सांसदहरुको खाता अर्कै बैंकमा सर्यो

सांसदहरुको खाता अर्कै बैंकमा सर्यो

संघीय संसदका माननीयहरुको बैंक खाता सरकारी बैंकमा स्थानान्तरण गरिएको छ । यसअघि एभरेष्ट बैंकबाट खाता सन्चालन भैरहेकोमा साउन १ गतेदेखि लागू हुनेगरी सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमा सारिएको हो । माननीयहरुले अब आफ्नो तलब, भत्तालगायत अन्य सुबिधावापत आउने रकम सरकारी बैंकबाट भुक्तानी पाउने छन् ।

संघीय संसद सचिवालयले लामो समयको प्रयासपछि सचिवालयको सम्पूर्ण सरकारी कारोबार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रारम्भ भएको जनाएको छ ।

सांसदहरुको चाहनाअनुसार नै संसद सचिवालयले खाता स्थानान्तरण गराएको हो । सांसदहरुले संसद बैठकमै पटक-पटक आफ्ना खाता राष्ट्रिय वाणिज्य बैंकमा स्थानान्तरण गर्न माग गर्दै आएका थिए । तर, अर्थ मन्त्रालयले आर्थिक वर्षको वीचमा खाता सार्न नमिल्ने बताएका कारण रोकिंदै आएको थियो ।

‘यसअघि माननीय सदस्यहरुले पटक-पटक सरकारी खाता निजी बैंकमार्फत सन्चालन गरिएको विषय उठाउनुभएको थियो । कुरा उठे पनि प्रगति हुन सकेको थिएन । संसद र अन्य माध्यममा कुरा उठेपश्चात सम्माननीय सभामुखज्यूको ध्यानाकर्षण भई यससम्बन्धमा उहाँको निर्देशनमुताविक संसद सचिवालयले २०७७ मङ्सिर १८ गते सरकारी कारोबार गर्न बैंक परिवर्तन गरी पूर्ण सरकारी स्वामित्व रहेको बाणिज्य बैंकमार्फत गर्न अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो’, सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’२०७७ माघ ११ को पत्रबाट आर्थिक वर्षको वीचमा खाता परिवर्तन गर्न कठिनाइ हुने जानकारी अर्थले गराएको थियो । सचिवालयले असार ३१ गते पुन: ताकेता गरी खाता परिवर्तनका लागि अनुरोध गरेको थियो ।

अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक तथा महालेखा नियन्त्रकको कार्यालयमार्फत हालै सिंहदरबारस्थित सबै कार्यालयका खाताहरु राष्ट्रिय वाणिज्य बैंकमार्फत सन्चालन गर्न निर्देशन दिएपछि माननीयहरुको माग पूरा भएको हो । माननीयहरुको सजिलोका लागि अर्थले बाणिज्य बैंकलाई सिंहदरबार शाखाको स्तरोन्नति तथा सेवा सुविधा विस्तारका लागि अनुरोध पनि गरेको छ ।

टिप्पणीहरू