पलपल मर्दै जानुको पीडा

रूपमा कम्युनिष्ट, सारमा सामन्ती हुन् । जीवनका ऊर्जाशील १५ वर्ष माओवादीमा बिताएर निकालेको निष्कर्ष हो यो मेरो । जब–जब १ फागुन आउँछ, माओवादीले त्यसलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै गर्दा मन भत्भती पोल्छ । जनयुद्ध दिवस मनाउने नाममा करोडांै खर्चने माओवादी नेतृत्वले हिजो लडाउँदा, भिडाउँदा, घाइते, अंगभंग भएका लडाकु र सिन्दुर पुछिएका चेली कहाँ, के गर्दै छन् भनेर बिर्सेको देख्दा हामीलाई सत्तामा पुग्न तिनका भ¥याङ मात्र बनाइएकोमा पीडा हुन्छ र नेतृत्वप्रति आक्रोश पोख्न मन लाग्छ । तर, हामीजस्ता भुइँ मान्छेको कुरा नेतृत्वले कहाँ सुन्छ र ! एक कानले सुन्छ, अर्काे कानले उडाउँछ ।

आज मजस्ता ४ हजार ८ माओवादी लडाकु अयोग्यको ट्याग भिरेर जीवन घिटिघिटी बाँची पल–पल मरिरहेका छौं । अवस्था यस्तो थियो, पश्चिमको एक घरबाट एक जना जनमुक्ति सेनामा जानै पर्ने । हो, त्यही समय अर्थात्, ०५८ सालबाट हो माओवादी आन्दोलनमा होमिएको । त्यस समय नेपाली सेनाले घरमा आगो लगाइदिएपछि ०५८ वैशाख ३ गतेबाट जनयुद्धमा होमिएँ । शुरुमा जनसांस्कृतिक फाँटको कलाकार हुँदै जनमिलिसियामा पुगियो । ०५९ सालमा खारा आक्रमण गरियो । सो समय टाउकोमा लागेको छर्रा बोकेर हिँडिरहेको छु । त्यही वर्ष चैत ७ गते म्याग्दी आक्रमण गरियो । पछाडि गण्डक अभियान शुरु भयो । गण्डकमै दुई वर्ष बिताएँ । त्यहीबीच दिल्लीमा १२ बुँदे सम्झौता भयो ।

०६३ सालमा माओवादी शान्ति प्रक्रियामा आएपछि लडाकु प्रमाणीकरणको विषय जोडियो । हाम्रा कमाण्डर थिए, शरद बुढामगर र अविनाश बुढामगर । उनीहरूले प्रमाणीकरण गर्दा वास्तविक घाइते, अपांगलाई हेरेनन् । डिभिजन कमाण्डरले माओवादी आन्दोलनसँग केही साइनो नभएका आफ्ना श्रीमती, भाञ्जा, भाञ्जी, साला, साली सबैजसो आफन्तलाई योग्य लडाकु बनाए । पाँच पाँच लाखको चेक थमाए । तर, माओवादी आन्दोलनमा दिलो ज्यान दिएर होमिएका हामीजस्तालाई भने अयोग्यको ट्याग लगाइयो । अब कहाँ जानु ? पढाइ, लेखाइ छैन । गाउँमा गएर खेती–किसानी गर्न सकिँदैन । जागिर खोजांै, योग्यता छैन । मर्नु र बाँच्नुको दोसाँधमा छौं ।

