तरकारीमा तिकडम, कसले मान्ने लाजशरम ?

तरकारीमा तिकडम, कसले मान्ने लाजशरम ?

– अनुशा थापा, भक्तपुर

सरकार बिचौलियाको अगाडि लाचार हुँदा दैनिक आमसर्वसाधारणको चुलोमा पाक्ने तरकारीको भाउ अकासिएको छ। तरकारीबिना छाक टार्ने कल्पनासमेत गर्न सकिँदैन । जनताले खाने त्यही तरकारी हो, अर्बपतिले खाने पनि त्यही तरकारी हो ।

रगतपसिना बगाएर किसानहरू तरकारी, फलफूल उत्पादन गर्छन् । किसानले मरीमरी तरकारी फलाउने अनि त्यसको फाइदाचाहिँ बिचौलियाले उठाउने ? बिचौलियाले किसानसँग १०–२० रुपैयाँ प्रतिकिलोमा तरकारी किनेर ल्याउँछन् । अनि त्यही तरकारीको भाउ यहाँसम्म आइपुग्दा १५० रुपैयाँसम्म पर्न जान्छ । अझै कत्ति बिचौलियाले तौल जोख्दा १०० किलो भएको तरकारीलाई ९० किलो भनेर किसान ठग्छन् । किसानलाई भुक्तान गर्नुपर्ने रकम अड्काएर राख्ने, कत्तिले त रकम नै खाने धन्दा जारी छ ।

उपत्यकाको मुख्यमुख्य सडकमा तरकारी बजार सञ्चालित छन् । के तिनले सरकारको नियमभित्र रहेर उपभोक्तालाई सेवा दिइरहेका छन् त ? माछामासुमा पनि त्यस्तै ठगीधन्दा बढ्दो छ । कलंकीमा एउटा जिउँदो खसीको मूल्य सरकारले तोकेअनुसार प्रतिकेजी ५६५ रुपैयाँ पर्छ । तर त्यही खसीको फलमासु सर्वसाधारणको चुलोसम्म पुग्दा १५०० रुपैयाँसम्म पर्न जान्छ । पोल्ट्री फर्मले पनि एउटा जिउँदो कुखुरा २०० रुपैयाँमा बेच्छ । तर, हामीले किन्दा त ४५० रुपैयाँ पर्छ । यो त दिउँसै जनता लुटेजस्तो भएन र ?

फलफूलको पनि त्यस्तै हालत । एक दर्जन केरा १५० रुपैयाँ हालेर किन्नुपर्छ । आफूले व्यापारीलाई तिरेअनुसार किसानले पनि त्यसको उचित मूल्य पाउने हो भने त चित्त बुझ्थ्यो होला ! यत्रो पैसा तिरेर पनि आमजनताले विषादीयुक्त तरकारी प्रयोग गर्नुपरेको छ ।

केही वर्षअगाडि कृषि तथा पशुपालन मन्त्रालयले कृषकलाई नै सिधै कालीमाटी र बल्खुका तरकारी बजारमा व्यापार गर्न स्टल मिलाइदिने भनेको थियो । तर, त्यो नीति पनि दराजमै थन्कियो । उपत्यकाको विभिन्न सडकमा यसरी तरकारी बजार सञ्चालन गर्न दिँदा ट्राफिक जामले विकराल रूप लिँदै गएको छ । यतातिर पनि सरकारको ध्यान जान आवश्यक छ ।

न्यून आयस्तर भएका जनताले भातसँग नुन र पानी मिसाएर खानुपर्ने स्थिति आएको छ । यसको एउटा मात्रै कारण हो तरकारी बिचौलियाको दादागिरी । एउटा बिचौलियाले एक वर्षको बीचमा तरकारी बेचेर काठमाडौँमा घडेरी किन्छ । यसको सिधा अर्थ के लाग्छ भने घडेरी किनेको पैसा कालोबजारीको फल हो । राजनीतिक दलका नेताले पनि तरकारी किनेर खान्छन् तर तरकारीमा भएको लुटबारे किन बोल्दैनन् ?

टिप्पणीहरू