डोरमणिको म्याद खिरसँगै सकियो,अष्टलक्ष्मीसँग अध्यक्ष ओलीको २ घण्टा छलफल

डोरमणिको म्याद खिरसँगै सकियो,अष्टलक्ष्मीसँग अध्यक्ष ओलीको २ घण्टा छलफल

नेकपा एमाले बागमती प्रदेशसभाका असन्तुष्ट समूहले मुख्यमन्त्री डोरमणि पौडेललाई पदबाट हटेर समस्या समाधानमा अग्रसरता लिने समयसीमा साउन १५ गतेसम्म दिएकोमा त्यो म्याद सकिएको छ । तोकिएको समय सकिएको आज दुई दिन बितिसक्दा पनि त्यसतर्फ कुनै प्रक्रिया अघि नबढेपछि उक्त समूहले थप निर्णय गर्ने तयारी भैरहेको बुझिएको छ ।

१५ गतेको समयसीमालाई ध्यानमा राखेर अध्यक्ष केपी शर्मा ओलीले एमाले उपाध्यक्ष तथा बागमती प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यसँग बिहिवार बालकोट निवासमा लामो कुराकानी गर्नुभएको छ । झण्डै दुई घण्टासम्म पार्टीभित्रको विवाद मिलाउन अध्यक्ष ओलीले उपाध्यक्षको नाताले के गर्ने हो गर्नुस् भन्नुभएको थियो ।

‘आखिर तपाईं पनि पार्टीको उपाध्यक्ष नै हो,’अध्यक्ष ओलीको भनाई उद्धृत गर्दै स्रोत भन्छ, ‘बागमतीदेखि लिएर सारा विषयको समाधान कसरी गर्ने ? माधव नेपालको समस्या कसरी मिलाउने ? उहाँलाई तपाईंहरुले पनि भन्नुस्,सम्झाउनुस् ।’

शाक्यले पनि ओलीको भनाईको तत्काल जवाफ दिँदै ‘यी तमाम समस्याको जड तपाईं आफैँ हो’ भन्नुभएको बताइन्छ । ‘हिजोको सहज अवस्थालाई भताभुङ्ग बनाएपछि समस्या समाधानको लागि तपाईं आफैँले अग्रसरता लिनुपर्छ,’शाक्यले ओलीलाई दिएको जवाफ उल्लेख गर्दै स्रोतले भनेको छ ।

पार्टीभित्रको पछिल्लो भद्रगोल उत्पन्न गराउने सबै काम तपाईं आफैँले गरेको स्वीकार गर्नुपर्ने उपाध्यक्ष शाक्यको भनाई थियो । पार्टी र सरकारमा शक्तिसम्पन्न हुँदा अरु कोही पनि नचाहिने गरी हिँडेको परिणाम नै अहिलेको भद्रगोल रहेको शाक्यको ठहर थियो ।

पार्टीभित्रको अवस्थालाई विश्लेषण नगरी अध्यक्षले गरेको एकपछि अर्को निर्णयको फेहरिस्त उल्लेख गर्दै शाक्यले सुनाउनुभयो, ‘त्यतिबेला राष्ट्रपति उम्मेदवारमा तपाईंले अरु कसैलाई देख्नुभएन । पार्टीमा दशकौंदेखि मरेर लागेकाको कदर भएन । सामाजिक सञ्जालमा अरु नेताको मानमर्दन गर्ने गुरु भट्टराईजस्तालाई सरकारी नियुक्ति दिलाइरहनुभयो । अब पनि तपाईंले रियलाइजेशन नगर्ने हो भने समस्या समाधान होइन, झन् बल्झिने छ ।’

टिप्पणीहरू