प्रेम न हो, कहिले मीठो– कहिले पीडापूर्ण

  • राजेन्द्र स्थापित

झुकी झुकी सि नजर बेकरार है कि नहीं
दबादबा सा सही दिलमें प्यार है कि नहीं !
तु अपने दिलकी जवाँ धड्कनोंको गीन के बता
मेरा तरह तेरा दिल बेकरार है कि नहीं !
वो पलके जिसमें मोहब्बत जवान होती है
उस एक पलका तुझे इन्तजार है कि नहीं !
तेरी उम्मीदपे ठुकरा रहा हुँ दुनियाँको
तुझे भी अपने पे ये ऐतवार है कि नहींं… !

हिन्दी चलचित्र ‘अर्थ’ को यो गीत अभिनेत्री शवाना आजमीका पिता कवि कैफी आजमीले लेखेका हुन् । सन् १९८२ मा प्रदर्शित उक्त चलचित्रको यो गीत गजल सम्राट जगजित सिंहले गाएका थिए । गजल प्रेमी, संसारको जुनसुकै भूभागमा बसेको होस्, उसले जगजितको गीत सुनेकै हुन्छ । मखमली आवाजका धनी उनले मेहदी हसन, बेगम अख्तर, तलत महमुदजस्ता गजल गायकको परम्परालाई अघि बढाएका थिए । दर्जनौं फिल्ममा गीत गाए । सयभन्दा बढी गीति एल्बम निकाले । राजस्थानको बिकानेरमा जन्मेका उनी जालन्धरको डिएभी कलेजमा पढ्थे । मोहम्मद रफीको गीत ‘डिटो’ गाउँथे । साथीहरुलाई मनोरञ्जन गराउँथे । कलेज बस्तीबाहिर थियो । सडकपारि छात्रावास । दुईतले भए पनि कोठा थुप्रै थिए । उत्कृष्ट विद्यार्थीले सबैभन्दा राम्रो कोठा पाउँथे । नराम्रोका लागि पनि तीन श्रेणी थियो, पहिलो दिनभरि होहल्ला भैराख्ने भ¥याङछेउको कोठा, दोस्रो बिहान हल्ला र दिनभरि गन्ध फैलिएको शौचालय नजिक र तेस्रो सिंगल रुम । जगजित पढाइमा अब्बल थिएनन् तर पनि प्रिन्सिपल सुरजभानको प्रिय भएकाले सिंगल रुममा बस्थे । पाँच बजे उठेर रियाज गर्थे । रियाज दुई घण्टा चल्थ्यो । त्यो बेला नजिकको कोठामा बसेका छात्रहरु कानमा कोच्न कपास खोजेरै हैरान हुन्थे । कहिलेकाहीं राति पनि अलाप लिन्थे । ‘हामीलाई पढ्न दे’ भनेर अरु कराउँथे । मध्याह्न सुरजभान खाना खान जान्थे । त्यसबेला जगजित ‘राजा’ बन्थे । साथीहरुलाई गीत, गजल सुनाएर भुलाउँथे । परीक्षामा त गीत, गजल लेखेर काम चल्दैनथ्यो । सधैं ‘चिट’ चोर्थे । एकपटक समातिए पनि । अर्को कोठामा एक्लै राखेर लेख्न लगाइयो । मद्दतका लागि प्रिन्सिपललाई गुहारे । सुरज भानले भने, ‘ढुक्क भएर लेख, म छु ।’

