पैसा जान थाल्यो भटाभट

नेपाल सरकारले इजिप्टमा खटिएका राजदूत झविन्द्र अर्यालको निम्ति फ्ल्यागकार खरिद प्रयोजनार्थ रकम निकाशा गरिदिएको छ भने लोकमान गएपछि अख्तियारमा बाँकी ५ जना आयुक्तका लागि पनि गाडी किन्न पैसा छुट्याइएको छ ।

केही समयअगाडि प्रधानमन्त्री युएई गएको बेला त्यहाँका कर्मचारीले दूतावास आउन जान समस्या प¥यो भनेपछि यो माग पनि संबोधन हुने भएको छ । अबुधावीस्थित कर्मचारीलाई ओसार्न ७ सिटे गाडी किन्नेगरी पैसा पठाइएको हो । त्यहाँ नेपालीको बाक्लो उपस्थिति छ । त्यसैगरी, दिल्लीस्थित दूतावास प्रांगणभित्रै ४ वटा भूकम्प प्रतिरोधी निवास निर्माण गर्न खर्च निकासा भएको छ । चार जना प्रथम श्रेणीका कर्मचारी भाडामा बाहिर बस्दै आएका थिए । तिनीहरूका लागि समेत हुने गरी ८ वटा प्रिफ्याब भवन निर्माण गर्न प्रस्ताव आएको थियो । जसमध्ये ४ वटाका लागि मात्र स्वीकृति गएको हो । परराष्ट्रलाई भवन निर्माणका लागि दिइएको रकम खर्च नभई बसेपछि त्यसबाट कट्टी हुने गरी त्यसरी रकम पठाइएको स्रोतको भनाइ छ ।

उता, पूर्वपरराष्ट्रमन्त्री तथा माओवादी नेता नारायणकाजी श्रेष्ठ दिल्ली जाने भएपछि हतार–हतार शौचालय निर्माण गरेर उनलाई दूतावासकै रोयल सुइटमा बस्ने व्यवस्था मिलाइएको छ । दिल्लीमा निर्माण हुने प्रिफ्याब भवन १४ सयदेखि २ हजार स्क्वायर फिटको हुनेछ भने प्रत्येकका लागि ५० लाखका दरले रकम निकासा दिइएको हो ।

टिप्पणीहरू