होटलमा खोप भेटियो, नगरपालिकामा ताला ठोकियो

होटलमा खोप भेटियो, नगरपालिकामा ताला ठोकियो

शुक्रवार झापाको एक होटलमा कोरोना विरुध्दको खोप भेटिएपछिका घटनाक्रम अनेक छन् । बिर्तामोड नगरपालिका वडा नम्बर २ स्थित टाइमलेस मुमेन्ट होटलमा लुकाई राखेको अवस्थामा चाइनिज भेरोसिल खोपको कार्टुनसहित नगरपालिकाका कोरोना फोकल पर्सन ओमबहादुर खड्का फेला परेका थिए । खोप लुकाएर राखेको बिषयलाई लिएर नगरपालिका कार्यालयमा तालाबन्दीसमेत भयो ।

जनताले कोरोना खोप नपाएको बेला उक्त खोप फेला परेको भन्दै विरोध भइरहँदा आज त्यसको हल निस्केको छ । बिर्तामोड नगरपालिका ५ अनारमनी इलाका प्रहरी कार्यलय बिर्तामोडका प्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा विभिन्न राजनीतिक पार्टीका जनप्रतिनिधिसहित बसेको बैठकले उक्त समस्याको समाधान निकालेको हो ।

बैठकबाट नगरपालिकाका कोरोना फोकल पर्सन ओम खड्कालाई जिम्मेवारीमुक्त बनाउने,कोभिडको रोकथाम,नियन्त्रण तथा उपचारका लागि प्राप्त खोप ब्यवस्थापन गर्न सर्वदलीय(वडास्तरीय ) निर्णय गर्ने,नगरपालिका कार्यालयमा लगाइएको ताला खोली प्रशासनिक कार्य सुचारु गर्ने,हालसम्म कोभिड १९ को रोकथाम,नियन्त्रण तथा उपचारको लागि लागेको आम्दानी तथा खर्च र प्राप्त खोपको विवरण सार्वजनिक गर्ने,तोकिएको उमेर समूहका ब्यक्तिहरुलाई मात्र खोप उपलब्ध गराउने निर्णय गरिएको छ ।

टिप्पणीहरू