जगजितको बाल्यकालको नाउँ थियो– जगमोहन सिंह । परिवारमा चार दाजुभाइ र दुई दिदीबहिनी । परिवारको आर्थिक स्थिति नराम्रो । बाबु अमरसिंह धवन सरकारी कर्मचारी । जगजित इञ्जिनियर बनुन् भन्ने चाहन्थे । आमा बच्चन कौर गृहिणी मात्र थिइन् । पछि जगजितले हरियाणाको कुरुक्षेत्र विश्वविद्यालयबाट हिन्दीमा स्नातकोत्तर उत्तीर्ण गरे । पण्डित जगनलाल शर्माबाट शास्त्रीय संगीत सिके । जमाल खानबाट खयाली, ठुमरी र धु्रपद । आफैं गीत लेखेर संगीत भर्न थाले । २० वर्षको उमेरमा अलइण्डिया रेडियोको जालन्धर स्टेशनका लागि संगीत तयार गर्न थाले । त्यसबेला साइकल चढेर अफिस जान्थे । बाटोमा पर्ने एउटा घरकी युवती साहै्र मन प¥यो । दिनहुँ युवतीको घरअगाडि पुगेपछि साइकलको हावा फुस्केको वा चेन चुँडेको बहाना बनाउँथे । हावा भर्ने र चेन मर्मत गर्ने बहानामा युवतीसँग आँखा जुधाई बस्थे । पछि मोटरसाइकल चढ्न थाले तर पनि त्यस ठाउँमा एकछिन रोकिएर युवतीलाई हेर्न छाडेनन् । यद्यपि प्रेम प्रस्ताव राख्न त के बोल्नसमेत हिम्मत गरेनन् । उनीमा गायक बन्ने धुन सवार थियो, जुन सपना जालन्धरमा बसेर पूरा हुन्नथ्यो । त्यसैले सन् १९६५ मा परिवारलाई केही नभनीकनै मुम्बईतर्फ भागे । शुरुका दिनमा ठूलो हण्डर खाए । पेइङ गेष्ट बनेका थिए । खर्च धान्न विज्ञापनमा ‘जिंगल्स’ र बिहे समारोहमा गीत–गजल गाउन थाले ।

दक्षिण–मुम्बईको बहरिस्तानमा बंगाली देबुप्रसाद दत्ता पत्नी चित्रा र छोरी मोनासँग बस्थे । देबु ब्रिटानिया बिस्कुट कम्पनीका ठूलै पोष्टमा थिए । फ्ल्याट कम्पनीले नै दिएको थियो । साउण्ड रेकर्डिङमा ठूलो अभिरुचि । नयाँ–नयाँ प्रविधि जान्ने शोख । पछि रेकर्डिङ कम्पनी खोले । सँगै गुजराती परिवार बसेको थियो । बच्चा नभएपछि धर्मपुत्र लिए । धाइ बच्चालाई लिएर बरण्डामा आउँथिन् । चित्रा पनि उनैसँग खेल्थिन् । एकदिन बच्चा रोएको रोयै ग¥यो । चित्राको ढोकानिर पुग्दा बच्चा रुन छाड्यो । चित्राको त्यो परिवारसँग मित्रता भयो ।

एकदिन चित्रा सधैंजसरी बरण्डामा उभिएकी थिइन् । अगाडिबाट एउटा युवक आइरहेको देखिन् । युवकले सेतो पाइन्ट लगाएका थिए । पाइन्ट यति कस्सिएको थियो कि अप्ठेरो मानेर हिँड्दै थिए । यो दृश्य देखेर चित्राले हाँसो रोक्न सकिनन् । युवक लजाउँदै गुजरातीको फ्ल्याटमा पसे । एकछिनपछि त्यताबाट गीतको अभ्यास गरेको आवाज आउन थाल्यो, ‘आज फिर उनका सामना होगा, क्या पता उसके वाद क्या होगा ! आस्माँ रो रहा है दो दिनसे, आपने कुछ कहा सुना होगा, दो कदमपर सही तेरा कूचा (दुई घरबीचको साँघुरो गल्ली), ये भी सदियोंका फासला होगा ।’ छिमेकीको गुजराती परिवारमा प्रायः यस्तो सांगीतिक अभ्यास भइरहन्थ्यो, त्यसैले चित्राले यसलाई नौलो ठानिनन् । एकछिनपछि बरण्डामा उही सेतो पाइन्टवाला युवक देखाप¥यो । चुरोट तान्यो र गयो । साँझ चित्रा गुजरातीकोमा पसिन् । छिमेकीले युवकको गायकीको तारिफ गरे । पञ्जाबको मिठास भने । चित्राले सोधिन्, ‘सरदार हुन् ?’ जवाफ आयो, ‘हो, दाह्रीजुंगा काटेका सरदार ।’

छिमेकीले कुरा गर्दागर्दै गीतको रेकर्ड बजाए । चित्राले एकछिनपछि भनिन्, ‘छि, यस्तो पनि गायक हुन्छ ? गजल त तलत महमुदको जस्तो हुनुपर्छ ।’

