माधव नेपालका सामु दुई दह्रा चुनौती

माधव नेपालका सामु दुई दह्रा चुनौती

दोस्रो तहका केही नेता पार्टी एकताका नाममा अध्यक्ष केपी ओलीलाई समेत नजिकै राख्न तयार बनेपछि एमाले वरिष्ठ नेता माधव नेपाल आफ्नै समूहभित्र दबाबमा पर्नुभएको छ । एकातिर दोस्रो तहका नेतालाई सम्मानजनक एकताको पक्षमा ‘कन्भिन्स’ गराउनुपर्ने,अर्कोतिर अध्यक्ष ओलीसँग एकता हुनै नसक्ने निष्कर्षमा पुगेका तेस्रो तहका नेतालाई मनाउनुपर्ने दोहोरो दबाब नेता नेपालमाथि छ ।

नेपाल समूहमा चैत्र ४-५ को स्पिरिटअनुसार अलग अस्तित्व कायम गरेर जान कस्सिएका दोस्रो पुस्ताका नेताहरु अहिले पार्टी एकताका लागि हतारिंदा तेस्रो अर्थात् युवा पुस्ता चैं नयाँ पार्टी गठन गरेर जानुपर्ने अडानमा छ । दोस्रो पुस्ताका,खासगरी विघटित कार्यदलमा रहेकाहरु तत्काल पार्टी एकता गर्न नेता नेपाललाई दबाब दिइरहेका छन् । एमाले विभाजित हुँदा आफ्नो राजनीतिक भविष्य अन्धकार हुने बुझेको यो पुस्ता माधव तयार नभए एक्लाएक्लै भए पनि ओलीसँग मिल्नुपर्छ भन्नेसम्मको तहमा पुगेको देखिन्छ ।

तेस्रो तहका युवा नेताहरु भने अध्यक्ष ओलीलाई विश्वास गरेर यथास्थितिमा एकताका लागि हतार गर्न नहुनेमा छन् । यो पुस्तालाई नेतृत्व गर्ने डा. विजय पौडेल,रामकुमारी झाँक्री,विरोध खतिवडा,मेटमणि चौधरी,राजेन्द्र राई,जगन्नाथ खतिवडाजस्ता नेताहरु आवश्यक पर्दा अर्को पार्टी गठन गर्न पनि खुट्टा कमाउन नहुने पक्षमा छन् ।

‘अब ओलीसँग मिल्न सकिंदैन,छुट्टै पार्टी बनाउन पर्छ भनेर हिजो हामीलाई भन्ने त सिनियर नेता कमरेडहरु नै हो नि,त्यतिबेला हामीले एकताकै पक्षमा उभिन आग्रह गरेका हौँ । अहिले परिस्थितिमा त्यस्तो के फेरबदल भयो र उहाँहरु एकताको सुगा रटाईमा हुनुहुन्छ ? अनि हामी सम्मानजनक एकताको कुरा गर्नेहरु कसरी एकता विरोधी हुन्छौँ ?’,

निर्णायक घडीमा बिना शर्त साथ दिएका भीम रावल,सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट,योगेश भट्टराई,भीम आचार्यलगायतका नेताहरुकै विश्वासमा ओलीसँग अन्तरसंघर्ष चर्काउनु भएका नेता नेपाललाई अहिले तिनै नेताहरुको दबाब थेगिनसक्नु छ । ‘यथास्थितिमा एकता गरे भोलि ओलीले हामीलाई धुलोपिठो बनाउँछन् भन्ने माधव कमरेडको चिन्ता हो,तर जसलाई उहाँले विश्वास गरेर कार्यदलमा पठाउनु भयो उनीहरु नै कुराको चिनीमा भुल्दा अहिलेको स्थिति आएको देखिन्छ’,एक युवा नेता भन्छन् ।

युवा पुस्तालाई एकता विरोधी देखाउन खोजेकोमा पनि उनले आपत्ति जनाए । कार्यदलमा रहेकाहरु मात्र एकताको पक्षधर जस्तो गरी प्रचार गरिएको भन्दै उनले माधव नेपाल र झलनाथ खनालसहित एकताको पक्षमा उभिएकाले नै आफूहरुमाथि योजनावद्ध रुपले यस्ता आरोप लगाइएको दाबी गरे । ‘अब ओलीसँग मिल्न सकिंदैन,छुट्टै पार्टी बनाउन पर्छ भनेर हिजो हामीलाई भन्ने त सिनियर नेता कमरेडहरु नै हो नि,त्यतिबेला हामीले एकताकै पक्षमा उभिन आग्रह गरेका हौँ । अहिले परिस्थितिमा त्यस्तो के फेरबदल भयो र उहाँहरु एकताको सुगा रटाईमा हुनुहुन्छ ? अनि हामी सम्मानजनक एकताको कुरा गर्नेहरु कसरी एकता विरोधी हुन्छौँ ?’,उनी प्रश्न गर्छन् ।

आफ्नै समूहभित्रको अन्तरविरोधमा स्वयं नेता नेपाल भने तेस्रो पुस्तासँग बढी नजिक देखिनुभएको छ । नेपालले विभिन्न सार्वजनिक कार्यक्रममा पार्टी एकताको विकल्प नभए पनि हत्तारिन नहुनेमा जोड दिँदै आउनुभएको छ । त्यसैले पछिल्लो समय उहाँले कार्यदलका सदस्यहरुको त्यति धेरै भरोशा गर्न छोडेको पनि बताइन्छ । तर,दोस्रो तहका नेताहरु त्यो स्वीकार गर्न तयार छैनन् । नेता नेपालसँगको छलफल र सहमतिकै आधारमा कार्यदलमा निर्णय गरिएको उनीहरुको भनाइ छ ।

‘केपी ओली ०७५ जेठ २ मा फर्किन तयार भएपछि हामीले अलिबढी एकतामा जोड दिएका हौँ,त्यसमा माधव कमरेडको पनि सहमति छ । कार्यदलले १० बुँदे बनाउँदा उहाँलाई सोधेरै हामीले निर्णय गरेका हौँ’, एक नेता भन्छन् ।

नेता नेपालले भने पार्टी एकताका लागि आफू हदैसम्म लचिलो हुन तयार रहेको तर विकल्पमा जानु परे हदैसम्म रिजिड पनि हुनसक्ने बताउनुभएको छ । नेपालले वार्ता टोलीका सदस्यलाई भनेको कुरा सुनाउँदै एक युवा नेताले भने, ‘उहाँले प्रष्ट रुपमा भनिसक्नुभएको छ कि लचकतामा हदैसम्मको लचक हुन तयार छु तर विकल्पमा गए हदैसम्मको रिजिड पनि हुनसक्छु । यो कुरा वार्ता टोलीका कमरेडहरुले बुझ्नुभएकै होला ।’

नेपालले एकतापछिको संगठनमा आफूपक्षीय नेता-कार्यकर्ताको संरक्षण हुने कुराको ग्यारेण्टी खोज्नुभएको बताइन्छ । बराबरी हैसियतको प्रस्तावको प्रसंग त्यसैसँग जोडिएर आउने नेताहरु बताउँछन् ।

टिप्पणीहरू