अनेक गल्ती अनि एकचोटिको माफी « Jana Aastha News Online
Logo
७ माघ २०७८, शुक्रबार
|  Fri Jan 21 2022
Logo
७ माघ २०७८, शुक्रबार
|  Fri Jan 21 2022

अनेक गल्ती अनि एकचोटिको माफी

प्रकाशित मिति :  १८ श्रावण २०७८, सोमबार १५:३०


– वैकुण्ठ ढकाल

छोराको व्रतबन्धको सरसामान थन्कोमन्को लगाएर खाना खाई साविकको समयभन्दा केही ढिलो कोठामा पसेको थिएँ । पलंङको सिरानीको भाग सारीले छोपिएको रहेछ । त्यो दृश्यले भित्रैदेखि झन्नन हुने गरी रिस उठेको थियो । सारी झिकेर हुत्याइदिन मन लागेको थियो । तर विस्तारै सारी निकालेर सोफामा मिल्काइ दिएँ । पलंङको ¥याकको सिसा झ¥याम झुरुम भएको रहेछ ।

सारी सुकाएको हैन रहेछ । फुटेको सिसा छोप्न प्रयोग गरिएको रहेछ । दिउँसो छोराहरू हामी सानामा खेल्ने लुकामारी (अहिले उनीहरू हाइड एण्ड सी) खेलिरहेका थिए । अनि तत्कालै टेलिभिजन हेरेर बसिरहेको छोरोलाई बोलाएँ । रिस भित्रैदेखि उम्लिरहेको थियो । तल कोठाबाट माथिसम्म छोरो आइपुग्दा रिसको मात्रा निकै घटेछ ।

‘बाबु, यो कसले गरेको ?’

मुखले केही बोलेन, हातले संकेत गर्दै आफैंले गरेको जनाउ दियो । टाउकोले ठोक्किएर सिसा फुटेको बयान दियो । तर टाउकोले ठोकिएर सिसा झ¥यामझुरुम भयो भन्नेमा विश्वास लागेन । उसले दिउँसो घटनाको बेलीविस्तार लगायो ।

‘अनि दिउँसै किन नभनेको ?’

‘तपाईंहरूले गाली गर्नुहुन्छ भनेर ।’ ‘सिसा त फुट्यो एउटा गल्ती भयो, अनि सारीले छोपेर किन अर्को गल्ती गरेको ?’ ‘फुटेको सिसालाई जस्तो छ त्यस्तै बनाउन खोजें, भएन । अनि… ले भन्यो– ‘सारीले छोपेर राखौं । भरे सर्जक (भाइ) आएर चकचक गर्छ अनि सिसा फुट्छ, अनि भाइको नाम आउँछ, त्यही भएर छोपेको…. ।’

गल्ती लुकाउन प्रयास गर्ने अनि नसके अर्कोको थाप्लोमा हाल्नका लागि गरिएको क्रियाकलापले निकै चिन्तित बनायो । (छोराको शीर निहुरिएको थियो ।)

‘यो सिसामा भाइको टाउको परेको भए के हुन्थ्यो, यी छरिएका सिसा रोपिएको भए के हुन्थ्यो ?’ छोराले जवाफ दिन सकिरहेको थिएन । दुवै आँखामा आँसु टिलपिल भइरहेको थियो ।

अब धेरैबेर केरकार गर्न आवश्यक देखिन । अनि उसैलाई सोधें । अब के गरौं त तँलाई ? (छोरालाई तिमीबाट तल झरेर तँ संबोधन विरलै गर्छु, त्यो गरें ।)

‘माफ गर्दिनुस् ।’ (दुबै हात जोड्दै आँखाभरि आँसु पारेर गरिएको क्षमायाचनाले कुनचाहिं बा को मन नपग्लिएला र) ?
‘जा, कुचो ल्याएर सफा गर् ।’

सरक्क कुचो लिएर सफा गर्न थाल्यो । सिसा टिप्दै गर्दा औंलामा घाउ भइरहेको थियो । अरु धेरै ठाउँमा घाउ हुनेवाला थियो । सिसा सफा गरिसकेपछि, अब नयाँ सिसा ल्याएर जसरी पनि हाल्न उर्दी जारी गरें ।

त्यतिबेलै सानो छोरा र आमाको कोठामा प्रवेश भयो ।
त्यो देख्नेबित्तिकै जेठो पिसाब फेरेर आउँछु भनेर निस्कियो । त्यसपछि कोठामा आएन । (सायद आमाको पनि थप गाली खाने डरले भाग्ने उपाय खोजेको हुनुपर्छ ।)

व्रतबन्धको क्रममा अग्नीको साक्षी राखेर के के गर्ने, के के नगर्ने भनी सुनाइएको कुराले कुनै असर देखाएन । अग्नी र पानीसँग नखेल्ने वा दुरुपयोग नगर्ने, माता, पिता, गुरुको वचन नकाट्ने कुराले पनि काम गरेन । व्रतवन्ध गरेको मान्छे त ठूलो भयो, चकचक र बि¥याइँ गर्नु हुन्न भन्ने कुराको पनि कत्तिको पालना हुनु र ? उमेरको अंक हेर्ने हो भने दोहोरो अंक छोएको थिएन । हुन त उमेरले भन्दा पनि व्यवहारले हो पाको हुने भनिन्छ ।

दुबै छोराहरू चकचक गर्न अगाडि नै छन् । झन् उस्तै उमेरका अरु साथीहरू पनि थपिँदा चकचकको मात्रा थपिने भइहाल्थ्यो ।
हामी (दाजुभाइ)लाई बच्चैदेखि चिन्नेहरू भन्छन्– बाउहरूको तुलनामा छोराहरूको चकचक एकछेउ पनि हैन । के उसो भए चकचकमा बाउहरूलाई भेटोस् भनेर पर्खी बस्न होला र ?

हुन त म सबै ‘नाता–सम्बन्ध’ साथी जस्तै हुनुपर्छ भन्ने मान्यता राख्छु । त्यहीअनुसारको व्यवहार गर्ने कोशिस पनि गर्छु । तर सन्तानले आफूले गरेको गल्ती अभिभावकलाई नभन्दा निकै दुःख लाग्छ । त्यहाँमाथि एउटा गल्ती छोप्न अर्को गल्ती गर्दा निकै मन दुख्छ । सकेसम्म गल्ती नै नगर्ने, एक पटक गल्ती भइहाले पनि नदोहो¥याउने हुनु पर्दछ । क्षमा माग्ने र क्षमादान दिन सक्नु पर्दछ ! क्षमा मागी रहने अनि क्षमा दान दिने क्रम निरन्तर चलिरहँदा पनि कहाँ पुगिएला । भोलिपर्सि अलि बुझ्ने भएपछि छोराले पनि यो लेखोट पढ्ला अनि बुझ्ला पनि । छोराले गरेको गल्ती सार्वजनिक गरेकोमा मैले पनि क्षमा माग्नु पर्ने पो हो कि ?


प्रतिक्रिया दिनुहोस !