यसबीच देबुको पदोन्नति भयो । गुलिस्तानमा रहन थाले । त्यहाँ दैनिक रेकर्डिङको काम हुन्थ्यो । एकदिन संगीतकार वैद्यनाथको गायक आइदिएन । उनले चित्रालाई गाउन आग्रह गरे । चित्रा अलमलमा परिन् र भनिन्, ‘म वर्षौंपहिला दुर्गापूजामा गाउँथें, त्यसपछि दुई–चारवटा गीत रेडियोमा पनि गाइदिएँ । अहिले त सक्दिनँ ।’ वैद्यनाथले धेरै जिद्दी गरेपछि गाइदिइन् । लगातार गाउँदै गइन् र ‘जिंगल क्विन’ बनिन् । एकदिन रेकर्डिङ थियो । स्टुडियो महिन्दरजित सिंहले ‘बुक’ गरेका थिए । नयाँ गायक–गायिकाको एल्बम निकाल्नु थियो । चित्राले गायनको साथै उद्घोषण गर्न थालेकी थिइन् । ढोकाको घण्टी बज्यो । ढोकाबाहिर एकजना युवक भित्तामा टाउको अडेस लगाएर निदाइरहेका थिए । चित्राले केही सोध्न नपाउँदै महिन्दरले खुशी हुँदै भने, ‘ए, तिमी पो ! आऊ भित्र आऊ ।’ युवक भित्र पस्नेबित्तिकै फेरि उँघ्न थाले । केही क्षणपछि उनको पालो आयो । उठेर हार्मोनियम बजाउँदै गाउन थाले । रियाज नरुकेपछि महिन्दरले भने, ‘पहिला यसले एकल गाउँछ अनि चित्रासँग युगल ।’ त्यतिञ्जेलसम्ममा चित्राले युवकलाई चिनिसकेकी थिइन् । उनै सेतो पाइन्टवालाको रुपमा । भनिन्, ‘म ऊसित गाउँदिन । मेरो पातलो र उच्च तीक्ष्ण स्वर अनि उसको धोक्रो ।’ युवकले चित्रालाई नियालेर हेर्दै भने, ‘तपाईंले गाउनु किन प¥यो त ?’ चित्रा रिसाइन् । युवकले एकल गानामात्र रेकर्ड गराए ।

साँझ देबु घर फर्के । रेकर्ड भएको गीत सुने । त्यो युवक उर्फ जगजित सिंहको आवाजबाट मन्त्रमुग्ध बने । त्यसपछि दुई दिनसम्म उनैको गीतको मात्र रेकर्डिङ चल्यो । एउटै स्टुडियोमा जगजित र चित्राको छुट्टाछुट्टै रेकर्डिङ भइरह्यो तर दुवै बोल्दैनथे । चित्रालाई जगजित मन नपरे पनि जगजितलाई चित्राको सौम्य, सुरिलो स्वरले आकर्षित गरिसकेको थियो । त्यसो त चित्रा दुःखीजस्तो देखिन्थिन् र मदिरामा ल भई जगजितलाई घरीघरी हेर्थिन् । एकदिन दुवै स्टुडियोबाट बाहिर निस्के । चित्राले पहिलोपटक बोल्दै भनिन्, ‘मेरो ड्राइभरले तपाईंलाई छोडिदिन्छ ।’ एकछिनपछि चित्राको घर आइपुग्यो । चित्राले चिया खाएर जान भनिन् । चिया पकाउँदै गर्दा बैठक कोठामा बसिरहेका जगजित गुन्गुनाउन थाले । चित्रालाई पहिलोपटक जगजितको गीत र गायन दुवै मन प¥यो । सोधिन्, ‘यो कसको गीत हो ?’ उत्तर आयो, ‘मेरो, कम्पोज पनि मेरै ।’
चित्रा र देबुको दाम्पत्य जीवन राम्रोसँग चलिरहेको थिएन । १६ वर्षकै उमेरमा बिहे भएको थियो । पछिल्लो एक दशक असल पत्नी र आमा बन्दैमा बित्यो । छोरी मोनाको जन्मपछि जीवन सम्झौतामा झ¥यो । देबुको बाहिर ‘अफेयर’ भएको सूचना पाएपछि सम्बन्धबिच्छेदको प्रक्रिया थालिन् । छोरीलाई लिएर एककोठे फ्ल्याटमा सरिन् । गाउन छाडिन् । जगजितसित मित्रता भएको एक वर्षमात्र बितेको भए पनि प्रगाढ बनिसकेको थियो । एकदिन जगजितले साहस गरेर भने, ‘म तिमीसित बिहे गर्न चाहन्छु ।’ चित्राले जवाफ दिइन्, ‘म विवाहिता, सम्बन्धबिच्छेद पनि भइसकेको छैन ।’ जगजितले फेरि भने, ‘म पर्खन्छु ।’

