सडकमै ‘जयनेपाल’माझ सत्तोसराप

नेपाली कांग्रेस सिन्धुपाल्चोकभित्र छताछुल्ल भएको छ । प्रजातन्त्र दिवसको अवसरमा खाडीचौरमा आयोजित आमसभामा जिल्ला नेता–कार्यकर्ताबीच आरोप–प्रत्यारोपमा उत्रिए ।

नयाँ नेतृत्व आएसँगै एकपटक पनि बैठक बस्न नसकेको भन्दै एक पक्षले जिल्ला सभापति विकास लामालाई प्रहार गरे । सांसद एवं केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले ‘खैराँत’ छैन भन्दै सभापति लामालाई सबैको नेता बन्न सुझावसम्म दिए । ‘मिलाएर नलगे तपार्इंको खैराँत छैन नि सभापतिज्यू !’ बस्नेतले भने, ‘मिलाएर जान नसके तपाईं केको सभापति ?’ २ नम्बर क्षत्रीय सभापति टंक कार्कीले अहिलेको नेतृत्वलाई ‘अक्षम’ को संज्ञा दिए । ‘केही समयअघि दुई नम्बरमा हामीले कार्यक्रम ग¥यौं, अहिले यहाँ भइरहेको छ’, क्षेत्रीय सभापति कार्कीले भने, ‘तर जिल्ला कार्यसमितिले कुनै पनि कार्यक्रम आयोजना गर्न सकेन, भूकम्पपीडित कार्यकर्तामाझ पुग्नसम्म सकेको देखिएन ।’

विकास लामाले सभापति शेरबहादुर देउवालाई सिन्धु कांग्रेसमा मनमुटाव र खटपटको अवस्था रहेको सुनाए । पक्षका केही नेतालाई मञ्चमा आसन ग्रहणसम्म नगराएको भन्दै उनले आयोजकलाई प्रश्न गरेका थिए । मोहनबहादुर बस्नेतको आडमा केही नेता–कार्यकर्ताले ‘ठूला’ कुरा गरिरहेको भन्दै उनले त्यसो नगर्न चेतावनी पनि दिए । ‘सभापतिज्यू, हामीबीच मनमुटाव छ, खटपट छ तर बोलचाल बन्दै भएको चाहिँ छैन’, लामाले भने, ‘कोही–कसैको आड लिएर ठूला कुरा नगरे हुन्छ ।’ कांग्रेस नेता हरिशरण श्रेष्ठले पनि अहिलेको जिल्ला कार्यसमितिले केही गर्न नसकेको आरोप लगाए । कांग्रेस १ र २ मा बस्नेत पक्षधरले क्षेत्रीय सभापतिमा जितेको छ भने जिल्लामा उनीइतर पक्षले ।

‘हामीलाई निम्तै दिइएन, पार्टी सभापति आउने भएकाले मात्रै आएका हौं,’ कांग्रेसका एक जिल्ला नेताले भने । खाडीचौरको सभालाई काउन्टर दिन ७ चैतमा पार्टीनेता रामचन्द्र पौडेललाई सहभागी गराएर मेलम्चीमा आमसभा गर्ने पौडेल पक्षधरको तयारी छ । केन्द्रीय सदस्य बस्नेतले भने जिल्ला सभापतिसहित पौडेल पक्षधर नेतालाई ‘टुरिस्ट’ नेताको संज्ञा दिए । ‘अरूले खर्च गरेर ठिक्क पारेको मञ्चमा जसले पनि भाषण गर्छ नि ! आफंैले मञ्च तयार पारी खर्च गरेर भाषण गर्नुप¥यो नि !’ उनको भनाइ थियो ।

टिप्पणीहरू