वरिष्ठ किन माथि बसेनन् ?

गीतकार संघका नयाँ पदाधिकारीलाई शुभकामना दिने कार्यक्रममा पूर्वअध्यक्ष योगेन्द्रमणि दाहाललाई मञ्चमा राखिएपछि दर्शकदीर्घामा उपस्थित गीतकार तथा संगीतकारको उज्यालो अनुहारमा अचानक कालो छायो ।

शुरुमा मञ्चमा देखा पर्ने आँट नगरेका दाहाल कार्यक्रम शुरु भएपछि लुसुक्क भित्र पसेर पछाडि कुर्सीमा बसेको हुँदा कसैलाई थाहा थिएन । तर, उनको नाम महासचिव शुभ मुकारुङले उद्घोष गरेपछि भने मञ्चमा चढी कुनाको रोष्ट्रमबाट छेकिएर बसे । जब उनी मञ्चमा उक्लिए अन्य विशिष्ट अतिथिसमेत असहज महसुस गरिरहेका थिए । उनीहरूले स्वागत गरेनन् । हात मिलाएनन् । यो घटना २८ माघको हो । स्थान थियो ः थापागाउँस्थित गीतकार संघको कार्यालय । वरिष्ठहरूका सम्बोधनका बेला कुनै वरिष्ठ वक्ताले पनि उनको नाम लिएनन् । यहाँसम्म कि वर्र्तमान अध्यक्षले समेत नाम लिएनन् । मञ्चका सबैलाई सम्बोधन गर्न बोलाइयो । तर, भर्खर पद बुझाएका पूर्वअध्यक्षलाई भने घोर बेवास्ता । उनलाई बोलाइएन कि मञ्चमा उभिने साहस नभएर आपैंmले बोल्दिनँ भने ? मञ्चमा योगेन्द्रमणिलाई देखेपछि वरिष्ठ गीतकार रत्नशमशेर थापाले माथि उक्लन अस्वीकार गरेको पनि देखियो ।

पञ्चकन्या गु्रपअन्तर्गत बिटोमिन अलकत्रा कम्पनीमा एकाउन्टेन्ट रहँदा योगेन्द्रमणिले नक्कली हिसाब खडा गरेर करोडौं रकम खाइरहेका थिए । केही महिनाअघि उक्त जानकारी भएपछि छानबिन हुँदा बीसौं करोड चोरी गरेको थाहा भए पनि करिब १३ करोडको ठगी अपराधको मात्र सबुत जुट्न सकेकाले उक्त कम्पनीले अदालतमा ठगी अपराध, फर्जी आदि विषयमा मुद्दा हालेको थियो । अदालतको आदेशमा नख्खु जेलमा थुनिएका उनी हाल धरौटीमा छुटेका छन् । कार्यक्रमको अन्त्यमा फोटो खिच्ने समय आयो । उनी निस्किएर हिँडे ।

टिप्पणीहरू