बाबु रामदेव

भारतमा बाबा रामदेवले घर–घरमा पतञ्जलि सामग्री पु¥याइरहेकै बेला यता नेपालमा चाहिँ ‘बाबु रामदेव’ले घर–घरमा नयाँ शक्ति पु¥याउने अभियान थालेका छन् । भारतमा बाबा रामदेव । नेपालमा बाबु रामदेव !

अहिले भारतमा मात्र होइन, नेपालमै पनि घर–घरमा बाबा रामदेवका सामान पुगिरहेका छन् । साबुन, टुथपेस्ट, ब्रस, मसला, पाचक, बिस्कुट, चाउचाउ…आदि आदि । सायद भारतमा बाबा रामदेवको लोकप्रियता देखेर होला, नेपालमा बाबु रामदेवले पनि त्यही तरिका अपनाएको । यतिबेला बाबु रामदेवका कार्यकर्ता घर–घरमा पर्चा लिएर कुदिरहेका छन् । बाबु रामदेवको पर्चामा चाहिँ पाँच वटा ‘स’ रहेछ । सायद साबुन, सख्खर, सेम्पु, सेभिङ क्रिम र सेरल्याक होला ।

बाबु रामदेवको चिह्नचाहिँ आँखा रहेछ । आँखा ! बाबु रामदेवको बुटी खाएपछि आँखा तेजिलो हुन्छ । तर आश्चर्य, यता बाबु रामदेवले आँखा चिह्न लिएकै बेला उता ‘नेत्र’विक्रम चन्द तेजिलो भएका छन् । यता, आँखा तेजिलो हुनु र उता ‘नेत्र’विक्रम चन्द चम्किनुको बीचमा के कनेक्सन छ होला ?

बाबा रामदेवजस्तै कुनै बेला बाबु रामदेव पनि दाह्री नै पाल्थे । र, चप्पलै लगाएर सडकमा आऊजाऊ गर्थे । अहिलेचाहिँ गाडीमा आऊजाऊ गर्न थालेका छन् । कुनै बेला बाबा रामदेवले पनि सेभिङ गरे भने बाबु रामदेवजस्तै नै देखिने होला ।

बाबा रामदेवजस्तै बाबु रामदेव पनि कुदिरहेकै छन् । जनतालाई विभिन्न आसनको योग देखाइरहेकै छन् । तर, बाबालाई जस्तै बाबुलाई कति जनाले पत्याउने हुन् त्योचाहिँ चुनावपछि (यदि भयो भने) मात्रै थाहा होला कि ?

टिप्पणीहरू