शंकैशंकाले लग्यो श्रीमान श्रीमतीकै ज्यान

शंकैशंकाले लग्यो श्रीमान श्रीमतीकै ज्यान

-शंकर श्रेष्ठ धादिङ,

भनिन्छ, श्रीमान श्रीमतीको झगडा ‘परालको आगो’ हो एकैछिनमा साम्य हुन्छ । तर, तीर्थबहादुर विक र भीममाया विक बीच त्यो कुरा लागु भएन । एकआपसमा पैदा भएको शंकैशंकामा हुने घरझगडाले सोमबार श्रीमान श्रीमतीले नै ज्यान गुमाउनुप¥यो । उनीहरुका कान्छो छोरा सरोज भन्छन्,‘सामान्य कुरामा पनि आमा बुवाको पटक–पटक विवाद भइरहन्थ्यो, यतिसम्म होला भन्ने सोचेका थिएनौं ।’

धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका तीर्थबहादुर र भीममायाको श्रीमान श्रीमतीबीच जवानी हुँदादेखि नै आपसमा शंकाको घेरा थियो । आफन्तहरुका अनुसार श्रीमानले श्रीमतिमाथी शंका गर्ने श्रीमतीले श्रीमानमाथी शंका गर्ने र बेला बेला झगडा परिरहन्थ्यो ।

सोमबार विहान पनि सामान्य विवाद भएको रहेछ, विवाद भएपछि घरबाट निस्किएका तीर्थबहादुर केहीबेरमा घर आए । र विहानको झगडा बिर्सिसकेको जसरी नै श्रीमतीलाई खेतमा काम गर्न जाउँ भने । औसीको भाग खुहाउन आएका भीममायाको दिदि (तीर्थबहादुरको जेठी सासु)को छोरी पनि घरमै थिए । त्यो छोरीलाई दिउसो खाना बनाएर राख हामी खेतमा गएर आउँछौं भनेर निस्किए ।

घरदेखि केही पर प्रदेशडाँडा भन्ने ठाउँमा पुगेपछि पछाडिबाट कोदालाको पासो श्रीमतीको टाउकोमा बजारे । एकैपटकमा भुइमा ढलेका श्रीमतीलाई पटक पटक टाउको र शरीरमा हानेर हत्या गरिसकेपछि आफुले पनि रुखमा डोरीको पासो लगाएर झुण्डिए । ‘एकछिनमै डिस्कस गर्ने एकछिनमै मिल्ने गरिरहन्थ्यो त्यसले गर्दा पनि हामीले यस्तो गर्ला भन्ने सोच्न सकेनौं’ कान्छो छोरा सरोज सुनाउँछन् ।

‘त्यो दिन बुवाले विहानै एक बोत्तल रक्सी खानुभएको रहेछ । डिस्कस भएको थियो । हामीले सम्झायौ र काममा निस्कियौं । अघिल्लो दिन पनि खेत गोडेर आउनुभएको थियो । त्यो दिन पनि खेतमै गएको होला भन्ने सोचियो’ सरोजले भने‘एक्कासी यस्तो घटना भएको खबर सुन्नुप¥यो ।’ ‘मेरो बुवा आमाको शंका गर्ने र जाँडरक्सी खाएर भनाभन गर्ने बानी हटाउन सकिएको भए सायद यो दिन आउने थिएन होला’ उनले थपे ।

सुसाइट नोट लेखेर मेरो पारिवारिक कारणले नै यस्तो निर्णय लिएको बताएका प्रहरीलाई उद्रित तीर्थबहादुरका साडु दाई सुन्दर विकलेले बताए ।

कस्तो थियो घटनास्थल ?

