प्रचण्डलाई माधवले भन्नुभो, एमाले मिल्ने स्थिति भयो

प्रचण्डलाई माधवले भन्नुभो, एमाले मिल्ने स्थिति भयो

मन्त्रालय भागबण्डाबारे छलफल गर्न पुग्नुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी मिल्ने स्थिति बनेकाले सरकारमा जाने सम्भावना नरहेको जवाफ दिनुभएको छ ।

नेता नेपाललाई भेटेर पार्टीको स्थायी कमिटी बैठकमा पुग्नुभएका प्रचण्डले त्यहाँ त्यस्तो ब्रिफिङ्ग गर्नुभएको हो । बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले माधव नेपाल अप्ठेरो अवस्थामा रहेकाले केपी ओलीसंग मिल्ने मनस्थितिमा पुगेको बताउनुभएको थियो ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्नुभएका प्रचण्डले नेता नेपालको पछिल्लो निर्णयले मन्त्रालय भागवण्डाबारे फेरि छलफल गर्नुपर्ने अवस्था बनेको पनि जानकारी दिनुभयो ।

‘उहाँ (माधव) पार्टीमा अप्ठेरो अवस्थामा हुनुहुन्थ्यो,आफ्नै समूहका नेताहरुले धोका दिएका कारण केपीसँग मिल्नुपर्ने बाध्यता बनेको देखियो । उहाँले एमालेमै जाने टुंगोमा पुगेको बताउनुभयो’, प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भने ।

यता,पार्टी एकताबारे छलफल गर्न माधव नेपालले आफूपक्षीय नेताहरुको बैठक बानेश्वरको अर्याल होटेलमा बोलाउनुभएको छ । स्रोतले साँझसम्ममा एकताका पक्षमा ठोस निर्णय आउनसक्ने दाबी गरेको छ ।

टिप्पणीहरू