टीका नलगाई पनि हुन्छ बिहे ? « Jana Aastha News Online
Logo
१० आश्विन २०७९, सोमबार
|  Mon Sep 26 2022
Logo
१० आश्विन २०७९, सोमबार
|  Mon Sep 26 2022

टीका नलगाई पनि हुन्छ बिहे ?

प्रकाशित मिति :  १२ फाल्गुन २०७३, बिहीबार ०९:०८


  • बैकुण्ठ ढकाल

‘टीका नलाई त बेहुला अन्मिनै मिल्दैन हजुर, बरु नुहाई धुवाई गरेर तीन दिनमै टीका लगाउन सकिन्छ ।’

‘टीका नलगाए पनि विवाह गर्न मिल्छ, हुन्छ र सकिन्छ ।’ विवाह गर्न ठिक्क परेकी स्नातकोत्तर अध्ययनरत एक चेलीलाई मैले भनेँ । उनले फेरि केटा पक्षसँग कुरा गरिछन् ।

अहँ, मानेनन् ।

टीकाटालो (इन्गेजमेन्ट) नगरी बेहुला अन्माउने चलन नै नभएको अड्डी कसे बेहुला पक्षले ।

अनि मैले पनि रजस्वला भएको सात दिन नभई टीकाटालो गर्न नमिल्ने सन्देश सुनाउन भनें, उनीहरू केटी (हुनेवाला बेहुली) मिन्स भएको सातौं दिनमा मात्रै टीकाटालो गर्न सहमत भए ।

७ फागुनमा हुने विवाहका लागि ४ गते टीकाटालो सम्पन्न भयो । विदेश बस्ने केटो विवाहका लागि छुट्टी मिलाएर आएका रहेछन् । एउटा गैरसरकारी संस्थामा काम गर्ने केटीको बिदा छोटो रहेछ । टीकाटालो लगाइसकेपछि केटी गुनासो गर्दै थिइन्, छुट्टी १० दिन मात्रै छ ।
छुट्टी छोटो भनेर गुनासो गर्नुको अर्थ लामो समय सँगै नहुने भन्ने चिन्ता हुनुपर्छ ।

शायद अनलाइनले जोडेको जोडी हुनुपर्छ ।

व्यक्तिगत मामला भनेर सबै इतिहास खोतल्न चाहिनँ ।

एकछिनको हाउभाउले केटाकेटी निकै पहिलेदेखिको परिचित हुन् भन्नेचाहिँ झल्किन्थ्यो ।

रजस्वला एउटा स्वाभाविक चक्र हो । चक्र घुमिरहन्छ । पढे÷लेखेका र आधुनिक भनिए पनि नारी रजस्वला लुकाउँदैनन् । सायद उनीहरूको मनमस्तिष्कमा रजस्वला पाप हो, डर हो, या यस्तै–यस्तै भन्ने कुराले गहिरो डेरा जमाएको हुन सक्छ । उनीहरू शिक्षित भए पनि डर जित्न सकेका छैनन् ।

‘म मिन्स भएँ, टीका लगाउन त नहुने भयो, अब कति दिनमा हुन्छ ?’ मैले जवाफ दिएँ –‘७ दिनमा ।’

‘मिलाउन मिल्दैन ?’

‘मिल्दैन, मिन्स भएँ भनेर किन मलाई सुनाएको त, तिमी मिन्स भएको तिमीलाई मात्रै त थाहा थियो, चुप लागेर बसेको भए, कुरै सकिन्थ्यो नि ?’

धेरैबेर अनकनाइन्, कुरा केही आएन, उताबाट ।

त्यतिञ्जेल क्यालेण्डर पल्टाइसकेको थिएँ । हेरें फागुन ४ गते बुधबार परेको थियो । ‘ल गज्जब भो, साइतमै भइछौ, सोम खेती बुध घर भन्छन्, अब बुधबार टीकाटालो हुने भयो ।’

सायद मिन्स भएको बेलामा टीकाटालो लगाउँदा सम्बन्धमा असर गर्छ कि, देउता रिसाउँछन् वा अन्य यस्तै–यस्तै के–के हुन्छ भनेर होला, केटीले फोनमै परामर्श लिएकी ।

केटा पक्षले त टीकाटालोको दिन हाकाहाकी नै भने, ‘टीकाटालो नगरी दुलाहा अन्माएर आउँला, केटी भागिदिइन् भने ?’

टीका लगाएपछि केटी नभाग्ने, नलगाउँदा चाहिँ भाग्ने ? यो कस्तो विश्वास÷अविश्वास ।

मिन्स भएका बेला टीका लगाउन नहुने अन्धविश्वासभन्दा त, टीका नलगाउँदा केटी अरूसँगै भाग्छिन् भन्ने अविश्वास निकै घातक लाग्यो ।
केटाका आफन्तले यस्तो तर्क गरिरहँदा भर्खरै टीकाटालो सकेका केटाकेटी कानेखुशीमा व्यस्त थिए । सुनेनन् ।

अँ, साँच्ची केटाले पनि दीपक÷दीपाको निकै चलेको चलचित्र छक्कापञ्जा हेरे कि हेरेनन् होला । छक्कापञ्जा चलचित्र मात्रै हो, वास्तविकता होइन भन्ने बुझे भने त ठीकै छ । त्योभन्दा अन्यथा सोचे के होला ?

