मन्त्री नै खनिएपछि के गरौं म ! « Jana Aastha News Online
Logo
११ असार २०७९, शनिबार
|  Sat Jun 25 2022
Logo
११ असार २०७९, शनिबार
|  Sat Jun 25 2022

मन्त्री नै खनिएपछि के गरौं म !

प्रकाशित मिति :  १२ फाल्गुन २०७३, बिहीबार ०८:३९


शक्ति र सत्ताको आडमा जसले जे गरे पनि छुट पाइने हो यहाँ ? जिन्दगीभरकोे रगत–पसिनाले आर्जेको घरजग्गा र श्री–सम्पत्ति आँखैअगाडि अर्काेले बलजफ्तीपूर्ण हडपेको कसले पो स्विकार्न सक्छ र ? तर, भ्रष्ट र द्रव्यपिचासीहरूको बाहुल्य भएको मुलुकमा सर्वाेच्च अदालतको आदेशको खिल्ली उडाउँदै छ । त्यसरी मेरो सम्पत्ति हडप्न नेपाल सरकारका मन्त्री नै लाग्छन् भन्ने कहिल्यै साचेको थिइनँ । तर, जिन्दगीमा सोचेभन्दा नसोचेकै घटनाक्रम बढी हुने रहेछन् ।

मेरो श्री–सम्पत्ति आफूनिकटको नाममा पारिदिन एक जना मन्त्री कम्मर कसेर लागेका छन् । सर्वाेच्चको अन्तरिम आदेशविपरीत गृहमन्त्री विमलेन्द्र निधिले मेरो घरजग्गा आफूनिकटका पप्पु र अर्जुन ठाकुरको नाममा पारिदिन ललितपुर जिल्ला प्रशासन कार्यालयका सहायक सिडिओ कृष्णप्रसाद आचार्य, जिप्रका ललितपुरका नायब सुब्बा विगाराम राई, ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक ठूले राई, सातदोबाटो प्रहरी वृत्तका निरीक्षक श्याम सुब्बा, ललितपुर उपमहानगरपालिकाका कार्यकारी प्रमुख भरतमणि पाण्डे, नगर प्रहरी बल प्रमुख पदमलाल महर्जनलाई परिचालन गरेका छन् । तर, नखाएको विष लाग्दैन ।

दुःख–सुख ऋण–धन गरेर ललितपुर उपमहानगरपालिका–५ स्थित कित्ता नम्बर ५६६ र ५६८ मा बनाएको छु घर । चल्तीको मूल्य पाँच करोड माथि छ । श्रीमान्÷श्रीमती, एक छोरी र भतिजसहित छौं । घर बनाउँदा ऋण लाग्यो । अन्नपानीको शरीर सदैव एकनाश नहुँदो रहेछ । ऋण गरेरै बनाइएको घर । भनिन्छ, धनले धन कमाउँछ, ऋणले ऋण । एकातिर चर्काे ब्याज र अर्काेतिर पति रविन राईको बिग्रँदै गएको स्वास्थ्यवस्था । उहाँको स्वास्थ्योपचार र घरव्यवहार चलाउन पैसा आवश्यक प¥यो । कसलाई भनौं ? र, के गरौं को अवस्थामा भेटिए धनुषा नगरपालिका घर भई कामपा–२३ बस्ने पप्पु ठाकुर । रघुवीर ठाकुरका छोरा । सहयोगका लागि आग्रह गरें ।

उनले घरजग्गा धितो राखेको खण्डमा मात्र रकम दिन सक्ने बताए । धन्दै यस्तै रहेछ । कसैको घरजग्गा धितोमा लिने र ऋण दिने, अन्त्यमा त्यो घर आफ्नो नाममा पार्ने । शुरुमा चिन्न सकिएन । जब चिनेँ ढिलो भइसकेको थियो । ऋण लिँदा एउटा शर्त तेस्र्याइएको थियो, रकमसँगै धितो राखेको घरजग्गा फिर्ता गर्ने । सोहीअनुसार झण्डै पाँच करोड पर्ने जग्गा धितो राखेर पैसा लिएँ । यो ७० साल असोज २२ गतेको कुरा हो । २ करोड थैली देखाएर रजिष्ट्रेसन पारित भयो । कात्तिक २१ मा धितो बन्धकीबापत १ करोड ५० लाख रुपैयाँको कागजात गराए । तर, बैंकबाट हात परेको पैसा ९७ लाख ३५ हजार मात्र हो । बाँकी रकममा समेत उनैले तर मारे । यो बीचको अवधि तनावमै गुज्रिएँ ।