लडाकु प्रमाणीकरणबारे पछाडि मात्र चाल पायौं । हामीलाई अयोग्यको बिल्ला पो लगाइएको रहेछ । सोहीपछि घोराहीस्थित पार्टी कार्यालय कब्जा ग¥यौं । लगत्तै तत्कालीन शान्तिमन्त्री सत्या पहाडीसँग वार्ता भयो । मुखले ‘तपार्इंहरूको माग सम्बोधन गर्छु’ भन्नुभयो । त्यही समय कागज पनि बन्यो । तर, कागजमै सीमित । कुन रद्दीको टोकरीमा फालियो थाहा छैन । नेताबाट केही पार नलागेपछि ०६८ सालमा बहिर्गमित जनमुक्ति नेपालको नाममा संघर्ष समिति बनायौं । जसको संयोजक किरण दंगाल थिए । पाँच महिनापछि बुटवल राष्ट्रिय भेलाबाट सागर लिम्बूलाई अध्यक्ष चुन्यौं । पार्टी टुक्रिएसँगै लिम्बू मोहन वैद्यको पछाडि लागे । यहीबीच ०६९ सालमा पेरिसडाँडा आन्दोलन भयो । ४ महिनापछि आन्दोलनको नेतृत्व गर्न लेनिन विष्ट आइपुगे । यिनी आएसँगै आन्दोलन झनै भाँडियो । हामी सबै सोझा–सीधा थियौं । उनी रहेछन्, चण्डाल । ४ हजार ८ अयोग्य लडाकुको टाउको देखाएर भरण–पोषण गर्ने नाममा कहिले शिवसेना, कहिले जर्मन, अमेरिकन, स्विट्जरल्याण्ड एम्बेसी चहारेर पैसा बटुल्दा रहेछन्, पछाडि मात्र चाल पायौं । एकातिर पेरिसडाँडा घेर्न आएका साथी भोकभोकै मर्ने, अर्काेतिर विभिन्न दूतावास चाहर्दै लेनिनले पैसा बटुल्ने तर फुट्या कौडी नदेखाउने गर्न थाले । अयोग्य लडाकुको नाममा पार्टी नेतृत्वले त सौतेनी व्यवहार गरेकै थियो, लेनिन विष्ट पनि थपिए । अयोग्य लडाकुको नाममा कमाउ धन्दा चलाउन थालेछ ।

पछाडि शान्तिमन्त्री टोपबहादुर रायमाझी हुँदा अयोग्य लडाकुको नाममा १५ लाख छुट्याइयो । तर, परिचयपत्र दिने नाममा भित्र–भित्रै लेनिन विष्ट र टोपबहादुर रायमाझीको मिलेमतोमा त्यही रुपैयाँ पनि गायब बनाइयो । बरु प्रत्येक अयोग्य लडाकुको हातमा एउटा–एउटा कार्ड थमाइयो । त्यो कार्डले न खान दिन्छ न लाउन । कार्ड चपाएर भोक मर्दैन । पछाडि बाबुराम भट्टराईले प्रत्येक अयोग्य लडाकुको नाममा २ लाख छुट्ट्याएका थिए । सो पनि पाइएन । यसमा पनि उनै लेनिनहरूको सक्रियता रह्यो । टुप्पाबाट पलाएका लेनिनको उल्टो यात्रा कति दिन नै टिक्थ्यो र ? पछाडि उनी कल बाइपासको आरोपमा जेल परेपछि ६१ सदस्यीय अर्काे संघर्ष समिति बन्यो मेरै नेतृत्वमा । डेढ वर्षपछि विष्ट जेलबाट छुटे । र, अयोग्य लडाकुको अध्यक्ष मै हुँ भन्दै हिँड्न थाले । यिनी माओवादी सिध्याउँछु, मलाई सहयोग गर्नुप¥यो भन्दै कहिले कनकमणि, खुमबहादुर खड्का, सुवोध प्याकुरेल, सोनी साहहरू कहाँ पुगेर रकम बटुल्थे । माओवादीले हामीजस्ता सच्चा कार्यकर्तालाई होइन, पार्टी शान्ति प्रक्रियामा आएपछि माओवादी बनेका विष्टहरूलाई च्याप्दै हिँड्यो । यस्तै चैतेले अवसर पाउँदै आएका छन् र त पार्टी आज सिद्धिँदै, खिइँदै गएको छ । पार्टीले गोबर र गु चिनेन । हिजो चप्पल लगाएर राजधानी छिरेको र सिटिइभिटीको एउटा साधारण जागिरे विष्टले आज आफ्नो विवाह भव्यसँग गर्ने औकात र हैसियत बनाएका छन् । यिनको आम्दानीको स्रोत के हो ? अस्ति भर्खर मात्र यिनले १९ लाख खर्च गरेर विवाह गरेका छन् ।

