यो न हो मज्जाले कमाउने काइदा

एक अध्ययनअनुसार नेपालमा बर्सेनि ९० अर्ब रूपैयाँ कालो धनको रूपमा कमाइ हुने गरेको छ । यो कमाइ कुनै न कुनै रूपमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका उच्चपदस्थको संलग्नता र संरक्षणमा हुने गरेको हो । यहाँ उल्लेख गर्न लागिएको वार्षिक ३ अर्बभन्दा बढीको अवैध कमाइ चोख्याउनुपर्ने, कालोधन नहुन पनि सक्छ । वैदेशिक दलाल, ट्राभल एजेन्सी, एअरलाइन्स, सुरक्षाकर्मी र सरकारी अधिकारीको मिलेमतोमा अवैध रूपले कामदार उडाएर जोडिने सम्पत्ति हो यो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक एक सयदेखि डेढ सयसम्म नेपालीलाई टुरिष्ट वा ट्राभल भीसामा पठाइन्छ । यिनीहरू प्रत्येकबाट एकदेखि डेढ लाखसम्म रकम असुलिन्छ । उडानलाई बैधता दिन यिनीहरूसँग जाने÷आउने (राउण्ड ट्रिप) टिकट, होटल बुकिङ, पासपोर्टमा १ हजार डलर साटिएको बंैकको छाप वा एक हजार डलर हुनुपर्छ । यीमध्ये आऊजाऊ टिकट, होटल बुकिङ र एक हजार डलर सबै नक्कली हुने गर्छ । जाने टिकट सक्कली हुन्छ र फर्कने टिकटको चिर्कटो नक्कली बनाइन्छ । फर्कंदा ट्राभल एजेन्सीले दिएका स्ट्याण्डबाई टिकटलाई आधार बनाएर सम्बन्धित एअरलाइन्सले बोर्डिङ पास उपलब्ध गराउँछ ।

सरकारी प्रावधानबमोजिम आऊजाऊ टिकट नभई टुरिष्ट वा ट्राभल भीसामा उड्न दिनै नपाइने हो । तर, मिलेमतोमा एअर अरेबिया र फ्लाई दुबईलगायत नेपालबाट सीधै जान सकिने वायुसेवा कम्पनीले दुईतर्फी टिकट नभए पनि बोर्डिङ पास उपलब्ध गराउँछन् । ट्राभल एजेन्सी, एअरलाइन्स, सुरक्षाकर्मी र अध्यागमनका कर्मचारीको मिलेमतोमा प्रायः  साँझको उडानबाट कामदार पठाइन्छ । पहिले नै सेटिङ मिलाइसकिएका र पर्यटकको रूपमा उड्न लागेका कामदारलाई एअरलाइन्सका कर्मचारीले बेग्लै कुनामा राखी एकैपटक पंक्तिबद्ध बनाएर पहिल्यै प्राप्त नाम रुजु गर्दै बोर्डिङ पास उपलब्ध गराउँछन् ।

दुईतर्फी टिकटविनै बोर्डिङ पास उपलब्ध गराएबापत एअरलाइन्सका कर्मचारीले प्रतिव्यक्ति ३ देखि ५ हजारसम्म लिन्छन् । बोर्डिङ पास लिएपछि अध्यागमनमा पहिले नै नाम प्राप्त भइसकेकाले धमाधम छाप लगाइन्छ । अध्यागमनमा सुब्बास्तरका कर्मचारी हुँदा प्रतिव्यक्ति ५ हजारमा छाप लगाइने गरेको भए पनि अहिले अधिकृत तहका रहने भएकाले फर्जी कागजात भएका कामदारलाई उडान स्वीकृति दिँदा १० देखि १५ हजार लिइन्छ । अध्यागमनका कर्मचारीले लिने यो सय जनाको रकम १० हजारका दरले मात्र हिसाब गर्ने हो भने पनि दैनिक १० लाख हुने गरेको छ । अध्यागमन एअरपोर्टका एक कर्मचारी टुरिस्टका रूपमा विदेशिने कामदार दैनिक सयदेखि डेढ सयसम्म हुने बताउँछन् ।

अध्यागमनको जाँच पास गर्न मात्र ट्राभल एजेन्सीले कामदारलाई नगद एक हजार डलर दिएको हुन्छ । उडानका लागि प्रतीक्षा कक्षमा बसिरहेका बेला शौचालयमा गएर वा बाहिरै पनि हजार डलर फिर्ता लिइन्छ । कामदारसँग डलर फिर्ता लिन यसअघि नेपाल वायुसेवा निगमका भरिया प्रयोग गरिन्थे । तर, दुई महिनाअघि प्रहरीले छापा मारी भरियाबाट कामदारसँग फिर्ता लिएका हजारौं डलर पक्रिएपछि अहिले यो काम सम्बन्धित एअरलाइन्सकै कर्मचारीले गर्दै आएका छन् । डेढ महिनाअघि एअर अरेबियाका एक कर्मचारी पनि यस्तै डलरसहित समातिएका थिए । ट्राभल एजेन्सीले कामदारसँग एकदेखि डेढ लाख लिई सबै सेटिङ मिलाउने भएकाले रकमको खटनपटन उसैले गर्छ । एअर अरेबिया वा फ्लाई दुबईबाट एकतर्फी उडानको टिकट १२ देखि १५ हजारसम्म मात्र पर्छ । सुरक्षाकर्मी, एअरलाइन्स र अध्यागमनलाई समेत खुवाउँदा पनि बढीमा ५० हजार मात्र खर्च हुन्छ । बाँकी रकम सबै ट्राभल एजेन्सीले आफ्नो बनाउँछ ।

यस्ता गैकानुनी धन्दा चलाएर अकुत कमाउने ट्राभल एजेन्सी एअरपोर्ट, पुरानो बसपार्क, नक्साल र सिनामंगलमा छन् । वैध रूपले बिदेसिन वैदेशिक रोजगार दलाल, मेनपावर कम्पनी र वैदेशिक रोजगार विभागमा झेल्नुपर्ने अनगिन्ती झन्झटबाट मुक्त भई एकै जनालाई डेढ लाखसम्म दिए हुने भएपछि कामदार यता लागेको अध्यागमनकै एक उपसचिव बताउँछन् । दैनिक सयका हिसाबले वर्षमा तीन सय दिन मात्र यस्ता कामदार उडाउँदा जम्मा ३ अर्ब रुपैयाँ कारोबार हुन्छ । यसरी कमाइने रकम कालोधनका रूपमा नरहने र सहजै वैध कमाइकै रूपमा कारोबार हुने गरेको छ । यसरी बाँडीचुँडी कमाइएको रकमबाट अध्यागमनका कर्मचारीले एउटा घडेरी जोड्दा वा ट्राभल एजेन्सी सञ्चालकले महँगो गाडी खरिद गर्दा अस्वाभाविकसमेत नहुने र सजिलै सेतो धनको रूपमा मान्यता पाउने श्रोतको  भनाइ छ ।

टिप्पणीहरू