देउवालाई आपत

सर्वोच्च अदालतले जयबहादुर चन्दको नियुक्ति रोकेपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई पो आपत परेछ । मानिस आरोप लगाइरहेका छन् कि उनकै दबाबमा सरकारले चन्दलाई आइजी बनाएको हो । तर, सर्वोच्चले रोकिदियो ।

यथार्थमा साँच्चै आपत हुनुपर्ने त प्रधानमन्त्री प्रचण्डलाई हो । किनभने उहाँ पहिलो पटक प्रधानमन्त्री बन्नुहुँदा प्रधानसेनापति रुक्मांगद कटवाललाई हटाएर कुलबहादुर खड्कालाई प्रधानसेनापति बनाउनुभएको थियो । त्यसलाई राष्ट्रपतिले रोकिदिनुभयो । अहिले नवराज सिलवाल या प्रकाश अर्याललाई महानिरीक्षक बनाउन छाडेर जयबहादुर चन्दलाई बनाउनुभयो । त्यसलाई सर्वोच्चले रोकिदियो । प्रचण्डको एउटा जागिर सेनाप्रमुखले खाइदिएको थियो । अहिले दोस्रो जागिर पुलिसप्रमुखले खाइदेलाजस्तो देखिएको छ ।

अतः आपत त प्रचण्डलाई आएको छ । तर, वक्तव्य देउवाको निस्किएको छ । वक्तव्यमा उहाँले भन्नुभएको छ, चन्दलाई नियुक्त गर्न मैले दबाब दिएको होइन ।

दबाब दिएको होइन भने केचाहिँ दिएको त ? केही त पक्कै दिनुभएको होला । सरकारलाई समर्थन नदिने धम्की दिनुभएको थियो कि ? प्रचण्डलाई हटाइदिन्छु भनेर चेतावनी पो दिनुभएको थियो कि ? सरकार गिराइदिने अल्टिमेटम दिनुभएको थियो कि ? चन्दलाई बनाउनै पर्छ भनेर सुझाव दिनुभएको थियो कि ? अथवा सल्लाह दिनुभएको थियो कि ? दिने कुरा त धेरै नै छन् नि † उहाँले कुनचाहिँ दिनुभएको थियो ?

टिप्पणीहरू