कसले छानबिन गर्ने पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिको मनपरि ?

कसले छानबिन गर्ने पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिको मनपरि ?

महामारीको समयमा तपाईंको अस्पताल छ भने के गर्नुहुन्छ ? अस्पताल अझै राम्रो चलाएर महामारीले आक्रान्त जनताको घाउमा मल्हम लगाउनुहुन्छ कि उल्टो अस्पताललाई असरल्ल पार्नुहुन्छ ? पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा.यादव कोइराला यस्तै एक व्यक्ति हुन् जसले यत्रो महामारीमा पनि आफ्नो विश्वविद्यालयको अस्पताललाई एक वर्षदेखि निर्देशक नियुक्त नगरी अस्तव्यत राखे ।

हाल भइरहेकै सम्बन्धनप्राप्त कलेजहरूको उचित अनुगमन गर्न नसकिरहेको परिप्रेक्ष्यमा फेरि सम्बन्धनका नाममा करोडौं असुल्ने गोरखधन्दा चलाउन व्यस्त छन् । एक वर्षपछि बल्ल बल्ल निर्देशक नियुक्त गरेपनि चिकित्सा शिक्षा ऐनलगायतको नियुक्तिका मापदण्डका आधार भने उल्लंघन गरेका छन् ।

प्रदेश १ मा कोभिड १९ को पहिलो महामारीको समयमा कोरोना संक्रमितलाई पहिलो सेवा दिएको भनेर कोशी अस्पताल नेतृत्वले राष्ट्रिय रूपमै वाहवाही पाएको थियो । नेपाली सेना तथा प्रदेश १ सरकारको सहयोगमा पूर्वाञ्चल विश्वविद्यालयको गोठगाउँस्थित हातामा सञ्चालित आइसोलेसन केन्द्रले पनि सह्रानीय कार्य गरेको हो ।

उक्त समयमा अस्पतालका तत्कालीन निर्देशक विपेश आचार्यले आइसोलेसन केन्द्र सञ्चालन गर्न आनाकानी गरेपछि छुट्टै समिति गठन गरी केन्द्र सञ्चालन गरिएको थियो । त्यसलगत्तै आफ्नो कार्यकाल सकिएपछि उपकुलपतिसँग कार्यकाल थप गर्न बाझाबाझ गरेका निर्देशकलाई कुनै पनि हालतमा नियुक्त गर्दिनँ भन्दै कसम खाएका उपकुलपति कोइरालाले अन्तत: एक वर्षपछि उनै आचार्यलाई नियुक्त गरेका छन् । यसका निम्ति उनले चिकित्सा शिक्षा ऐनलगायत सम्पूर्ण प्राज्ञिक मान्यताको धज्जी उडाएका छन् ।

चिकित्सा शिक्षा ऐनमा विश्वविद्यालय,प्रतिष्ठान तथा शिक्षण संस्थाका लागि पदाधिकारी छनौट गर्दा पेशागत दक्षता,व्यवस्थापकीय दक्षता, संस्थागत प्रतिबद्धता सार्वजनिक रूपमा स्वच्छ छवि र वरिष्ठतालाई आधार लिनु पर्नेछ भनेर तोकिएको छ । तर उपकुलपति कोइरालाले ती मापदण्ड लत्याउँदै आफूखुशी व्यक्तिगत रूपमा मापदण्ड बनाई बदनियतपूर्ण रूपमा निर्देशक नियुक्त गरेका छन् ।

विश्वविद्यालयले तुरुन्त एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने भनेर चिकित्साशास्त्र संकायले विभिन्न विषय समितिहरू तथा पाठ्यक्रम निर्माण कार्यदल समेत निर्माण गरी काम अघि बढाइसकेको स्थितिमा भोलिका दिनमा एमबीबीएस कार्यक्रम सञ्चालन गर्न शिक्षण अस्पतालका निर्देशकको अत्यन्त ठूलो जिम्मेवारी हुन्छ । किनभने ती निर्देशक मातहत विभिन्न विभागीय प्रमुखहरू रहन्छन् । यसैले निर्देशकको न्यूनतम योग्यता सहप्राध्यापक हुनु अनिवार्य छ । तर विश्वविद्यालयको प्राज्ञिक उन्नयनभन्दा पनि जताबाट हुन्छ आफ्नै र एमालेमा यौटा गुटको मात्र निहित स्वार्थ पूरा गर्ने खेलमा लागेका उपकुलपति कोइरालाले छ महिना नबित्दै कुनै पनि हालतमा आचार्यलाई निर्देशक नियुक्त नगर्ने आफ्नो कसम तोड्दै ३६० डिग्रीमा मोडिएर आचार्यलाई नियुक्त गरेका हुन् ।

