद्रोहको लागि आह्वान गर्ने सोचे । गार्डहरुको हतियार खोसेर भाग्ने विचार गरे । अन्त्यमा भाग्ने योजनामा धेरैलाई सहभागी नगराउने टुंगोमा पुगे । क्याप्टेन हाल्डेन र सार्जेन्ट मेजर बिर्कीसँग सल्लाह गरे । तीनैजना मिलेर एउटा योजना बनाए । पर्खालसँग जोडिएको शौचालयमा लुकेर बस्ने, त्यहीं बसेर ओहोरदोहोर गर्ने गार्डहरुको निगरानी गर्ने, जब गार्ड गस्ती गएर त्यहाँबाट फिर्ता जान्छ वा छोटो समयका लागि शौचालयतर्फको पहरा हट्छ, मौकाको फाइदा उठाएर तीनैजना पर्खाल नाघेर भाग्ने । योजना चित्त बुझेपछि तीनैजनाले सन् १८९९, डिसेम्बर ३१ को दिन भाग्ने भन्दै हात मिलाए । नयाँ वर्ष अर्थात् जनवरी १ बाहिरै मनाउने सोचेका उनीहरुको योजना त्यो दिन खेर गयो । त्यहाँका एकजना गार्ड गोरा थिए । उनले अश्वेतहरु बिनापास सडकमा निस्फिक्री भएर हिँड्न पाउने, आफूहरु उनीहरुको सेवा गर्दै बस्नुपर्ने भन्दै असन्तोष पोखे । चर्चिलले उनको हाँमा हाँ मिलाउँदै केही पैसा दिए । गार्ड उनीप्रति नरम देखिए ।

बन्दी बनेको ठीक चार हप्तापछि जनवरी १२ मा एउटा कागज त्यो गार्डलाई दिए । त्यसमा बोअर युद्ध मन्त्रीलाई संबोधन गर्दै लेखिएको थियो, ‘तपाईंहरुको सरकारसित मलाई एकजना सैनिकसरह बन्दी बनाएर राख्ने अधिकार छैन । बन्दीगृहबाट भाग्ने अठोट गरिसकेँ ।’ लगत्तै योजनाअनुरुप तीनैजना शौचालयमा लुक्न गए । र, गस्ती लगाइरहेका गार्ड जब फनक्क फर्के, मौकाको ताकमा बसेका चर्चिल पर्खाल नाघेर बाहिर हामफाले । एउटा निजी कम्पाउण्डमा पुगे । त्यहाँबाट नजिकको झाडीमा लुक्न गए । दुईजना साथीलाई पर्खेर बसे । दिशा नाप्ने कम्पास उनीहरुसितै थियो । रात प¥यो तैपनि अर्का दुईजना आइपुगेनन् । त्यसपछि एक्लै भाग्ने योजना बनाए । आकाशमा चम्केको ताराको सहयोगमा अघि बढे । एक घण्टा हिँडेपछि सडकमा आइपुगे । नजिकै रेलमार्ग देखे । लुक्दै रेल स्टेसन पुगे र आफ्नो गन्तव्यतर्फ लाग्ने विचार गरे । हात कोटको खल्तीभित्र छिराएर त्यहाँ भएको ७५ पाउण्ड नोटलाई बलियोसित मुठीमा कसे । स्टेसन पुगेपछि पनि लुकेरै बसे । रेल रोकिनेबित्तिकै चढ्ने योजना बनाएनन् । रेल जब मन्द गतिले चल्न शुरु गर्छ, तबमात्र त्यसमा चढ्ने उनको सोच थियो ।