हुन त विश्वासको जग बलियो छ भने कसको के लाग्छ र ?

मैले विवाहको दिन मण्डपमा मात्रै टीका लगाएको भन्दा केटापक्ष हाम्रोतिर (पश्चिमतिर) टीका नलगाई विवाह गर्ने चलन नै नभएकोमा जोड दिइरहेका थिए ।

हो, चलन नै त हो । सुदूरपश्चिममा अझै पनि छाउघर बस्ने चलन छ । अन्धविश्वास छ । नबुझेर अन्धविश्वास बोकिरहेका छन् । बुझेकाहरूचाहिँ अविश्वास बोकिरहेका छन् । टीका नलाउँदा केटी अर्कैसँग भाग्छे, लगाउँदा भाग्दिन । छाउ नबस्दा, देउता रिसाउँछ । बस्दाचाहिं खुशी होला त ?
केटाकेटी राजीखुशी छन् । विवाह गर्न तयार छन् । टोल, छिमेक वा भनौं हाम्रो लोकलाई चाहिँ टीकाटालोकै सुर्ता छ । लोकलाई देखाउनु छ, आडम्बर प्रस्तुत गर्नु छ । यस्तै–यस्तै के–के गर्नु छ, छ ।

विवाह भन्नेबित्तिकै संस्कार, समाज, संस्कृति, वर्ग सबै जोडिएर आउँछ ।

केटाकेटीले रोजेको हो भने थरगोत्र, जातभातको कुरा नहेर्लान् । बाआमाले खोज्ने हो भने थर गोत्रदेखि कुलघरान हेर्लान् । घर पनि हेर्लान् । अलि पहिले धानको भकारी र परालको कुन्यु हेर्ने चलन थियो । अहिले घरको तला हेरिएला । केटाको गुण, क्षमता, योग्यताले अभिभावकलाई प्रभावित गर्ला नगर्ला ? भौतिक सुख, सुविधामा छोरी रमाउँछिन् भन्ने धेरैलाई लाग्छ । तर, त्यो मात्रै सबथोक होइन भन्नेको संख्या बाक्लो हुँदै गएको छ ।

सुनको पिँजडामा होइन, वनको चरी वनमै रमाउँछिन् भन्ने चलन छ ।

अझै पनि कतिपय समाजमा छोरी हुँदा उपभोग गरिने सबै स्वतन्त्रता बुहारी हुनेबित्तिकै खोसिदिने गर्छन् ।

कामकाजी छोरी, बुहारी हुनेबित्तिकै घरमा कुँज्जिनुपर्दा कस्तो होला, सम्झँदा पनि अत्यास लाग्छ ।

श्रीमान् कमाउने, श्रीमती पकाउने । यही सोच अझै पनि कतिपयमा हावी छ ।

कमैले मात्रै सँगै कमाउने, सँगै पकाउने थिति बसालेका छन् ।

पुरानो छाड्न र नयाँ शुरु गर्न कठिन हुन्छ । नेपाली समाज अहिले पुरानो छाड्ने र नयाँ शुरु गरिहाल्ने अवस्थामा पुगिसकेको छैन ।
संस्कार भनेर मान्नु छ । बोकेर हिँड्न पनि कठिन छ ।

हुन त विवाह केटाकेटीबीच उच्चस्तरको समझदारी हो, सम्झौता हो । यो कुनै लिखित दस्तावेज होइन । यति भन्दाभन्दै पनि कानुनी बाटो सहज बनाउन स्थानीय निकायमा विवाह दर्ता गर्ने चलन छ ।

सहज व्यवहारले सम्बन्ध जोड्ने हो । असहज र असमान व्यवहारले त जोडिएको सम्बन्ध पनि टुक्रा–टुक्रा हुन्छ । टीकाटालो, स्वयम्बर, कन्यादान यी आदि त एउटा औपचारिकता न हुन् !

सबैभन्दा पहिले त विश्वास हो बनाउनुपर्ने । अविश्वास र अन्धविश्वास बोकेर हिँड्ने अनि सुदूरभविष्यको सुख र खुशी खोज्न त पक्कै मिल्दैन ।
विवाहसँग आर्थिक पाटो पनि जोडिएका हुन्छन् ।

छोरीको घरबार जोडिँदा बाआमा घरबारविहीन भए भने…, यो पनि सोचनीय विषय हो ।

अनि अर्को कुरा, केटी पक्षको सबै रित्याउने गरी लिनुपर्ने चलनचाहिँ कहिलेसम्म बोकिरहने केटा पक्षले ?


प्रतिक्रिया दिनुहोस !