यस्तो कामलाई के भन्नुपर्ने हो खै !

‘घ्यू कहाँ पोखियो दालमा’ यसैलाई भनिएको हो । चतु¥याइँ पनि कस्तो भने सांसद विकास कोषको पैसा खर्च गर्न ठाउँ कहीँ नपाएर छट्पटिएका सांसद दीपक कुइँकेलले विकास कोषको पैसा लगेर आफ्नै क्षेत्रको एउटा क्याम्पसमा खन्याए । त्यो पनि एक वर्ष होइन, ३ वर्षदेखि निरन्तर । बदलामा पुराना प्राचार्यलाई गलहत्याए र भाइलाई प्राचार्य बनाए ।

यतिसम्म त ठिकै थियो, भवन निर्माणको नाममा दाजुभाइ मिलेर हिसाब–किताब गोलमाल पारेको र अनियमितता गरेको आरोप लगाउँदै ४ दिनदेखि सो क्याम्पसमा ताला ठोकिएको छ ।  

काठमाडौं क्षेत्र नम्बर २ बाट पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई हराएर दीपक कुइँकेल सांसद बनेका हुन् । थलीमा अवस्थित कान्तिपुर क्याम्पसमा कुइँकेलले विकास कोषको १५ लाख खन्याएका छन् । उनले ३ वर्षदेखि प्राप्त रकम सो कलेजमा हालेको स्विकारेका छन् । कति रकमचाहिँ खुलाउन चाहेनन् ।

त्यहाँ उनकै भाइ (ठूलोबुबाको छोरा) शैलेन्द्र प्राचार्य छन् । लक्ष्मीराज खनाललाई हटाएर उनले भाइलाई प्राचार्य बनाएका हुन् ।
३८ रोपनी १० आना सरकारी जग्गामा फैलिएको सो क्याम्पसको धमाधम नयाँ भवन बनाउने काम भइरहेको छ । कांग्रेसनिकट मानिने सूर्य केसी र पूर्वप्राचार्य लक्ष्मीराज खनाललाई निर्माण कमिटीमा लगेर राखिए पनि निर्माण सामग्री लैजाने काम सांसद र भाइको सल्लाहमा मात्र हुने गरेको क्याम्पस स्रोतले जनआस्थालाई बतायो । क्याम्पस निर्माण नाममा नगरपालिका, सांसद विकास कोष र नगर क्षेत्र विकास कार्यक्रमअन्तर्गतको बजेट मनलाग्दो ढंगले खर्च गरिएको तर हिसाब–किताब पारदर्शी नभएको आरोप लगाउँदै ४ दिनदेखि ताला ठोकिएको हो । १४ फागुनमा स्ववियु निर्वाचनको मिति घोषणा गरिएको छ । नेविसंघले जित्ने भए मात्र चुनाव हुन दिने अन्यथा भाँड्ने रणनीतिमा सांसद र भाइ लागिपरेको आरोप छ ।

टिप्पणीहरू