कसैलाई भने देश बन्ने पीर

चीनले नेपाल सरकारलाई पठाएको एउटा प्रस्ताव अहिलेसम्म गुपचुप पारिएको छ । न त त्यसलाई निस्तेज पार्ने गरी काम नै अघि बढेको छ । अहिले चालु अवस्थामा रहेको नेपाललाई उत्तरी छिमेकी चीनसँग जोड्ने एक मात्र केरुङ नाका जाने बाटो गल्छीसम्मै स्तरोन्नति गरिदिन्छौं भनी उताबाट आएको प्रस्ताव नै लुकाइएको प्रसंग हो यो ।

चीनले बनाइदिन्छौं भन्दा नेपालीले हामी आफैं बनाउँछौं भन्यो । तर, आफूसँग पैसा नभए एडिबी, विश्व बैंकसँग ऋण मागेर काम थाल्नुपर्नेमा त्यति पहलसम्म पनि हुन सकेन । स्याफ्रुबेंसीदेखि यता सेनालाई लगाएर काम गर्छौं भनी सरकारले टार्दै लग्यो । ओली सरकारको बेला केही सुरसार भएको हो कि जस्तो देखियो तर अहिले सबै प्रक्रिया ठप्प छ । त्यसको कतै कुरोकन्थो नै छैन । चीनले कहीँ भित्रभित्रै कामको तयारी छ कि भनेर सेनालाई यसबीच, अप्रत्यक्ष रूपमा सोधेको स्रोत बताउँछ । तर, सेनाले यसबारे कुनै कुरै नभएको जवाफ दिएपछि उत्तरी छिमेकी छक्क छ किन नेपाललाई विकास नचाहिएको होला भनेर ।

दुई वर्षदेखि यो कुराको चासो कसैले नलिए पनि अहिले फेरि नुवाकोट, रसुवाका सिडिओहरूले कुरा उठाउन थालेका छन् । तर, सरकार भने मौन छ । हुन त ०१६ सालमा बिपीले थालेको बिपी राजमार्गले बल्लतल्ल जापान सरकारको सहयोगमा यसबेला आएर पूर्णता पाएको छ । त्यहीबेला खाद्य, कृषि तथा सिञ्चाइमन्त्री गणेशमान सिंहले शिलान्यास गरेको कमला–बाग्मती सिञ्चाइ परियोजना भने अझैसम्म बनेको छैन । यसो किन भयो होला भने चीन गल्छीसम्म आइपुग्दा अर्को छिमेकी रिसाउला कि भन्ने पीर कसै–कसैलाई छ ।

टिप्पणीहरू