एकछिनपछि रेल आयो, मालसामान बोक्ने रेल रहेछ । जुन ढोका खुलेको छ, त्यसैबाट छिरे । बोराको थुप्रोमा बसे । त्यसैमा निदाए । ब्युँझँदा बिहान भइसकेको थियो । उज्यालोमा यात्रा गर्न चाहँदैनथे । त्यसैले जब एउटा मोडमा पुगेपछि गति सुस्त भयो र तल घाँसे मैदान देखे, त्यहीँ हामफाले । नजिकै रुखपछाडिको झारपातभित्र दिनभरि लुकेर बसे । रातसँगै भोकले पनि सताउन थाल्यो । नजिकैको झर्नामा गएर पानी पिए । बोकेर ल्याएको दुई टुक्रा रोटी खाए । अनि गाडी पर्खिन थाले । निकै बेर कुर्दा पनि नआएपछि स्टेसनसम्म हिँडेरै जाने विचार गरे । थकाइको कारण खुट्टा गलिसकेको थियो तैपनि पैदल हिँड्न थाले । निकै बेरको हिँडाइपछि बिजुली झलमल्ल बलिराखेको स्टेसन देखे । तर, त्यो ठाउँमा बसिराख्नु ठीक ठानेनन् । त्यहाँ मान्छेहरु थिए, तीमध्ये केही अश्वेत । सबै अश्वेत बोअर हुँदैनन् भन्ने आशामा स्टेसनबाट फर्केका तिनीहरुको पछि लाग्ने सोचे तर कोही उनी भएको ठाउँमा आएनन् । निराश भएर फेरि हिँड्न थाले । टाढा बत्ती बलिरहेको एउटा बस्ती देखे । मद्दत माग्ने हेतुले उतैतिर बढे । उता बोअरहरुले फरार कैदी चर्चिललाई चारैतिर खोज्न थालिसकेका थिए । टाउकोको मोल २५ पाउण्ड तोकिसकेका थिए ।
करिब एक घण्टाको हिँडाइपछि कोइलाको थुप्रोनेर एउटा घरमा पुगे । बिहानको ३ बजिसकेको थियो । घर कसको जानकारी थिएन । साहस गरेर ढोका ढक्ढक्याए । पदचाप सुने । भित्रबाट सोधियो, ‘को हो ?’ चर्चिलले जवाफ दिए, ‘म यताको लागि नयाँ मान्छे हुँ । एउटा घटनाबाट पीडित । कृपया, मद्दत गरिदिनुस् ।’ ढोका खुल्यो । भित्र एक हृष्टपुष्ट व्यक्ति थिए, जसले सशंकित आँखाले तलदेखि माथिसम्म नियाले । थाकेको र मैलो कपडा देखे । मोजाम्बिक र दक्षिण अफ्रिकाको सीमा कोमातीपोर्ट पुगिसकेका रहेछन् । जुन घरको ढोका ढक्ढक्याउन पुगे, धन्न घर एकजना बेलायतीकै परेछ । जोन होवार्ड नाउँका ती व्यक्तिले भने, ‘ईश्वरलाई धन्यवाद दिनुपर्छ कि उसले तिमीलाई सही घरमा पु¥यायो । बीस माइलवरिपरिको यो क्षेत्रमा यो एउटा मात्र त्यस्तो घर हो, जहाँ बेलायती परिवार बस्छन् । हामी पनि बेलायती हौं, तिमी पनि । ढुक्क होऊ, हामी तिमीलाई बोअरहरुसमक्ष सुम्पने छैनौं ।’

जोनकै सहयोगमा चर्चिल एन–४ सडक हुँदै स्वाजिल्याण्डको सीमा र त्यहाँबाट मोजाम्बिकको राजधानी लरेन्को मार्कस (वर्तमान मापुतो) तर्फ लागे । त्यतिञ्जेलसम्ममा उनले नौ दिन बिताइसकेका थिए । करिब ४ सय ८० किमी लामो यात्रा तय भइसकेका थियो । मापुतोमा कार्यरत बेलायती कन्सुलरलाई भेटेर परिचय दिए । कन्सुलरले दक्षिण अफ्रिकी सहर डर्बान जाने जहाजमा बसाइदिए । चर्चिल बन्दीगृहबाट भाग्न सफल भएको समाचार बेलायती पत्रपत्रिकाले छापिसकेका रहेछन् । त्यसैले जब उनी नाताल प्रान्तको प्रमुख बन्दरगाह (डर्बान तट) मा ओर्ले, गोराहरुको ठूलै समूह स्वागत गर्न पुग्यो । यसबाट अभिमान बढ्यो । सन् १९०० को नववर्षसँगै पुनः कोलेन्सो क्षेत्रमा गई समाचार संकलन गर्न थाले । सेनासँगै ६ हप्ताअघि आफू पक्राउ परेको स्थानको भ्रमण गरे । लगत्तै पुनः घोडचढी सेनामा भर्ना भए तर यसपटक बेलायती होइन, दक्षिण अफ्रिकी जनरल बुलरको सेनामा । सैनिकको रुपमा लेडी स्मिथ अभियानमा र प्रिटोरियामाथि नियन्त्रण जमाएको अपरेशनमा सहभागी भए । त्यसपछि बेलायत फर्के । लगत्तै ‘लण्डन टु लेडी स्मिथ भाया प्रिटोरिया’ र बोअरयुद्धको अनुभवसम्बन्धी ‘इयान हैमिल्टन्स मार्च’ प्रकाशन गरे । यी दुई पुस्तकमार्फत रातारात ‘हिरो’ बने । नतिजा, राजनीतिमा एकपछि अर्को सफलता हासिल गर्दै गए ।

सन् १९०२ मा बोअर र बेलायतबीच सम्झौता भयो । चर्चिललाई बन्दी बनाएका उनै बोअर कमाण्डर लुइस बोथा लण्डन पुगे । चर्चिलसँग भेटे तर चर्चिलले उनलाई चिन्न सकेनन् । पछि उनै बोथा १९१० मा दक्षिण अफ्रिकी युनियनको प्रधानमन्त्री बने । चार वर्षपछि सन् १९१४ मा प्रथम विश्वयुद्ध प्रारम्भ भयो । उनले बेलायतसँग मिलेर जनरल डे वेटले नेतृत्व गरेको बोअर विद्रोहलाई दबाए । किनकि त्यसबेला बहुमत दक्षिण अफ्रिकी जर्मनीको पक्षमा थिए । जसको कारण बोथा बेलायतको प्रिय बने ।


प्रतिक्रिया दिनुहोस !