आज पत्ता लागेका अनेक अपराध

आज पत्ता लागेका अनेक अपराध

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बूढानिलकण्ठ नगरपालिका-३ पन्चकन्या मार्ग बस्ने ६२ वर्षीय ठाकुरप्रताप थापा आज समातिएका हुन् ।

उच्च अदालत पाटनको २०७६ भदौ ३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३९ लाख ९६ हजार ४ सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका थापालाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जबाट खटिएका प्रहरीले काठमाडौं चक्रपथबाट समातेको बताइन्छ ।

थापाले आफ्नो खातामा पर्याप्त रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारेर देव विकास बैंकको चेक काटेका थिए ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको व्यूरोले जनाएको छ ।

उता

नियन्त्रित लागूऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट रुपन्देही सैनामैना नगरपालिका-७ घर भएका २० वर्षीय कृष्णप्रसाद घिमिरेलाई २ सय ३ ट्याब्लेट नाईट्राभेट सहित आज बिहान पक्राउ गरिएको हो ।

कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख १३९ नम्बरको बसलाई नागढुङ्गास्थित चेक प्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई झोलाभित्र लुकाई ल्याएको उक्त लागूऔषधसहित फेला पारिएको थियो ।

यसैवीच सुमोको ठक्करबाट महोत्तरीमा मोटरसाइकल चालकको मृत्यु भएको छ । गणेशमान चारनाथ नगरपालिका-४ बस्ने २३ वर्षीय धिर बस्नेतको आज बिहान मृत्यु भएको हो ।

बर्दिबास नगरपालिका-४ बिश्वकर्मा चोकमा बस्नेत सवार बा.९२ प ३२०६ नम्बरको मोटरसाइकललाई बा.१८ च ३६८५ नम्बरको सुमोले ठक्कर दिएको र सोही मोटरसाइकललाई पुन: प्रदेश १-०४-००१ च ०२७९ नम्बरको बलेरोले ठक्कर दिएपछि गम्भीर घाइते भएका उनको शुभ-स्वस्तिक अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो ।

टिप्पणीहरू