एमसीसीको विरोधमा भोलि दिउँसो भरतपुरको चौबीसकोठीमा जुलुस र धर्ना हुने

एमसीसीको विरोधमा भोलि दिउँसो भरतपुरको चौबीसकोठीमा जुलुस र धर्ना हुने

संसदमा पेश हुँदै गरेको एमसीसी परियोजनाको खारेजीको माग गर्दै विभिन्न राजनीतिक दल, संघ–संस्था, पेशागत समूह, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, महिला, मजदूर, किसान, व्यवसायीहरु र आम चितवनवासी जनसमुदायको प्रतिनिधिमूलक भेलाले गत साउन १२ गते ५०१ सदस्यीय एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समिति गठन गरेको थियो ।

सोही दिन चितवनका प्रमुख जिल्ला अधिकारी मार्फत् नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको समितिले भोलि भरतपुरको चौबीसकोठीमा धर्ना कार्यक्रम राखेको छ । देशैभर चौतर्फी विरोध भइरहेको एमसीसी परियोजनाको विरुद्धमा दिनको ठिक १२ बजेदेखि १२ः३० सम्म सडक धर्ना गरिने समितिले जनाएको छ ।

त्यसअघि हाकिमचोक, गेष्टहाउसचोक र वीरेन्द्र क्याम्पस अगाडिबाट जुलुस निकालिने बताइएको छ । कार्यक्रममा ‘एमसीसी खारेज गर, नो एमसीसी’ लेखिएको एकसूत्रीय माग प्रदर्शन गरिने जनाइएको छ ।

समितिले आज दिउँसो पत्रकार सम्मेलन गरी भोलिको कार्यक्रमबारे जानकारी गराएको हो । सम्पूर्ण चितवनवासीलाई उक्त कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ ।

एमसीसी खारेज नहुँदासम्म समितिले एमसीसी खारेजीका निम्ति विभिन्न चरणबद्ध संघर्षका कार्यक्रम चलाइरहने संयोजक फणिन्द्र आचार्यले बताएका छन् ।

– अजय गोर्खाली

टिप्पणीहरू