मलाई आफ्नो घर जसरी पनि फिर्ता गर्नु थियो । अन्यन्त्रबाट जुटाएर उनको पैसा फिर्ता गरेँ । बीचमा पप्पुसँग घरजग्गा बन्धक फिर्ता गरिदिन पटक–पटक आग्रह गरें । तर, उनी उम्कँदै गए । छेउछाउमा देखिन छाडे । बोकिरहेको मोबाइल नम्बर नै परिवर्तन गरी सम्पर्कमा आउनै चाहेनन् । एउटा तनावबाट बल्ल के उत्रिएको थिएँ, फेरि अर्काे भीमकाय तनावले डस्न थाल्यो । त्यसको एक वर्ष पछाडि, हामी बसिरहेको घर किनिसकेको थिएँ । यो घर तत्काल खाली गर्नू भन्दै अर्जुनकुमार ठाकुर आए । ०७२ माघ २२ गते । पप्पुको ज्यादतीविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा विचाराधीन थियो । तिनले धम्क्याउँदैमा घर खाली गर्ने पक्षमा हामी थिएनौं । बीचमा तिनका अनेक धम्की आइरहे । मुद्दा सर्वाेच्चसम्म पुग्यो । २७ मंसिरमा सुनुवाइ हुँदा तेरो–मेरो हक बेहकको प्रश्न उठिरहेका बेला निवेदिकालाई बसोबास गरिरहेको घरजग्गाबाट निकाल्दा अपूरणीय क्षति हुने हुँदा अन्तिम टुंगो नलागेसम्म कुनै अवरोध नगर्नू÷नगराउनू भन्ने आदेश दिइएको थियो ।

तर, उक्त आदेशको खिलाफमा हुने गरी ललितपुर प्रहरी परिसर, नगर प्रहरी बल, सेक्युरिटी कम्पनीका गार्डले बलजफ्ती ताला लगाएर हाम्रो परिवारलाई घरबाट निकालियो । १ पुसमा २० जना प्रहरी आए परिवारमाथि हातपात गरे । अपांग पति रबिन राईलाई  कुटपिट गरी घाइते बनाइदिए । पटक–पटक लडाए, थेचारे । सार्वजनिक स्थलमा बेइज्जती गरे । सर्वाेच्चको आदेशको कुरा उठाउँदा हामी प्रहरी, गृहमन्त्रीले भनेको मान्ने हो । को हो सर्वाेच्च अदालत–सदालत जान्दैनौं भन्दै धरपकड गरे । गरगहना, रुपैयाँ पैसा रहेको दराजमा ताला लगाइदिए, भान्सामा पकाएर खान दिएनन् । दिसा–पिसाब गर्नसमेत जान पाइएन । घरको बाहिर गेटमा तीन जना प्रहरी र नागरिक सेक्युरिटी सर्भिस प्रालिबाट गणेश पाठक, खगेन्द्र बुढाथोकी गोपालप्रसाद विकको आदेशमा काजी बहादुर अधिकारी, केशव थापा, लक्ष्मी मगर खटिएका छन् ।

आज म आफ्नै घरभित्र बन्धक छु । सत्ता र शक्तिको आडमा गृहमन्त्रीको निर्देशनमा मेरो घरमा चौबिसै घण्टा प्रहरीका तीन जवानले पहरा दिइरहेका छन् । कसैसँग भेटघाट गर्नबाट वञ्चित पारिएको छु । मन लागेका बेला खान पाउँदिन, मन लागेको समयमा दिसा–पिसाब गर्नसक्ने अवस्था छैन । देशमा प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्र त आएको छ तर के यो देशमा हामीजस्ता कुनै दलविहीन नागरिकले बाँच्न नपाउने अवस्था आएको हो ? हिजोका वाइसिएलको शैलीमा आज मेरो घरजग्गामाथि गिद्धे नजर लगाएर पप्पुहरूले अत्याचार गरिरहेको विषयमा माननीय सांसद, नागरिक अधिकारकर्मी, मानवअधिकारवादीको समेत ध्यानकेन्द्रित हुन जरुरी छ ।
मणिकुमारी राई तामाङ, ललितपुर


प्रतिक्रिया दिनुहोस !