विमलेन्द्रसँग देउवा यसर्थ बमबम

‘यो विमल एक्लै हिँड्न खोज्दैछ । आफू हिरो बनेर मलाई खराब देखाउन खोज्दैछ । यसरी कहाँ हुन्छ भनेको ?’ गृहमन्त्री विमलेन्द्र निधीले सकेसम्म निर्देशन उल्लंघन गर्न चाहेको, निर्देशन मानिहाले पनि आफूलाई बद्नाम गरेर चोख्खिन खोजेको भन्दै २८ गते साँझ सहयोगीमाझ यसो भनेका शेरबहादुर देउवा २९ को बिहानै बालुवाटार छिरे । कारण थियो, उपसभापतिसमेत बनाउन ठिक्क पारिएका विमलेन्द्रप्रतिको विश्वास घट्नु । विषय थियो, प्रहरी महानिरीक्षक नियुक्ति । ‘२६ गतेदेखि भनेको भन्यै’छु । मलाई पनि मिल्दैन, सकिँदैन भनेर हुन्छ ?’ कर्कश स्वरमा देउवा पड्किरहँदा तल्लो तलामा उनको सचिवालयमा बसेका केही कार्यकर्ता चूपचाप यी कुरा सुनिरहेका थिए । बूढानिलकण्ठस्थित देउवा निवासको दृष्य हो यो ।

त्यसो त प्रधानमन्त्री पुष्पकमल दाहाल पनि बरियता मिचेर महानिरीक्षक नियुक्तिको पक्षमा थिएनन् । तर, सत्तासाझेदार दलको सभापति आफैँले अगाडि बसेर, त्यहीँबाट गृहसचिवलाई टिप्पणी लेख्ने आदेश दिन लगाएर धर्ना कसेपछि उनको पनि केही चलेन । भनिन्छ, प्रचण्ड आफैँ नवराज सिलवालको पक्षमा भएका हैनन्, विमलेन्द्र निधीमार्फत नै नवराजलाई महानिरीक्षक बनाउनुपर्ने पक्षमा गएका हुन् । ‘लुज टकिङ’ मा माहिर मानिने पुष्पकमलले शायद देउवालाई यो कुरा सुनाए क्यार । शनिबार बालुवाटारबाट फर्कंदा पनि विमलेन्द्रसँग आगो नै थिए । आक्रोशको विषय थियो, अह्राएको काम नगर्ने, बरु पुलिसहरुलाई ‘पार्टी सभापतिको कारण म बाध्य छु’ भन्दै टक्टकिने † आइतबार सखारै मन्त्रिपरिषद् बैठक बोलाई जयबहादुर चन्दलाई महानिरीक्षक नियुक्तिको निर्णय त भयो । तर, चार घन्टामै सर्वोच्चले नियुक्ति यथावत राख्न र भोलिपल्ट तत्काल पदबहाली नगराउन आदेश दिएपछि बजारमा देउवा निक्कै गर्माए । आइतबारै उनलाई जोडेर अनलाइन न्युजपोर्टलहरुले समाचार सम्प्रेषित गर्न थालेपछि आफ्नो संलग्नता नभएको भन्दै विज्ञप्ति निकाल्न घरकै सचिवालयमा काम गर्ने केशव जोशीलाई अह्राए । कांग्रेसको प्रचलनअनुसार, सभापतिका भनाइहरु पार्टी मुख्यसचिवमार्फत सार्वजनिक हुने गर्दछ । आइतबार विहान पार्टी कार्यालयमा मानिसहरुको चलहपहल एकदमै कम थियो । त्यसो हुँदा आफैँले टाइप गरेर विज्ञप्ति निकाले । तर, त्यसले पनि तनाव दियो । उनीनिकट सञ्चारकर्मीहरुले ‘चोरको खुट्टा काट् भन्नुअघि नै खुट्टा उठाएजस्तो’ भन्दै आलोचना गरेका छन् भने कांग्रेस नेताहरुले विधिविपरित, अनावश्यक विषयमा विज्ञप्ति प्रकाशित गरेको बताएका छन् ।

उता, महानिरीक्षक नियुक्ति विवादले देउवा–विमलेन्द्र सम्बन्धमा चिसोपन बढाएको छ । हुँदाहुँदा यत्ति कुराले गर्दा पुराना प्रसंग पनि कोट्याउँदै सम्बन्धमा झन् दरार ल्याउने स्थिति सिर्जना भएको कांग्रेसस्रोतले जनाएको छ । महानिरीक्षक नियुक्ति विवादमा देउवा बद्नाम हुनुका पछाडि निधीको हात रहेको भन्दै एक वर्षदेखि उनकै लागि भनेर थाती राखिएको उपसभापति नियुक्त नगर्न भित्रियाहरुले दबाब दिन थालेका छन् । हिजो–आज अहिलेको सरकार गठनपूर्व भारतसँग आफ्नो तर्फबाट लबिङ गर्न निधीलाई बेकार पठाइएछ भनी पछुतो व्यक्त गर्न थालेका छन् । यसअघि पनि देउवा र निधीबीच ठाकठुक परिसकेको रहेछ, राज्यमन्त्री नियुक्तिको विषयलाई लिएर । देउवाले प्रधानमन्त्रीलाई पठाएको राज्यमन्त्रीको सूची धेरै दिनसम्म निधीले आफ्नो खल्तीमै राखिरहे । अहिलेजसरी नै कराएपछि सूची बुझाए, तर तोकिएका मन्त्रालयहरु आफैँले हेरफेर गरेर, एकातिर पठाउने भनिएका राज्यमन्त्रीलाई अर्कातिर पारेर । उनको बुझाई छ, सरकारमा गएपछि निधी आफ्नो भन्दा बढी प्रचण्डको कुरा सुन्ने भएका छन् ।

उता, आइजिपी नियुक्तिकै कुराले प्रधानमन्त्रीको सचिवालयमा पनि समस्या नआएको होइन । त्यहाँ त छोरा, छोरी, बुहारी र कर्मचारीबीचमै लफडाबाजी चल्यो । प्रमपुत्र प्रकाशले एउटासँग गरेको टेलिफोन संवादको खबर दिल्लीमा रहेकी पत्नी बीनाको कानमा तुरुन्तै पर्नेसम्मको स्थिति भयो । बीना थिइन् चन्दको पक्षमा । प्रकाश थिए, बाबुकै लाइनअनुसार सिलवाल या अर्यालको पक्षमा ।

छोरी रेणु दाहालकी मितिनी हुन्, बैतडीकी पूर्वसांसद रेणु चन्द । मितिनीबाट प्रभावित भएर उनले पनि बाबुको कोटरीभित्रै चन्दको पक्षमा लबिङ गर्ने नै भइन् । प्रमको सचिवालयमा चन्दपक्षधर स्वकीय सचिव थिए, रमेश मल्ल । यिनीबाहेक सल्लाहकार बलदेव, रामदीप आचार्यहरु सिलवालको पक्षमा । भयो के भने, सिलवाल र चन्द दुबैले प्रम सचिवालयका मानिसहरुको कल ट्रेस गरेका रहेछन् । एकापसबाटै सूचनाको चुहावट भएपछि एक अनलाइनले प्रकाश नवराजको पक्षमा हुँदा समस्या भयो भनी लेख्यो । यो समाचार पढेर दिल्ली पुगेकी बीनाले तुरुन्तै प्रकाशलाई फोन गरेको बताइन्छ ।

टिप्पणीहरू