सरकार चलाउने उच्चस्तरीय कार्यदलको बैठक बालुवाटारमा

सरकार चलाउने उच्चस्तरीय कार्यदलको बैठक बालुवाटारमा

सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने जिम्मेवारी पाएको सत्तारुढ ५ दलीय गठवन्धनको कार्यदलको बैठक बसेको छ । बैठक भर्खरै शुरु भएको कार्यदलका एक सदस्यले बताए ।

मन्त्रिपरिषदले पूर्णता: पाउन नसकिरहेका बेला बसेको कार्यदलको बैठकमा सरकारको न्यूनतम कार्यक्रम बनाउनेदेखि मन्त्रालय बाँडफाँडसम्मका विषयमा छलफल हुने बताइएको छ । कार्यदलले सत्ता साझेदार दलहरुबीच विश्वासको वातावरण बनाएर सरकारको काम–कारबाहीलगायत विषयमा आवश्यक सुझाव दिने अख्तियारी पाएको छ । आजको बैठक त्यसैमा केन्द्रित रहने कार्यदलका ती सदस्यले जानकारी दिए ।

सत्ता साझेदार दलहरुको आन्तरिक विवादका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता: दिन सक्नुभएको छैन । जसपा विवाद किनारा लागेलगत्तै विस्तार गर्ने भनिएको मन्त्रिपरिषद कांग्रेस र माओवादीमा मन्त्री छान्न सकस परेका कारण रोकिएको बताइएको छ ।

एमालेको माधव नेपाल समूहलाई सरकारमा सहभागी गराउने प्रयास भैरहेकाले पनि मन्त्रिपरिषद बिस्तारमा केही ढिला भएको बताइन्छ ।

कार्यदलमा कांग्रेसबाट महामन्त्री पूर्णबहादुर खड्का,रमेश लेखक र मिनेन्द्र रिजाल रहेका छन् भने माओवादीबाट देवप्रसाद गुरुङ र वर्षमान पुन रहेका छन् । सत्ता गठवन्धनको अर्को दल जसपाबाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ छन् ।

टिप्पणीहरू