वस्रोतका अनुसार विश्वविद्यालय भित्रैबाट प्राज्ञिक व्यक्तिलाई मात्र निर्देशकमा नियुक्त गर्नुपर्ने जोडदार माग उठेपछि कोइराला हच्किएका थिए । गत पुसमा निर्देशकको निम्ति विज्ञापन निकाल्दा पनि उपकुलपति कोइरालाले निज आचार्यलाई उपयुक्त हुने गरी विज्ञापन प्रकाशित गर्न लगाए । तर फेरि विश्वविद्यालयभित्रैबाट कडा बिरोध आएपछि कोइरालाले यत्रो महामारीकाबीच पनि सात महिना सबै आवेदनलाई थन्क्याएर राखे ।

मुखले नीति नियमका कुरा गर्ने तर काममा उही ओली शैली अपनाउने भनेर चिनिएका उपकुलपति कोइरालाले अन्तिममा कार्यकारिणी समितिका कसैलाई थाहा नदिई एकलौटी ढंगले अस्पताल निर्देशकको छनौटका मापदण्ड बनाई छनौट समितिले निष्पक्ष ढंगले छनौट गरेको भन्दै आफू चाहिँ पानी माथिको ओभानो बन्ने कसरतमा लागिरहेका छन् ।

तर उच्च तहमा चलेको गाईंगुईंअनुसार छनौट समितिका सदस्यहरूलाई पनि निज कोइरालाले आवेदकहरूको कुनै कागजात छानबिन गर्न नदिई केही घन्टामै सिफारिस गर्न बाध्य पारेका थिए । जसको बारेमा कार्यकारिणी समितिका अन्य कुनै पनि सदस्यलाई जानकारीसमेत दिइएको थिएन । विश्वस्त सूत्रका अनुसार आवेदन दिने सहप्राध्यापकस्तरका अन्य प्रवल दावेदार प्रतिस्पर्धीहरू र विश्वविद्यालयमै कार्यरत प्राज्ञिक पद भएका प्रतिस्पर्धीहरूलाई पन्छाउन कोइरालाले आफूखुशी स्वेच्छाचारी ढंगले बनाएको सिफारिस मापदण्ड कार्यकारिणी समितिका सदस्यहरूलाई समेत हेर्न दिएका छैनन् ।

विज्ञापन गर्दा न्यूनतम उपप्राध्यापक तहको योग्यता माग गरिएकोमा कोइरालाले नियुक्त गरेका निर्देशक आचार्यले कुनै पनि विश्वविद्यालयबाट सो पद प्राप्त नगरेको बुझिएको छ । विश्वविद्यालयका उच्च तहका हाकिमहरूले नै आचार्यले आफू उपप्राध्यापक भएको भनि पेश गरेका सबै प्रमाणपत्र फर्जी हुन् । त्यसैले उपकुलपति कोइरालाले छनौटको मापदण्ड मात्र होइन आवेदकहरूको आवेदन समेत कसैलाई हेर्न नदिएका हुन ।

कार्यसमितिका केही पदाधिकारीले यस विषयमा चासो राख्दा कोइरालाले त्यो जिम्मा छनौट समितिको भएको र मुद्दा परे आफूहरू होइन छनौट समितिका सदस्यहरू नै जिम्मेवार हुने कुरा गरेका थिए । उनले त्यसो गर्नुको अर्थ कसैलाई त्रसाउने र कसैलाई गुमराहमा राख्ने काम भएको स्पष्ट हुँदै गएको छ ।

चीनबाट प्याथोलोजीमा एमडी गरेका आचार्यले शहीद गंगालाल अस्पताल, कोशी अञ्चल अस्पताल र निजी प्राक्टिस बाहेक कुनै प्राज्ञिक अनुभव हासिल गरेका छैनन् । तीन वर्ष अघि काँग्रेस कोटाबाट ठाडो तोक आदेशमा अस्पताल निर्देशक नियुक्त भएका आचार्यले अस्पताल हाँक्दा अस्पतालमा वर्षको पाँच करोड भन्दाबढी खर्च हुँदा मुस्किलले ३४ लाख रुपैयाँ मात्र आम्दानी गरेको विश्वविद्यालयको वार्षिक आयव्ययमा उल्लेख छ ।

