हल्लै हल्लाको देश, को बदमास– को बेस !

प्रहरीको त हल्ला धेरै भयो । बजारमा हल्ला नचलेका, तर त्यस्तै राजनीतिक हस्तक्षेपका अनेकन मामिलामध्येको हो, विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकूलपति नियुक्ति । तीनवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकूलपति नियुक्तिको प्रक्रियालाई प्रधानमन्त्रीले रोकिदिएका छन् । सिटौला कांग्रेसबाट गगन थापा मन्त्री छन्, तर स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा कूलपति हुन्छन्, प्रधानमन्त्री ।

पाटन, गण्डकी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकूलपतिका लागि तीन–तीन जनाको नाम सिफारिस गरेको ३० दिन कटिसक्यो । कर्णालीमा डा.कृष्ण सुवेदी माओवादी रोजाईका व्यक्ति थिए । तर, मन्त्री गगनले मापदण्डमै नपरेको भनेर उनको नाम पारेनन् । यही कारण प्रधानमन्त्रीले तीनैतिरको सिफारिस अड्काएर राखेका हुन् । प्रधानमन्त्रीको भनाइ छ, ‘म कूलपति हुनुपर्ने ठाउँमा मैले भनेकोलाई उपकूलपति नबनाउने भए मैले किन तपाईंको फाइल सदर गर्नु ?’ प्रधानमन्त्रीले कर्णाली दिनै नसकिने भए पाटनको उपकूलपति सिफारिसमा एक नम्बरमा परेका डा.भरत यादवलाई गर्नु भनेका छन् । उनी प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवका नातेदार हुन् । कर्णालीमा ९ महिनादेखि उपकूलपति खालि छ । गण्डकीमा प्रतिष्ठान स्थापनादेखि नै नियुक्ति हुन सकेको छैन । पाटनमा खालि भएको दुई पुग्यो ।

सबभन्दा चर्को लडाइँ त वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छ । त्यहाँ उपकूलपति रिक्त भएको डेढ महिना भइसक्यो । योग्यता पुगेका १६ जनाले दरखास्त दिइसके । दरखास्त आह्वानका लागि बसेको बोर्ड बैठकपछि अर्को बैठक बस्न सकेको छैन । सिफारिस समितिमा मन्त्री, राष्ट्रिय योजना आयोगबाट स्वास्थ्य हेर्ने सदस्य गीताभक्त जोशी र स्वास्थ्य सचिव डा.सेनेन्द्रराज उप्रेती छन् । सचिव आइतबार जेनेभा गए । आउने आइतबार फर्किन्छन् । १६ मध्ये कसलाई बनाउने भनेर कांग्रेसभित्रै रडाको छ । गगन सिटौलाका मन्त्री भएका कारण सिटौलाकै दुई उम्मेदवारमध्ये कसलाई छान्ने भन्ने समस्या छ । सिटौलाका उम्मेदवार हुन्, डा.चन्द्रशेखर अग्रवाल र डा.रामेश कोइराला । युवती काण्डमा अग्रवाल एक ग्रेड रोक्कामा परेका हुन् । उनी रोशन सोनी नामक मारवाडीको साथ लागेर शक्तिकेन्द्र धाउन व्यस्त छन् । रामेश कोइराला गंगालाल अस्पताल, बाँसबारीमा कार्यरत छन् । उनी गगन थापाका अघोषित सल्लाहकार पनि हुन् ।

भद्रपुरका हुन् बासिन्दा । उनका लागि अर्का कांग्रेस नेता विश्वप्रकाश शर्माको पनि जोड छ । पार्टी सभापति शेरबहादुर देउवाले नोबेल अस्पताल विराटनगरका ज्ञानेन्द्र गिरीलाई नियुक्ति दिलाउने प्रयास गरेका छन् । उनको पक्षमा त्यहाँका व्यापारी महेश जाजु सक्रिय छन् । वीपीको नाममा स्थापित प्रतिष्ठान भएको भन्दै शशांक कोइरालाहरु डा.प्रल्हाद कार्कीलाई बनाउनुपर्छ भन्नेमा छन् । यस्तो खेलो चल्दा  प्रतिष्ठानको काम भने ठप्प छ । त्यहाँ बाहिरबाट उपकूलपति ल्याउन पाइँदैन भनेर कर्मचारी आन्दोलनमा छन् । काठमाडौं युनिभर्सिटीमा सिफारिसका आधारमा उपकूलपति नियुक्ति भइसक्यो, दरखास्तै नमागिकन ।  वीपीमा बलभद्र दास पहिलाका निमित्त उपकूलपति थिए । उनी पनि प्रचण्डमार्फत फेरि उपकूलपति पड्काउने प्रयासमा छन् ।

टिप्पणीहरू