कोरोना खोपको मूल्य : फाइजरले बढायो,मोडर्नाले घटायो

कोरोना खोपको मूल्य : फाइजरले बढायो,मोडर्नाले घटायो

अमेरिकी कम्पनी फाइजर इंक र मोडर्नाले आफूले उत्पादन गरेको खोपको मूल्यमा तलमाथि गरेका छन् । उनीहरुले युरोपेली संघको आपूर्ति सम्झौतासँगै मूल्य घटबढ गरेका हुन् । द फाइनान्सियल टाइम्सले त्यसबारे औपचारिक स्रोतलाई उल्लेख गर्दै उक्त जानकारी प्रकाशित गरेको हो ।

फाइजर कम्पनीको खोप एक सटका लागि नयाँ मूल्य १९.५० युरो अर्थात् झण्डै २ हजार ८ सय रुपैयाँ तोकिएको छ । पहिले यसको मूल्य १५.५० युरो अर्थात झण्डै २ हजार २ सय थियो । तर मोडर्नाको मूल्य भने पहिलेको तुलनामा केही घटेको बताइन्छ ।

पहिले उक्त खोप एक डोजको २८.५० डलर अर्थात् करिब ३ हजार ४ सय रुपैयाँ रहेको थियो । अहिले खोपको माग बढेसँगै मूल्य झरेर करिब २५.५० डलर करिब ३ हजार रुपैयाँ कायम भएको बताइएको छ ।

फाइजर कम्पनीले भने सम्झौताको गोपनीयतालाई ध्यानमा राखेर युरोपेली युनियनसँगको सम्झौताबारे कुनै पनि टिप्पणीको निम्ति अस्वीकार गरेको छ । मोडर्नाले पनि औपचारिक रुपमा हालसम्म केहि पनि बताएको छैन ।

युरोपेली युनियनले आगामी सेप्टेम्बरसम्म वयस्क जनसंख्याको कम्तिमा पनि ७० प्रतिशतलाई खोप लगाउने लक्ष्य राखेको छ । गएको मे महिनामा उसले सेप्टेम्बरको अन्त्यसम्ममा चारवटा औषधि निर्माताहरुबाट एक अर्बभन्दा बढी खोप प्राप्त गर्ने अपेक्षा राखेको बताएको थियो ।

टिप्पणीहरू