दिल्लीबाट नआएसम्म आ–आफैँ दंग

स्थानीय निर्वाचनको मिति घोषणा भएको अवस्थामा मधेसी मोर्चाले अब चाल्ने भूमिका के हुन्छ ? बुझ्न दिल्लीबाट उपेन्द्र यादव नफर्किञ्जेलसम्म पर्खनुपर्ने भएको छ ।

भावी आन्दोलन कसरी सशक्त बनाउने भन्ने विषयमा मंगलबार दिउँसो एक बजेदेखि शुरु भई तीन बजेसम्म चलेको मोर्चाको बैठक विनानिश्कर्ष टुंगिएको छ । बुहारीको स्वास्थ्योपचारको नाममा स्थानीय निकायको निर्वाचन घोषणा हुनु अघिल्लो दिन यादव दिल्ली उडेका थिए । बैठकमा सद्भावना अध्यक्ष राजेन्द्र महतोसमेत उपस्थित रहेनन् । उनी विवाहमा जानु छ भन्दै तर्किएको बताइन्छ ।

उक्त बैठकमा हृदयेश त्रिपाठी, महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, अशोक राई, राजकिशोर यादव, केशव झालगायत मधेसी नेताको मात्र उपस्थिति रह्यो । बैठक उपेन्द्र फर्किएसम्मका लागि पर्खने निर्णय गर्दै सकिएको छ । मंगलबार तीन बजेका लागि प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएका थिए । दिउँसो तीन बजेका लागि बोलाइएको उक्त बैठक मधेसी पार्टीका साथै रुक्मिणी चौधरी, हाल नयाँ शक्ति अभियानतिर लागेकी गंगा थारू, गोपाल दहित, हरिचरण साहहरूले बहिष्कार गरेका छन् । उक्त बैठकमा प्रधानमन्त्रीले अब कुनै किन्तु परन्तु नहेरी स्थानीय तहको निर्वाचन जसरी पनि सफल पार्ने बताए । उनको आग्रह थियो, ‘संविधान संशोधन विधेयकलाई प्रक्रियामा लैजाऊँ ।’

तर एमालेले उपयुक्त समयमा आवश्यकता र औचित्य हेरी संविधान संशोधन गर्न सकिने पक्षमा आफूहरु रहेको तर अहिले यसनिम्ति सही बेला नभएकोले चुनावतिरै अर्जुनदृष्टि लगाउनुपर्नेमा जोड दिए । अध्यक्ष केपी ओलीले भने– बरु तीनवटै तहको निर्वाचनको निम्ति क्षेत्र निर्धारण आयोग गठन गरौं, निर्वाचनसम्बन्धी विधेयकहरु दर्ता गरेर प्रक्रिया अघि बढाऔं ।’

टिप्पणीहरू