करिब ११ बजे । घरदेखि ७ सय मिटर पर । च्युरिटार जाने सडक छ । पल्लो गाउँका एकजना मोटरसाइकलमा त्यही बाटो झर्दै रहेछन् । बाटोमा एकजना लडिरहेको उनले देखे । नजिक पुगेर हेर्दा रगताम्य देखेपछि केहीबेर हच्किए । दायाँबायाँ हेर्दा सडक माथिपट्टी रुपमा अर्काे मान्छे झुण्डिरहेको देखे । नजिक गएर हेर्दा तीर्थबहादुर र भीममाया यकिन भयो ।

सडकमा लडिरहेका भीममाया थिए । रुखमा झुण्डिरहेका भीममायाका श्रीमान तीर्थबहादुर । भीममायाको टाउको र अनुहारमा पनि ठूल्ठूला चोट छ । तीर्थबहादुर श्रीमतीले नै ओड्ने सलको पासोमा झुण्डिएका छन् । तीर्थबहादुर झुण्डिएको रुखमा अर्काे पनि डोरीको पासो चुडिएको अवस्थामा छ जुन पासोमा तीर्थबहादुर पहिलो पटक झुण्डिदा चुडिएपछि फेरी श्रीमतीको सल लगेर झुण्डिएको जस्तो देखिन्छ ।

छोरीको सुसाइटपछि झनै चुलियो विवाद

तीर्थबहादुरको चार छोरा छन् । एक छोरी थिए । उनको परिवार काठमाडौमा डेरा गरी बस्थे । तीन वर्ष अघि १४ वर्षिय छोरीले झुण्डिएर आत्महत्या गरिन् । छोरी वितेको केहि समयपछि गाउँ फकिएका थिए । जब छोरीले आत्महत्या गरिन् त्यतिबेलादेखि तीर्थबहादुर र भीममायाबीच छोरीकै निउमा पनि झगडा भइरहन्थ्यो । एक जनाले तैले गर्दा छोरी वित्यो भन्ने अर्काेले तैले गर्दा छोरीले आत्महत्या गरिन् भन्ने विवाद सधैजसो भइरहन्थ्यो ।

भीममायाले डिप्रेसनको औषधि पनि खाइरहेकी थिइन् । तीर्थबहादुरले डेढ वर्ष अगाडि पनि विष खाएर आत्महत्याको प्रयास गरेका थिए । जाड रक्सी दुबैजनाले खान्थे । ‘रक्सी नखादा त बुवा सोझे हुनुहुन्थ्यो, रक्सी खाएपछि जहिल्यै भनाभन सुरु हन्थ्यो, हामीलाई त्यो सामान्य भइसकेको थियो’ जेठा छोरा मदनले भने ।

‘कहिले बहिनीको कुराले त कहिले अन्य कुराले बुवाआमाबीच भनाभन रइरहेकै हुन्थ्यो’ मदन भन्छन्,‘मेलापात जाँदा पनि बुवाले आमा माथी शंका गरेजस्तो गर्ने आमाले पनि बुवामाथी शंकाको दृष्टले हेरेजस्तो चाही झगडाबाट देखिन्थ्यो ।’

पूर्व योजना अनुसार नै सुसाइट नोट

श्रीमतीको हत्या गरेर आफुले पनि आत्महत्या गरेका तीर्थबहादुरको साथमा सुसाइट नोट पनि भेटिएको छ । ‘सुसाइट नोट हेर्दा श्रीमान श्रीमतीबीचको आपसी झगडाले नै घटना भएको बुझिन्छ’ घटनास्थल पुगेर फर्किएका इलाका प्रहरी कार्यालय गजुरीका डिएसपी युवराज खड्का भन्छन्,‘प्रारम्भिक अनुसन्धान र सुसाइट नोट हेर्दा श्रीमानले पूर्व प्लान बनाएर नै घटना गराएको प्रष्ट छ ।’

‘स्थानीयको भनाई र परिवारका सदस्यहरुसँगको कुराकानीमा पनि श्रीमान श्रीमतीबीच पहिलेदेखि नै शंका उपशंकाको विवाद देखिन्छ’ डिएसपी खड्काले भने ।

टिप्पणीहरू