दुई वर्षसम्म आचार्यले अस्पतालको नेतृत्व गर्दा अस्पताल होइन सानो तिनो पोलिक्लिनिक नै चलाएको जस्तै अवस्थामा पुरयाएका छन् । निजले मनोमानी ढंगले खेताला जसरी चिकित्सकहरू नियुक्ति गर्ने तर नियुक्त चिकित्सकबाट उचित प्रतिफल लिन उदासीन भएकाले धेरै घाटा भएको विश्वविद्यालयका हाकिमहरूबीच बेलाबेलामा उक्त कुरो हुने गरेको छ । अरु त अरु उनले अस्पतालको निम्ति एम्बुलेन्स किन्न बजेट नै छुट्याउँदा पनि एउटा एम्बुलेन्स समेत खरिद गर्न सकेका छैनन् ।

कोभिड महामारीका बेला प्रदेश सरकारले गोठगाउँमा आइसोलेसन सेन्टर चलाउन अनुरोध गर्दा आचार्यले गैरजिम्मेवारपूर्ण ढंगले असहयोग गरेका थिए । पछि उनैलाई सदस्यसचिव राखेर बनाइएको आइसोलेसन केन्द्र सञ्चालक समितिमा समेत उनले खुलेरै असहयोग गरेका थिए । त्यतिबेला उनले सेन्टरको बिरुध्द आफैँले मिडियाबाजी गर्ने र दुख दिने उदेश्यले विभिन्न निकायमा उजुरी समेत हालेका थिए । त्यसमध्येका केही साक्षी हामी आफूहरू पनि हौं ।

एक सय बेडको आफ्नै अस्पताल नभएकाले विश्वविद्यालयले सञ्चालन गरेका स्वास्थ्यका विभिन्न विषयको पढाई समेत यस वर्ष झण्डै खारेज भएको थियो । तर आदर्शका लामा लामा भाषणबाजी गर्ने उपकुलपति कोइरालाले यस्तो नेतृत्वलाई फेरी अस्पतालमा निर्देशकको जिम्मेवारी सुम्पँदा आफ्नो घर आँगनमा एमबीबीएसको पढाई भएको हेर्ने स्थानीयको चाहना फेरी पछाडि धेकेलिएको मोरङ गोठगाउँवासीको गुनासो छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चलिरहेको शुुद्धीकरण आन्दोलनमा दलीय भागबण्डाका आधारमा नियुक्ति हुनुहुन्न, वरिष्ठताका आधारमा नियुक्ति हुनुपर्छ भनेर भाषणबाजी गरेका डा. आचार्य आफैं भने यसरी चलखेलका आधारमा आफूभन्दा वरिष्ठ र योग्य उम्मेदवारहरूलाई पाखा लगाउँदै नियुक्ति लिन तल्लिन छन् । जसले उनको दोहोरोचरित्रलाई अझै उदांगो पारिदिएको छ ।

अहिले कोभिड महामारीले भएका कलेजहरूमा पढाइलेखाइ ठप्प प्रायः छ । तर, उपकुलपति कोइरालालाई कसरी विश्वविद्यालयको प्राज्ञिक उन्नयन गर्नेभन्दा पनि कसरी आफ्नो थैली भर्ने भन्ने चासो बढी छ । यसको प्रत्यक्ष प्रमाण यस्तो महामारीबीच उनले खोलेको सम्बन्धनको खेल हो ।

आफूले सम्बन्धन दिएकै कलेजहरूको उचित अनुगमन गर्न नसकिरहेको यस्तो महामारीको बेला हालै उनले नयाँ कलेजहरूलाई सम्बन्धनको निम्ति विज्ञापन खोलेका छन् । उनले आफ्नो आंङ्गिक कलेज नभएका बायोमेडिकल इञ्जिनियरिङ, फेसन डिजाइन, होटेल म्यानेजमेन्ट जस्ता विषयमा समेत सम्बन्धनको निम्ति विज्ञापन खुल्ला गरेका छन् । तर विद्यमान नियमअनुसार कुनै पनि विश्वविद्यालयले आफ्नो आंङ्गिक कलेजमा पढाई नहुने विषयमा त्यसरी सम्बन्धन दिन पाउँदैन ।

यसरी नियमविपरित सम्बन्धन खोल्नुको एउटै उदेश्य सम्बन्धन दिँदा पाउने मोटो कमिसनको कमाउ धन्दा नै मुख्य कारण हो । यसबीचमा केही कलेजलाई थप सम्बन्धन दिने, सिट नकाट्ने आश्वासन दिँदै डेढ करोड भन्दाबढी रुपैयाँ कमाइसकेको हल्ला पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त निजी मेडिकल कलेज सञ्चालकहरूबीच बाक्लै चर्चा चलेको छ ।

— पूर्वाञ्चल विश्वविद्यालयको भलो चाहने सचेत कर्मचारीहरू

टिप्पणीहरू