एकातिर माओवादी लडाकु भोकभोकै मरेको, अर्काेतिर लडाकुको नाममा यी र यस्तै चैतेले आफ्नो पुस्तालाई पुग्ने गरी भुँडी भरेको विकृतिबारे कसले मुख खोल्ने ? कसले बोल्ने ? आज पनि अयोग्य लडाकुको अध्यक्ष मै हुँ भन्दै हिँड्छन् जबकि यिनको पक्षमा सुवाष थापा, दिलबहादुर रम्तेलबाहेक अरू कोही छैन । वास्तविक लडाकुलाई जीविकोपार्जन गर्न गाह्रो छ, कोही खाडी मुलुकमा पुगेर घोडाको लिदी सोर्दै छन्, कोही जीवन गुजार्न ज्यामी–मजदुरी गर्दै छन् । यो बीचमा अयोग्यको ट्याग लागेकै कारण ५ जना साथीले आत्महत्या गरिसकेका छन् । यो विषयलाई लिएर पार्टी अध्यक्षलाई सयौं पटक भेटियो । तर, सधैं उही दहीच्युरे कुरा गर्नुहुन्छ । बाबुराम भट्टराईको के कुरा गर्नु ? अयोग्य लडाकुले पाउनुपर्ने दुई लाख नपाए ती मेरै पार्टीमा आउँथे, त्यही कारण कुनै हालतमा त्यो रकम नपाउन् भन्ठान्नुहन्छ । यी अयोग्य मेरै पार्टीमा आइदिए हुन्थ्यो भन्ने उहाँको सोच छ । तर, हामी उनको पार्टीमा किन लाग्नु ? पूर्ववर्ती प्रधानमन्त्री केपी ओलीकै समयमा अयोग्य लडाकुको नाममा ८४ करोड छुट्याइएको हो । त्यही रकमसमेत माओवादीले वितरण गर्न सकेन । माओवादी आन्दोलनमै होमिँदा २० लाख ऋण लागेको छ ।

यो ऋण कहाँबाट, कसरी तिर्ने ? गाउँमा भएको आफ्नो जग्गा–जमिन सारा बेच्दा २ लाख पनि हात पर्दैन । यो बीचमा मणि थापा, प्रकाश रोकाय, बादल, चन्द्रप्रकाश खनाल ‘बलदेव’ हरूलाई भेट्दा पार्टी आन्दोलनका लागि भएको खर्च पार्टीले व्यहोर्छ भन्थे । अहिले भेट्न खोज्दा तर्कन्छन् । माओवादीले कार्यकर्तालाई ‘युज एण्ड थ्रो’ मात्रै गर्न भाँडो बनायो । अब स्थानीय निकायको चुनाव आउँदै छ । यो समय माओवादी नेतृत्वलाई हामीजस्ता लडाकुको खाँचो पर्ला अनि सम्झेला । त्यो समय हामी पनि देखाइदिनेछौं । घरमा बूढा भएका बुबा–आमा हुनुहुन्छ । माओवादीकै कारण बुबा–आमालाई हेर्न सकिनँ । आज पनि मलाई घर परिवारभन्दा संगठनको चिन्ता छ । जागिर खाऊँ पढाइ छैन, गाउँमा जाऊँ फर्कन मन छैन । मर्नु र बाँच्नुको अवस्थामा आफ्ना कार्यकर्तालाई छाडेर माओवादी नेतृत्व आज पनि धनयुद्धको पछाडि लागेको छ । यस्तै पाराले माओवादी पत्तासाप होला कि भन्ने चिन्ताले पिरोल्छ ।

– अर्जुन बुढाथोकी, संयोजक बहिर्गमित जनमुक्ति सेना नेपाल

टिप्पणीहरू