एउटीको नाममा ढोकैमा पुगेर उल्कापात

एकाविहानै शेरबहादुर देउवाको घरमा म्यानपावरवालीको लफडा चल्यो । सोमबार दिउँसोको दोस्रो क्याबिनेट बैठकले चौध देशका लागि राजदूत सिफारिस गर्ने क्रममा पार्टी कोटामा परेकी म्यानपावर व्यवसायी आशा लामाको विषयलाई लिएर कांग्रेससम्बद्ध लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष प्रज्ञान न्यौपानेहरु हिजो बिहान देउवासँग पड्किएका हुन् । पेशागत संघका बहालवाला अध्यक्ष विमल ढकाल पनि सँगै थिए । प्रज्ञानको भनाइ थियो, ‘यो पार्टीको मान्छे नै होइन । कसरी कोटाबाट नियुक्ति भयो ? यदि यस्तै हो भने हामी पार्टी छाड्छौँ ।’ देउवाले जवाफ दिए, ‘बढी बोल्छौ ? छाड्ने भए छाड्नु नि त ! तिमीले छोडे अरु आउँछन् । मास बेस्ड पार्टीमा मान्छेहरु आउने–जाने भइरहन्छ ।’
त्यहाँ पुग्ने व्यवसायीमा तिलक रानाभाट, विष्णु गैरे, ज्ञानु गैरे, कुमुद खनाल, थिरमणि पौडेल, ऋषि शर्मा, नरेन्द्र ढकाल र वैदेशिक रोजगार प्रबद्र्धन बोर्डकी सदस्य सीता देवकोटा थिए । उनीहरुको दावी थियो, ती महिला एमाले हुन् । वैदेशिक रोजगार व्यवसायी संघमा एमालेका बलबहादुर तामाङले कांग्रेसका हंसराज वाग्लेलाई एक भोटले जितेको बेला उनी एमाले प्यानलमा परेर सर्वाधिक मतले जितेकी केन्द्रीय सदस्य हुन् । त्यसबेला निर्वाचनक्रममा कांग्रेसतर्फबाट खडा महासचिवका उम्मेदवार कमल तामाङसँग उनको निर्वाचनस्थलमै घम्साघम्सी परेको थियो । तर, आशाको नियुक्तिको भित्री कारण हो, उनी आरजु देउवाको सहयोगी हुनु ।

सम्बन्धित क्षेत्रका कार्यकर्ताले आपत्ति जनाइसकेपछि देउवाले तत्कालै परराष्ट्र मन्त्री प्रकाशशरण महत र आरजुको मन राख्न जनजाति कोटाबाट आशाको नाम सिफारिस गर्ने दोलखाका कांग्रेस नेता जिपछिरिङ लामालाई बोलाउन अह्राए । बोलाइएअनुसार डा. प्रकाशशरण पुगे, तर जिपछिरिङ देखा परेनन् । आशामाथि अवैध रुपमा असंख्य नेपाली युवतीलाई कुवेत, ओमनजस्ता प्रतिबन्धित मुलुक पठाएर मनग्य कमाएको आरोप छ । उनी दार्जिलिङमा जन्मिएकी, हुर्किएकी र नेपालीसँग विवाह गरेर अंगीकृत नागरिकता पाएकी महिला हुन् । ड्याफोडिल पब्लिक स्कुलका मालिक उत्तम लामाकी चेली पर्छिन् ।

कुनै समय त्यहाँ अध्यापनमा संलग्न थिइन् । दार्जिलिङको शिक्षा पाएको मान्छे, अंग्रेजीमा कमाण्ड त हुने नै भयो । तर, उनको व्यक्तिगत सम्बन्धका कथा यहाँ लेख्नलायकका छैनन् । व्यवसायी संघको चुनावमा प्रतिबद्ध एमाले भएका कारण हैन, जित्ने सम्भावना भएकाले मात्र उम्मेदवार बनाएको एमालेसम्बद्ध व्यवसायी संघका अध्यक्ष सरोज पोखरेलले बताए । देउवाकहाँ हिजो बिहान पुगेका कांग्रेससम्बद्ध व्यवसायीको माग थियो,  निर्णय फिर्ता लिनुप¥यो । देउवाले जवाफ दिए, ‘हिजो निर्णय भएको, आज कहाँ फिर्ता हुन्छ ?’ अरु देउवासँग चर्काचर्की गरिरहँदा संघका अध्यक्ष विमल ढकालले थामथुम पारेका थिए । हिजो जनआस्थाले सोध्दा भने, ‘सबै कुरा थाहा पाएर पनि मलाई किन सोध्नुहुन्छ ?’ विदेश गएर देशको इज्जत धान्नुपर्ने मानिस त्यसलायकको हुनुपर्छ भनेर साथीहरुले आफ्नो गुनासो राखेको उनले स्वीकारे । ‘वाद–विचार जो–कसैको जे पनि हुनसक्छ । त्यसमा मेरो कुनै आपत्ति होइन’, उनले भने ।

सोमबार सिफारिस भएका राजदूतमध्ये राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष जगदीशचन्द्र पोखरेल कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल सिफारिसका हुन् भने महामन्त्री शशांक कोइरालाले पूर्वसहसचिव, जेनेभामा पूर्वराजदूत तथा सुशील कोइराला प्रधानमन्त्री छँदाका वैदेशिक मामिला सल्लाहकार दिनेश भट्टराईको नाम सिफारिस गरेका थिए । तर ती दुवैले यसचोटि अवसर पाएनन् ।

टिप्पणीहरू