यसबीच देबुले दोस्रो बिहे गरे, छोरीसमेत पाए । जगजित देबुलाई भेट्न गए । अनि भने, ‘म चित्रासँग बिहे गर्न चाहन्छु । अनुमति पाऊँ ।’ चित्रासँग मित्रता भएको करिब दुई वर्षपछि सन् १९६९ मा एउटा मन्दिरमा उनीहरुको बिहे भयो, मात्र ३० रुपैयाँ भारु. खर्चेर । तबलावादक हरिश पण्डित बने । गजल गायक भूपिन्दर सिंहले दुईवटा माला र एक पोका लड्डु व्यवस्था गरे । सन् १९६७ मै जगजित र चित्राको गीति एल्बम ‘दि अनफर्गेटेबल’ बजारमा निस्किसकेको थियो । उक्त एल्बमबाट दुवै युगल जोडी गायक बनिसकेका थिए । त्यसपछि पनि प्रायः सांगीतिक कार्यक्रममा सँगै देखा पर्न थाले । जगजित रातारात गजल सम्राट बने । बिहेपछि मिलेर एल्बम निकाले । जगजितले प्रेमगीत, अर्थ, जिस्म, तुम बिनजस्ता दर्जनौं फिल्ममा गाए । प्रेमगीतको गीत ‘होठों से छु लो तुम, मेरा गीत अमर कर दो, बन जाओ मीत मेरे, मेरा प्रित अमर कर दो ।’ गजल प्रेमी सबैको मुखमा झुण्डियो ।

गायन र दाम्पत्य सबै राम्रोसँग चल्दै थियो । छोरो विवेक सिंहको १८ वर्षको उमेरमा सडक दुर्घटनामा निधन भयो । पत्रपत्रिकामा मदिरा सेवन गरेर गाडी चलाएको खबर छापियो । छोरी मोनाले भाइको इज्जत बचाउन ट्राफिक प्रहरी र महानगरपालिकाविरुद्ध मुद्दा दायर गरिन् । पछि दुर्घटना भएको सडकको नाउँ नै विवेकसिंह रोड भयो । छोराको असामयिक निधनले जगजित र चित्रा दुःखी बने । ६ महिनासम्म जगजितले गीतै गाएनन् । पछि बल्ल विस्तारै कलाक्षेत्रमा पाइला चाले तर चित्राले जगजितले जति पनि गर्न सकिनन् । कला क्षेत्र नै त्यागिदिइन् । आत्मासँग लगाव शुरु भयो । एक्लै बस्ने भइन् । औषधि उपचारले कामै गरेन । पतिपत्नी अलग बस्न थाले ।

यसबीच सन् २००९ मा छोरी मोनाले घरेलु तनावमा परेर आत्महत्या गरिन् । यो घटनाबाट चित्रा झन् तनावमा डुबिन् । गजल सुन्नसमेत बन्द गरिन् । जगजितलाई असल पति, मित्र, पथप्रदर्शक र गुरु ठान्ने उनको जगजितलाई भारत सरकारले पद्मभूषणबाट विभुषित गरेपछि र उनको फोटोअंकित हुलाक टिकट बनेपछि बल्ल लोग्नेबारे बोलिन् । ‘सफल गजलकार हुन्’ भनिन् । सन् २०११ मा जगजित सिंहले लण्डनमा आयोजित एउटा कार्यक्रममा गुलाम अलीसँग गीत गाउनु थियो तर सेप्टेम्बर २३ मा अकस्मात ब्रेन ह्यामरेज भएपछि अस्पताल भर्ना हुनुप¥यो । स्थिति नाजुक बन्दै गयो र कोमामा गए । भर्ना भएको १९ औं दिन अक्टोबर १० मा ‘आज जानेको जीद ना करो, युँ ही पहलूमें बैठा करो, हाय मर जायेंगे, हम तो लुट जायगें, ऐसीबातें किया न करो’ भनेर आशा भाेंसले र फरिदा खानुमले गाएको गीत पुनः नयाँ आवाजमा गाउने गायकको निधन भयो । निकै लोकप्रिय यो गीतका रचयिता फøयाज हाशमी हुन् ।

टिप्पणीहरू