बुध्दको जन्मथलोमा दिन दिनमा,छिन छिनमा रमिता

बुध्दको जन्मथलोमा दिन दिनमा,छिन छिनमा रमिता

लुम्बिनीमा सत्ता परिवर्तनको खेल हुनै लाग्दा माओवादीको पक्षमा खुलेकी प्रदेशसभा सांसद विमलाकुमारी वलीले एकाएक कित्ता फेरिकी छन् । केही दिनदेखि ‘बेपत्ता’ भएको भनिएकी सांसद वली आज एमालेमा फर्किएको घोषणा गर्दै सार्वजनिक भएकी हुन् ।

मुख्यमन्त्री शंकर पोखरेलविरुध्द विपक्षी गठबन्धनले बहुमत (४१ जना सांसद) जुटाएर नयाँ सरकार गठनको दावी प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बुझाएलगत्तै वलीले आफू एमालेको संसदीय दलमै रहेको बताएकी छन् । विपक्षी गठवन्धनले आफ्नो हस्ताक्षर दुरुपयोग गरेको भन्दै उनले आपत्तिसमेत जनाएकी छन्।

केही बेरअघि विज्ञप्ति जारी गर्दै उनले आफू एमाले संसदीय दलको सदस्यकै रुपमा क्रियाशील रहेकाले भ्रममा नपर्न भनेकी छन् । वली केही महिना पहिले माओवादी केन्द्र संसदीय दलको बैठकमा सहभागी भएकी थिइन् । आजको विज्ञप्तिमा भने सूर्य चिन्हबाट चुनाव लडेकाले आफू एमालेमै रहेको उनको भनाइ छ।

‘मैले सूर्य चिह्नबाट चुनाव जितेको र अहिले सूर्य चिह्न एमालेको रहेकाले एमाले छाडेर माओवादी रोज्ने कुरा पनि कानूनी रुपमा ठीक नभएकाले एमालेमै रहेको स्पष्ट पार्दछु’, उनको विज्ञप्तिमा भनिएको छ ।

माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा प्रदेश प्रमुख अमिक शेरचनसमक्ष ४१ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित नयाँ सरकार गठनको दावी गर्दा वलीको नाम पनि समावेश गरिएको छ ।

टिप्पणीहरू