खुट्टामा बन्चरो हान्ने नै हो सुर !

सेनाले निजामतीलाई पनि आफ्नै अस्पतालमा उपचार सेवा उपलब्ध गराउने भन्ने बुझियो । सेनाले दैवी–प्रकोप, भूकम्प, बाढी, महामारीलगायत जनतालाई अप्ठ्यारो परेका बेला कसैको आदेश नपर्खी सबैभन्दा अगाडि पुगेर सेवा प्रदान गर्दै आएको सर्वविदितै छ ।

दुर्घटनामा परेका व्यक्तिदेखि इमर्जेन्सीलगायत आवश्यकता हेरी स्वास्थ्य शिविर खडा गरी उपचारमा आउनेलाई सेवा गरेकै छ । सैनिक अस्पताल छाउनीमा अपरेसन, अल्ट्रासाउण्ड गर्न बिरामीले २÷३ महिना कुर्नुपर्छ । ओपिडीमा बिरामीको अत्यधिक चाप छ । भर्ना भएका बिरामी हेरेर डाक्टर १२ बजेपछि मात्र ओपिडीमा आइपुगेको पनि देखियो । अत्यधिक चाप हुने मेडिकल ओपिडीमा २/३ जना डाक्टर बसे पनि तिनले लगातार १ बजेसम्म बिरामी जाँच्दा एकछिन ब्रेक नपाएको पनि देखियो । लगातार काम गर्दा थकावटका कारण उनीहरूले कसरी आफ्नो कार्यकुशलताको सही प्रयोग गर्न सक्छन् ? डाक्टरको कमी र भूपू र परिवारको चाप धान्न यस्तो धौ–धौ परेको बेला निजामती बिरामीको ओइरो लागेपछि हाल भएका डाक्टरको के हालत हुन्छ ? बिहान ८ बजेदेखि उपचारमा आएर ३ बजे दबाई झिकी घर फर्कन्छन् बिरामी ।

यो विषय सम्बन्धित विभागका इञ्चार्ज, अस्पतालको सिओले राम्रोसँग होमवर्क गरेको देखिएन या माथिल्लो निकायलाई राम्रोसँग पुष्ट्याइँ दिन सकिएन । अहिले नै बाहिरका अन्य बिरामीलाई पनि उपचार शुरु गरिएमा आफ्नो खुट्टामा आफंैले बन्चरो हान्नुजस्तो मात्र हुन्छ । भवन थप गरेर, डाक्टरको दरबन्दी बढाएर प्रत्येक विभागका ओपिडीमा ३÷४ वटा युनिट सञ्चालन गर्न थालेपछि सीमित कोटामा सिभिल व्यक्तिलाई उपचार सहुलियत दिनु उचित हुनेछ । निजामतीको आफ्नो छुट्टै अस्पताल छ । सरकारी अस्पतालको संख्या बढाएर डाक्टर, प्राविधिक तथा इक्विपमेन्ट दुर्गम पहाडसम्म पु¥याउन सके निजामती बिरामीको चाप धेरै हदसम्म घट्न सक्थ्यो । मनशाय राम्रो भएर सरकारलाई सहयोग गर्न खोजेको हो भने कमसेकम आन्तरिक व्यवस्थापनमा स्तरीय सुधार गर्दै महांकालमा निर्माणाधीन भेट्रान अस्पताल निर्माण भइसकेपछि त्यसमा केही कोटा सिभिल जनतालाई उपलब्ध गराए हुन्न र सेनापतिज्यू ?

– पूर्ण ओली, चाबहिल सरस्वतीनगर, काठमाडौं

टिप्पणीहरू