कर्णालीमा आयुर्वेदलाई मान्ने त कति कति

कर्णालीमा आयुर्वेदलाई मान्ने त कति कति

कर्णाली प्रदेशमा पछिल्लो तीन बर्ष बर्षयता आयुर्वेदिक पध्दतिबाट उपचार गराउनेको संख्या तीन गुणाले बढेको छ । केही बर्ष अघिसम्म दैनिक मुस्किलले एक दर्जन भन्दा कम बिरामी आउने प्रदेश आयुर्वेद औषधालयमा अहिले भीड् लाग्ने गरेको छ ।

गत आर्थिक वर्षमात्रै औषधालयबाट झण्डै ३५ हजार जनाले सेवा लिएको बताइएको छ । गत वर्ष २९ हजार ७ सय ३७ जनाले ओपिडी सेवा लिएका छन् भने पाँच सय ४६ जनाले अन्य सेवा लिएको औषधालयको तथाङ्कमा उल्लेख छ ।
आर्थिक वर्ष ०७५।७६ मा २२ हजार बढिले सेवा लिएको औषधालयबाट ०७६।७७ मा २८ हजार ३ सय ५५ जनाले सेवा लिएका थिए।

यस्तै,अहिले स्टिमबाथ,पायल्स पीडितलाई क्षारसूत्र विधिबाट उपचार,ल्याब र भिडियो एक्सरे सेवा थप गरेपछि सेवाग्राहीको संख्या बढेको औषधालयका प्रमुख डा.शंकर रिजालले बताएका छन् । रिजालले सेवा विस्तार भएसँगै अहिले औषधालयको आम्दानी समेत बृध्दि भएको भन्दै सेवा विस्तारको काम जारी रहेको बताएका हुन् ।

डा.रिजालले सेवाग्राहीलाई सहज रुपमा उपचारपछि औषधालयमा उपलव्ध नहुने औषधीहरु कार्यालय परिसरबाटै उपलव्ध गराउन आयुर्वेद फार्मेसीको व्यवस्था गर्न लागेको बताउँदै औषधालय व्यवस्थापन समितिको अध्यक्षमा विनोद ढकालले विगत दुई बर्षमा औषधालयमा उल्लेखनीय काम गरेको बताएका हुन् ।

आफ्नो दुईवर्षे कार्यकाल सकिएसंँगै पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ढकालले छोटो अवधिमा पनि सन्तोषजनक काम गर्न सफल भएको बताए । आफू व्यवस्थापन समितिको अध्यक्ष भएपछि प्रदेशका सबै जिल्लामा आपूर्ति हुनेगरी विभिन्न ९ थरि औषधी वितरण गरिएको उनको दावी छ ।

अध्यक्ष ढकालले कोरोना महामारीमा कोभिड आइसोलेसन अस्पताल निर्माण,कोरोना संक्रमितलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन औषधीको व्यवस्थापन लगायतका सेवा प्रदान गरिएको समेत बताउँदै अब आउने व्यवस्थापन टिमले औषधालयप्रति नागरिकहरुको विश्वास कायम राख्न उपचार पध्दतिलाई समयानुकूल बनाउन र सुविधा सम्पन्न अस्पतालको रुपमा विकास गर्न जरुरी रहेको उल्लेख गरेका हुन् ।

हाल औषधालय परिसरमा १८ करोड ३२ लाखमा १५ शैयाको अस्पताल र तीन करोड ३३ लाखमा औषधी निर्माण प्रयोगशाला भवनको काम जारी रहेको र पछिल्ला तीन वर्षमा औषधालयले ४८ लाख ८४ हजार आम्दानी समेत गर्न सफल भएको ढकालको भनाई छ ।

टिप्पणीहरू