कलिला केटाकेटीको कच्चा काम

अनुशासनको नाममा निजी विद्यालय अराजक भएका हुन् वा हाम्रा कलिला बालबालिकाको सहने क्षमता ह्रास हुँदै गएको हो ? पछिल्लो साता फुल्न–फक्रन नपाउँदै दुई कोपिलाजस्ता स्कुले किशोर/किशोरीले आत्महत्याको बाटो रोजेका छन् ।

यसरी जीवन गुमाउने किशोर हुन् प्रज्वल पोखरेल र कृतिका थापा । पोखरेल धापाखेलस्थित जेम्स स्कुलमा १० कक्षाका विद्यार्थी हुन् भने सेन्ट मेरिज स्कुल जावलाखेलकी कृतिका थापा पनि सोही कक्षामा अध्ययनरत थिइन् । कुमारी क्लब, बल्खुमा बुबाआमासँग बस्दै आएका दाङ निवासी पोखरेलका बाबु राजनीतिकर्मी हुन् भने आमा त्रिविको कर्मचारी ।

यसै वर्ष प्रवेशिका परीक्षाको तयारीमा रहेका प्रज्वलको पढाइ राम्रै थियो । श्रीपञ्चमीअगाडि झुण्डिएको अवस्थामा भेटिए । पंखामा लट्किएको उनको शरीर देखेका परिवारजन आश्चर्यमा परे । दिउँसो साढे ३ बजेतिर हतार–हतार नजिकैको बयोधा अस्पताल पु-याइयो । अस्पतालले मृत घोषणा ग-यो । ‘स्कुलको निलम्बनपछि ऊ निकै तनावमा देखिएको थियो । आत्महत्याको कारण त्यही हुनुपर्छ’, परिवारका एक सदस्यले भने । परिवारको भनाइअनुसार जेम्सले उनलाई केही दिनका लागि ‘रेस्टिकेट’ गरेको थियो । विद्यालयकै एक छात्रासँग प्रेम सम्बन्ध रहेको थाहा पाएपछि उनी कारबाहीमा परेका हुन् । हीनताबोधको अनुभव गरेका उनी घरमा झोक्राउने, कसैसँग नबोल्ने व्यवहार देखाइरहेका थिए । घटनाको अनुसन्धान गरिरहेका महानगरीय प्रहरी प्रभाग कालिमाटीका अधिकृत विद्यालयले बेइज्जत गरिदिएपछि तनाब सहन नसकेको सुनाउँछन् । ‘अहिलेसम्मको अनुसन्धानबाट त्योबाहेक अरू कारण भेटिएको छैन’, उनले भने । जेम्सका प्रिन्सिपल बादल प्रधान घटनामा विद्यालयको कुनै दोष नरहेको बताउँछन्, भन्छन्, ‘सेन्टअप दिइसकेको विद्यार्थीलाई विद्यालयले रेस्टिकेट गर्ने कुरै आउँदैन ।’

उनले प्रज्वल मंगलबार विद्यालय गएको दाबी गरे । बुधबार श्रीपञ्चमीको बिदा थियो भने बिहीबारदेखि विद्यालय खुला भयो । तर, उनी विद्यालय पुगेनन् । ‘प्रज्वल अनुपस्थित भएपछि परिवारलाई फोन ग¥यौं’, उनले भने, ‘परिवारले दुःखद खबर सुनायो ।’ काठमाडौंमा बिहीबार नै यस्तै प्रकृतिको अर्को घटना पनि भएको छ । सेन्टमेरिज स्कुल जावलाखेलकी कृति थापा पनि झुन्डिएको अवस्थामा भेटिइन् । फुपूसँग बस्दै आएकी उनको शव शौचालयमा भेटिएको हो । टेस्ट चलिरहँदा दुई वटा प्रयोगात्मक परीक्षामा अनुपस्थित भएपछि विद्यालयले अभिभावक बोलाएर छलफल गरेको थियो । पारिवारिक स्रोतका अनुसार बाँकी परीक्षा पछि दिने र लिखितमा सहभागी हुने सहमतिपछि अभिभावक घर फर्किएका थिए ।

अहिले यो प्रकरणको कमलपोखरी प्रहरी प्रभागले अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानले कृतिकाको केसमा पनि प्रेम सम्बन्धमा आएको उतार–चढाव सहन नसक्दा आत्महत्या रोजेको निष्कर्ष निकालेको छ ।

दुबै विद्यार्थी एजुकेशन एक्जामिनेशन (एसइई) परीक्षा दिने तयारीमा थिए । अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारी विद्यालयमा काउन्सिलर राख्ने नाममा डिआई राखेर कलिला विद्यार्थीलाई आतंकित पार्ने काम गरेका कारण आत्महत्याको बाटो रोज्न विवश भएको टिप्पणी गर्छन् । मनोविद् डा. गंगा पाठक यसप्रकारको दुर्घटना निम्तिनुमा विद्यालय र अभिभावक दुबैको दवाबलाई प्रधान कारण मान्छिन् । ‘विद्यालय इमोशनल्ली सुरक्षित भएनन्, अभिभावकलाई बालबालिकाको पीरमर्का सुन्ने फुर्सद रहेन । यही कारण, आफ्नो भोगाइ शेयर गर्ने ठाउँ नभएसँगै उनीहरूले आत्महत्याको बाटो रोज्छन् । चाँडै रिसाउँछन्, धैर्यताको विकास हँुदैन र परिवारमा एक्लो भएको महसुस गर्दै सानै उमेरमा आत्महत्या गर्छन् ।’ अर्काे अत्यासलाग्दो तथ्यांक छ, नेपाल प्रहरीसँग । पुस मसान्तसम्म विभिन्न तवरबाट ३ सय ५ जनाले जीवनको इहलीला समाप्त पारेका छन् । जसमध्ये अधिकांश झुण्डिएर बितेका हुन् ।

२ सय ३१ जना झुण्डिएर, हाम फालेर ८ जना, आगो लगाएर २, पानीमा डुबेर एक जना र धारिलो हतियार प्रयोग गरी एक जनाले ज्यान फालेको प्रहरी तथ्यांकमा छ । यो अवधिमा आत्महत्या गर्नेमध्ये सबैभन्दा धेरै पूर्वाञ्चलमा ६३, पश्चिमाञ्चलमा ६०, मध्यमाञ्चलमा ३९, मध्यपश्चिमाञ्चलमा ३४, सुदूरपश्चिमाञ्चलमा २० र उपत्याकामा १६ छन् । आत्महत्या गर्नेमध्ये अधिकांश किशोर/किशोरी रहेको प्रहरीको भनाइ छ । आत्महत्या गर्ने दोस्रो विकल्पका रूपमा किशोर/किशोरीले विष सेवनको बाटो अपनाएका छन् । जसमध्ये सुदूरपश्चिमाञ्चलमा यसरी ६२, पूर्वाञ्चलमा १५, मध्यमाञ्चलमा १३, पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलमा ११ /११, उपत्यकामा ६ जनाले अकालमै ज्यान फालेका छन् ।

टिप्पणीहरू